फेसबुक र माइक्रोसफ्टले रोके उत्तर कोरियाको साइबर आक्रमण प्रयास

ह्वाइट हाउसको होमल्यान्ड सेक्युरिटी सल्लाहकार टम बसर्ट। तस्बिर: एजेन्सी

एजेन्सी- फेसबुक र माइक्रोसफ्टले गत साताउत्तर कोरियाको तर्फबाट गरिएको साइबर आक्रमण असफल बनाइदिएका छन्।

ह्वाइट हाउसको होमल्यान्ड सेक्युरिटी सल्लाहकार टम बसर्टले मंगलवार यस्तो जानकारी दिएका छन्।

मे महिनामा अस्पताल, बैंक लगायत थुप्रै कम्पनीमा भएको साइबर आक्रमण उत्तर कोरियाले गराएको आरोप लागिरहेका बेला अमेरिकाको यस्तो भनाइ आएको हो।

टमले उत्तर कोरियाले गत साता गरेको साइबर आक्रमण कुन तहको थियो भन्ने विस्तृत जानकारी दिन चाहेनन्।

उनले अमेरिकी सरकारले साइबर सुरक्षामा सहयोग गर्न कम्पनीहरूसँग छलफल गरिरहेको खुलासा गरे।

वाल स्ट्रिट जर्नलमा बसर्टले लेखेका छन्, ‘यो आक्रमण निकै शक्तिशाली थियो र यसबाट बच्‍न हाम्रो अरबौं अमेरिकी डलर खर्च भएको छ।यसमा उत्तर कोरियाको हात छ।’

उनले उत्तर कोरियाबाट विगत एक दशकदेखि यस्ता खतरनाक साइबर आक्रमण गर्दै आएको जानकारी दिए।

प्योङयाङले यस्तो घटिया कामलाई प्रश्रय दिएको उनले आरोप लगाए।

ह्याकिङ कम्पनी लजारस ग्रुपले उत्तर कोरियाली सरकारका तर्फबाट काम गर्दै आएको अमेरिकी अधिकारीले बताए।

अमेरिकी सरकार यसबारे जानकार रहेको उनले दाबी पनि गरे। उक्त ग्रुपले नै ‘वानाक्राई’ मालवेयर मार्फत आक्रमण गरेको थियो।

सुरक्षा अनुसन्धाता तथा अमेरिकी अधिकारीहरू सन् २०१४ को डिसेम्बरमा भएको सोनी पिक्चर्स इन्टरटेनमेन्ट ह्याकिङमा लजारस ग्रुपको हात रहेको बताउँछन्।

यद्यपी उनीहरूले ‘द गार्जियन अफ पिस’ बताउँदै आएका छन्। उक्त आक्रमणका क्रममा ती सबै फाइल नष्ट गरिएको थियो र कर्पोरेट कम्युनिकेशनलाई अनलाइन चुहाइएको थियो।

उत्तर कोरियाले भने वानाक्राई आक्रमणको आरोपको खण्डन गर्दै आएको छ । साइबर आक्रमणको आरोप लगाएर अमेरिकाले उत्तर कोरियाको बदनाम गर्न खोजेको प्योङयाङको भनाइ छ।

यो पनि हेर्नुहोस्:

अमेरिका विनासर्त उत्तरकोरियासँग वार्तामा बस्‍न तयार

उत्तर कोरिया वार्तामा आए राष्ट्रसंघले सघाउने

पुस ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्