दुर्घटनाका घाइतेको अब तत्कालै सुरक्षित उद्धार!

काठमाडौँ- नेपालमा समयमै उद्धार नहुँदा दुर्घटनाका अधिकांश घाइतेको अस्पताल पुर्‍याउनु अगावै जाने गरेको छ। उद्धार गरिएकाहरु पनि समयमै उचित उपचारको पहुँचमा पुग्न नसक्दा अंगभग भई बाँच्नुपर्ने बाध्यता छ। र, उनीहरुको उपचार खर्च पनि मंहगो तथा झन्झटिलो हुने गरेको छ। तर अब त्यस्तो बाध्यता न्यून गर्न आफू सक्षम हुने स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ।

मन्त्रालयले सार्वजनिक अस्पतालले नै दुर्घटनामा परी घाइते भएकाहरुलाई तत्कालै उद्धार गरी उनीहरुको उपचार निःशुल्क समेत गर्ने गरी ‘प्रि हस्पिटल केयर एण्ड कमाण्ड कन्ट्रोल सिस्टम’को विकास गर्ने निर्णय गरेको छ। निर्णय प्रस्ताव पारितका लागि आगामी मन्त्रिपरिषदको बैठकका पेश गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठले दुर्घटनामा परेकाहरुको समयमै उचित तरिकाले उद्धार नहुँदा ज्यान जाने गरेका कारण उनीहरुलाई बचाउन र अंगभगं हुनबाट जोगाउन त्यस्तो सिस्टमको विकास गर्ने निर्णय गरेको बताए।

डा. श्रेष्ठका अनुसार दुर्घटनामा घाइते भएकालाई उद्धार गर्नका लागि स्थानीय तहदेखि केन्द्रसम्मका स्वास्थ्य संस्थामा एउटा निश्चित टेलिफोन नम्बर राखिने छ। र, हरेक स्वास्थ्य संस्थाहरुमा उपकरण सहितको एम्बुलेन्सको व्यवस्था गरिने छ। उद्धारका लागि एम्बुलेन्स सहित दुर्घटनास्थलमा पुग्ने तालिमप्राप्त स्वास्थ्यकर्मीले घाइतेहरुको जीवन रक्षाका लागि प्राथमिक उपचार गरेर आफ्नो स्वास्थ्य संस्थामा पुर्‍याउनेछन्।

प्रि हस्पिटल केयर एण्ड कमाण्ड कन्ट्रोल सिस्टमको विकास गर्ने

आफूले उपचार गर्न नसके तत्कालै केन्द्रीय अस्पतालसँग सम्पर्क गरी त्यहाँ त्यसै एम्बुलेन्सबाट घाइतेलाई पुर्‍याउनेछन् । यस्तो सिस्टम विकास गर्नुपर्ने माग पहिल्यैदेखि उठेको भए पनि अब भने कार्यान्वयन गर्ने पर्ने अवस्था आएको डा. श्रेष्ठले बताए। उद्धार गरेका घाइतेहरुको उपचार पनि निःशुल्क गर्ने सरकारको योजना छ। दुर्घटनामा परी घाइते भएकाहरुको अवस्था निकै नाजुक हुने र उनीहरुका परिवारका सदस्य पनि समयमै आइनपुग्न नसक्ने हुनाले ती घाइतेको उपचार पनि निःशुल्क गर्नुपर्ने ठहर मन्त्रालयले गरेको छ। उक्त उपचार खर्च भने प्रतिलिटर इन्धनमा स्वास्थ्य सुरक्षा कर लगाएर जुटाउने मन्त्रालयको तयारी छ। ‘धेरैजसो दुर्घटना पेट्रालियम पदार्थ प्रयोग हुने साधनबाट हुने गरेको छ । त्यसै कारण दुर्घटनामा घाइते भएकाहरुको उपचार पनि त्यहीबाट उठाएको करबाट गर्नु पर्ने भन्ने हाम्रो धारणा हो,’ डा. श्रेष्ठले भने।

दुर्घटनाका घाइतेको जीवन रक्षाका लागि हरेक राजमार्गमा सहायक ट्रमा खोल्ने मन्त्रालययको पूर्व योजना कार्यान्वय नभइरहेका बेला मन्त्रालयले यस्तो निर्णय गरेको हो । त्यसैले नयाँ निर्णय कार्यान्वयन हुने सम्भावना पनि न्यून छ।

बिदाइको चरणमा रहेका स्वास्थ्यमन्त्री दिपक बोहोराका विशेष चासोमा मन्त्रालयले गरेको यो निर्णयलाई भावी स्वास्थ्यमन्त्रीले कार्यान्वयन गर्ने सम्भावना न्यून हुने मन्त्रालयका अधिकारीहरु बताउँछन्। श्रेष्ठले भने,‘पूर्वमन्त्रीको निर्णयलाई नयाँ मन्त्रीले निरन्तरता दिने चलन अति न्यून छ। त्यसैको चपेटामा पनि यो निर्णय पर्छ कि भन्ने डर छ हामीलाई।’

मंसिर २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्