‘धन्‍न हामीले नयाँ जीवन पायौं’

गगनसँगै आक्रमणमा परी घाइते भएका श्यामकृष्ण श्रेष्ठ। तस्बिर: देशसञ्चार।

काठमाडौं– बमको छर्राले दागैदाग बनाएको उनको अनुहारमा त्रास र पीडा स्पष्ट देखिन्छ। रगतले अघिल्तरको कपडा लत्पतिएको छ। दायाँ खुटा ब्यान्डेजले बाँधिएको छ। गगन थापासँगै बम विस्फोटमा परेर घाइते भएकी बुढानीलकण्ठ चारकी नेपाली कांग्रेसकी कार्यकता रेनु बरुवाल दुखाइले रन्थनिरहेकी थिइन्। चोटका कारण असहनीय भए पनि आफूले नयाँ जीवन पाएको अनुभव भइरहेको छ।

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आफन्त र शुभेच्छुकको भिडमा घेरिएकी उनले यति ठूलो घटनामा आफूलगायत सबै साथीहरु बाँचेकोमा खुसी व्यक्त गरिन्। तर उनलाई बम विस्फोटको घटना अकल्पनीय लागिरहेको छ।

‘घरदैलो गर्ने क्रममा एउटा घरबाट निस्केर अर्को घरतर्फ लाग्दै थियौं। बिहानको सवा ११ भएको थियो। भोक लागिरेहकोले हामी छिटोछिटो हिँडिरहेका थियौं,’ उपचारका क्रममा उनले देश सञ्चारसँग भनिन्, ‘म स्कुटर चलाएर अरु सँगसँगै अघि बढिरहेको थिएँ। अचानक ठूल्लै आवाज आयो र पूरै अन्धकार भयो। केही पनि देखिन। ठानेँ मेरो आँखा फुट्यो, ज्यान पुरै खतम भयो ।’

रेनुले बमको छर्रा लागेपछि चलाइरहेको स्कुटर थाम्न सकिनन्। तैपनि बल्लतल्ल स्कुटर साइडमा लगेर रोकिन्। रेनुको खुट्टा र अन्य भागबाट भल्भल्ती रगत बगिरहेको थियो। त्यो देखेपछि उनी झन अत्तालिन्। उनी त्यही ढल्नै लाग्दा उनलाई कसैले उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पुर्यायो।

चिकित्सकले उनको घाउमा मलमपट्टी लगाइरहँदा उनलाई भने आफू असुरक्षित भएको महसुस भइरहेको छ। उनले प्रश्न गरिन्, ‘स्वस्थ प्रतिष्पर्धा हुनु पर्नेमा यसरी एकअर्काको ज्यान नै मार्ने कोसिस गरियो। अब के होला हाम्रो देशमा? यो घटनाले एकअर्काप्रति झनै दुश्मनी बढ्ने भयो। कहिँकतै सुरक्षित महसुस गर्ने ठाउँ रहेन अब। यसबाट झन द्वन्द्वसमेत बढ्ने देखिन्छ। यो बम विपक्षी दलहरुले नै राखेको उनको ठम्याइ छ।

रेनुलाई ह्वील चियरमा एक्सरे गर्न दौडाएपछि त्यही ठाउँमा आकस्मिक कक्षमा राखिएका गगनसँगै घाइते भएका नेपाली कांग्रेसका श्यामकृष्ण श्रेष्ठलाई ल्याइयो, ट्रलीमा हालेर ल्याइयो। बमको छर्राले कुममा समस्या आएपछि अचेतजस्तो अवस्थामा उनलाई पनि एक्सरे कक्षामा हतारहतार छिराइयो। चिकित्सकका अनुसार उनको शल्यक्रिया गर्नुपर्ने छ। आकस्मिक कक्षमा उपचार गराइरहेका जयराज लामिछाने सहित अन्य दुई जना स्थानीय छट्पटाई रहेका थिए। पीडाले चिच्चाइरहेका लामिछानेले भने, ‘यस्तो हुन्छ भन्ने हामीले सोचेका थिएनौँ। हामीले आफ्नो कर्तव्य पालनामात्र गरेका थियौं तर जीवन नै धन्न गएन।’

गगनसँगै घाइते भएका तर उनको भन्दा गम्भीर चोट लागेका उनीहरुको उपचारमा आवश्यक चासो पुगेको थिएन। सञ्चारकर्मी, समर्थक र सर्वसाधारणको भिडले गगनलाई घेर्दा ती घाइतेहरु भित्र उपचार प्रक्रिया अगाडि बढाउन चिकित्सक नै अल्मलिँदा आक्रोसित बनेका थिए। घाइते राजकाजी श्रेष्ठले समयमै आफूहरुको उपचार नभएको गुनासो गरे। उनले भने, ‘हामीलाई निकै पीडा भइरहेको छ। यहाँ भने वास्तै गरिएको छैन। एक्सरे समयमै भएन ।’

बम विस्फोटमा सामान्य घाइते भएका गगनसँगै अन्य ८ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ। अस्पतालमा गगनका समर्थक र रमितेहरुको भिडलाई नियन्त्रण बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। कडा सुरक्षा व्यवस्थाका कारण अस्पतालमा राखिएका अन्य बिरामीलाई भेट्न जानसमेत दिइएको थिएन।

मंसिर १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्