अमेरिकी सामान बहिष्कार गर्न माग

एजेन्सी-इन्डोनेसियाली नागरिकले आइतबार अमेरिकी सामानको बहिष्कार गर्न माग गर्दै विशाल प्रदर्शन गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिएको विरोधमा उनीहरूले यस्तो प्रदर्शन गरेका हुन् ।

ट्रम्पको कदमको संसारभर विरोध भइरहेको छ । प्यालेस्टाइन र अन्तर्राष्ट्रिय समुदायले त्यस कदमको शुरुदेखि नै विरोध गर्दै आएका थिए ।

त्यस्ता विरोधको कुनै वास्ता नगरी ट्रम्पले तेलअभिभबाट अमेरिकी दूतावास जेरुसेलम सार्ने घोषणा गरेका थिए । उनको यो घोषणासँगै वेस्ट ब्यांक, गाजापट्टीमा झडप भइरहेका छन् ।

आइतबार आयोजित र्‍यालीमा ८० हजारभन्दा बढी मानिस सहभागी थिए । मुस्लिम धर्मगुरु मौलवीहरूले अमेरिकी सामानको बहिष्कार गर्न सम्पूर्ण नागरिकलाई आह्वान पनि गरे ।

अन्यथा ती सामानबाट आएको आम्दानीले प्यालेस्टाइनी जनताको विपक्षमा प्रयोग हुने र अमेरिकालाई दबाब दिन पनि उसका सामान प्रयोग नगर्न उनीहरूले आह्वान गरे।

र्‍यालीमा ‘इन्डोनेसिया प्यालेस्टाइनको साथ’ लेखिएका ब्यानर प्रदर्शन गरिएका थिए । इन्डोनेसियामा १० दिनदेखि प्रदर्शन भइरहेका छन् । इन्डोनेसिया संसारमा सबैभन्दा बढी मुस्लिम धर्मावलम्बी भएको मुलुक हो ।

इन्डोनेसियाका प्रमुख मौलवी अनवर अब्बासले एक पत्र पढ्दै इन्डोनेसियाका नागरिकलाई अमेरिकी सामान खरिद नगर्न आदेश दिए । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो निर्णय फिर्ता नलिँदासम्म सामान बहिष्कार गर्नुपर्नेमा जोड दिए।

यो पनि हेर्नुहोस्:

गच्छदारको क्षेत्रमा मतगणना सुरु, भगवतीद्वारा बहिष्कार

पुस २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्