चुनाव प्रचारका क्रममा महेश आचार्य। तस्बिर: देशसञ्चार।

विराटनगर- २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचन हुँदा मोरङमा नेपाली कांग्रेसले ९ वटा निर्वाचन क्षेत्रमा १ नम्बर क्षेत्रमा मात्र जित हात पारेको थियो। त्यसको करिब १० वर्षपछि जिल्लामा त्यस्तै लज्जाजनक नतिजा आएको छ। तत्कालीन समय माओवादी सशस्त्र युद्ध र मधेश आन्दोलनका कारण जिल्लामा कांग्रेस लगभग बढारिएको थियो। २०४८ सालदेखि नै स्व. गिरिजाप्रसाद कोइरालाको रोजाइको क्षेत्र नम्बर १ मा तत्कालीन समयमा आमोदप्रसाद उपाध्यायले साख जोगाउने काम गरेका थिए।

त्यसबाहेक ६४ सालमा बाँकी ८ क्षेत्रमा माओवादी र मधेशी जनाधिकार फोरमले बर्चस्व कायम गरेको थियो। २०७० सालको निर्वाचनमा मोरङमा कांग्रेसको अवस्था केही सुधारिएको थियो। तर, १० वर्षपछि मोरङमा निर्वाचन हुँदा यसपटक कांग्रेस लगभग बढारिएको छ। ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ मा डा. मीनेन्द्र रिजालबाहेक कांग्रेस सवै क्षेत्रमा स्वाहा भयो।

यसको कारण के हुन सक्छ? किन कांग्रेस जनतामाझ असफल रह्यो?

यसको उत्तर आउँदो दिनमा कांग्रेसको शीर्षतहले निकाल्ला तर यसपटक पराजित नेताहरु भने कोही आन्तरिक द्वन्द्वका कारण हार भयो भनिरहेका छन् भने कोही अनुशासन नहुनु र पर्याप्त मात्रामा जनतासँग समय बिताउन नसक्नु नै हारको कारण बताउँछन्।

मोरङ क्षेत्र नम्बर ४ मा निर्वाचन पूर्व स्थानीयले नै कांग्रेस उम्मेदवार महेश आचार्य विजयी हुने आंकलन गरेका थिए। आचार्य पनि आफ्नो जीत हुनेमा विश्वस्त थिए। यो क्षेत्र कांग्रेसको पकड भएको र २०७० सालको निर्वाचनमा पनि उनको जीत भएको क्षेत्र थियो। तर, निर्वाचनको नतिजा उल्टो भइदियो। वामगठबन्धनका उम्मेदवार अमनलाल मोदीसँग आचार्य ७ हजारभन्दा बढी मतले पराजित भए।

किन उनको हार भयो भन्ने सन्दर्भमा देशसञ्चारसँग उनले भने, ‘हिजोको जस्तो राजनीति रहेन अब, हाम्रो हारमा अनुशासनको पद्धतिमा देखिएको कमजोरी, आन्तरिक घात नै मुख्य कारकतत्व भयो।’ घात को र कस्तो प्रवृत्तिबाट भन्ने जवाफ दिन्छन् उनी, ‘हामी आफैभित्रबाट अन्र्तघात भएको छ, कमीकमजोरी भित्रै रहेको छ, त्यसको समाधान शिघ्र हुनुपर्छ। यसको तल्तोतहबाट सुरुआत गर्नुपर्छ।’

स्थानीय तह र यसपटक पनि निर्वाचन अघि कांग्रेसमा जुन लहर देखिएको थियो त्यसअनुरुप शक्ति परिचालन हुन नसकेको आचार्यको बुझाइ छ। “हाम्रो भातृसंगठनहरुले निर्वाचनमा सोचेअनुरुपको भूमिका खेल्न सके वा सकेनन्, विचार गर्नुपर्ने भएको छ। मोरङमा पार्टीभित्रैबाट अन्र्तघात भएको छ जसको अब सुक्ष्मढंगबाट पहिचान गर्नुपर्छ,’ आचार्य भन्छन्।

हाल निर्वाचनपछि पार्टीको अवस्था जर्जर भएकोतर्फ इंगित गर्दै पूर्वअर्थमन्त्री आचार्य भन्छन्, ‘अब सबै पार्टी निर्माणमा लाग्नुपर्छ।’ त्यसैगरी पार्टीले पनि सटिक रुपमा यसविषयको समीक्षा गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्।

विगतको निर्वाचनमा भएको जीतलाई आत्मसात गर्दै अघि बढेका आचार्यको बुझाइमा यसपटक पनि प्रतिष्पर्धा उत्तिसाह्रो कडा नहुने देखिएको थियो। तर, नतिजा विपक्षमा गयो। ‘जनताले दिएको परिणाम स्वीकारेका छौं। मोरङमा भएको हार र मुलुकभरमा कांग्रेसको गिर्दो साख जोगाउन अब पार्टी लोकतान्त्रिक पक्षमा जिम्मेवार प्रतिपक्षीको भूमिकामा अघि बढ्ने उनको भनाइ छ। हार भएको छ तर यसबाट अत्तालिनुपर्ने वा हतास हुनुपर्ने अवस्था कांग्रेसजनमा नभएको उनी उल्लेख गर्छन्।

दुई बामघटकको तालमेलबाट आएको नतिजा र अब बन्ने सरकारले गर्ने गलत प्रवृत्तिको हरक्षण खबरदारी गर्ने अभिभारा पनि कांग्रेसको रहेको बताउँदै आचार्यले वामगठबन्धनको जीत र यस परिणामले मुलुकमा सैद्धान्तिक मतभेद आउने सम्भावना बढी रहेको दाबी गरे। मोरङबाट सांसद पनि भइसकेका आचार्यप्रति स्थानीयको बुझाइ भने जितेर गएपछि हाम्रो लागि उल्लेख्य काम गर्न सकेनन् भन्ने नै छ।

मंसिर २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्