अभिनयको उकाली ओरालीमा भस्मे डन

दर्शकको रुपमा रंगमञ्च छिरेका थिए उनी। यसरी मोहनी लगायो, रंगमञ्चले कतिबेला दर्शकबाट अभिनेतामा फेरिए, आफैँले थाहा पाएनन्। रंगमञ्चलाई जीवन अर्पेर सुनील पोखरेलको नेतृत्वमा रहेको गुरुकुल छिरेका उनलाई फिल्म पशुपतिप्रसादले एउटा नयाँ परिचय दियो – भस्मे।

भस्मे अर्थात् मसिनो भास्सिएको स्वर। हेर्दै रिस उठ्दो। हुल्लडबाज। आवारा। त्यही पात्र दर्शकको मनमा बस्न सफल भयो। हेर्दाहेर्दै विपिन  कार्की भस्मेको रूपमा परिचित हुन थाले।

वास्तविक जीवनमा उनको बोल्ड स्वर होला भन्ने कल्पना चलचित्र हेरेर अनुमान लगाउनै सकिँदैन। स्वर मात्र होइन, चलचित्रमा डनको रुपमा देखिएको भस्मेको सुगठित शरीर, मिठो मुस्कानले चकलेटी हिरोहरुलाई माथ खुवाउन सक्छ भन्ने पनि कल्पना गर्न गाह्रै हुन्छ। केही समय अघिसम्म पनि हाम्रो समाजमा चलचित्रको हिरोमा यस्तै विशेषता हुनुपर्छ भन्ने मान्यता थियो।

ती सबै तत्व हुँदा हुँदै पनि उनले चलचित्रको हिरो बन्ने सपना कहिल्यै देखेनन्। रंगमञ्च प्रवेश गरेपछि त्यसैमा आफ्नो जीवन देखे। उनको अभिनय कला सुनिल पोखरेलको छत्रछायाँमा हुर्किन पायो। अब्बल कलाकार बन्न गुरुकुलले उनीमाथि धेरै ज्ञान पोखेको छ। त्यतिबेला डेनमार्क, नर्वेबाट आएका प्रशिक्षकले तालिम दिन्थे। फरक प्रयोगहरु गरिन्थे। साना साना विषयलाई बुझ्न त्यसलाई नजिकबाट गहिरो अध्ययन गर्न लगाइन्थ्यो। त्यहि सिकाइले उनलाई सडक नाटकमा गरेको नेताको कार्यकर्ताको भूमिकाबाट भस्मेको भूमिकासम्म पुर्‍यायो।

रंगमञ्चले उनलाई जीवन बुझाएको छ। सायद गुरुकुल बन्द नभएको भए उनले पनि चलचित्रको कल्पना गर्ने थिएनन्। गुरुकुल बन्द भएपछि बेरोजगार रहेको अवस्थामा चलचित्रमा काम गर्ने प्रस्ताव आयो। कलाकार जतिसक्दो धेरै दर्शकमाझ पुग्न चाहन्छन्। उनमा त्यो चाह त्यतिबेला बल्ल जाग्न थाल्यो। पशुपति प्रसादले उनलाई त्यो उचाइमा पुर्‍यायो पनि। यतिबेला शिल्पी थिएटरमा सुनिल पोखरेलकै निर्देशनमा मञ्चन भइरहेको नाटक हरियो ढुंगाको मुख्य भूमिकामा छन् उनी।

नाटक, चलचित्र अहिले फेरि नाटक। नाटक उनको आफ्नै ठाउँ हो। जहाँ जहिले चाहे पनि आउन सक्छन्। चलचित्र पनि त्यस्तै भइसकेको छ। जहाँ भए पनि अभिनय नै उनको काम हो। दुइ माध्यममा प्रविधि केही फरक होला। तर काम उस्तै हो। दुवैतिर फरक फरक सिकाइ भइरहेको छ, दुवैतिर उत्तिकै रमाइरहेका छन्। रंगमञ्चबाट गहिरो अनुभव लिएर चलचित्र छिरेका उनी सिधै चलचित्रमा प्रवेश गरेका सहकर्मीहरुसँग सजिलै घुलमिल हुन्छन्। चलचित्रको सेटमा होस् या नाटकको, उनी प्राय निर्देशकसँग समय बिताउँछन्। निर्देशकले आफूबाट लिन खोजेको कुरा बुझ्न यसो गरेका हुन्। सहकर्मीहरुसँग पनि ‘गिभ एन्ड टेक’ भइहाल्छ।

जीवन र नाटकमा झिनो भिन्नता देख्छन्। भन्छन्, ‘नाटक पनि जीवन जस्तै हो, तर जीवन चाहिँ नाटकजस्तो हुँदैन, जीवन जस्तै हुन्छ।’ वास्तविक जीवनमा उनी आफूलाई सरल मान्छे ठान्छन्। तर, भस्मे जस्तो चाहिँ कहिल्यै भएनन्। त्यो पात्रलाई आफूमा प्रवेश गराउन केही पढेर र केही हेरेर अभ्यास गरेका थिए।

एक कुशल अभिनेतासँगसँगै परिवारको एक कर्तव्यनिष्ठ सदस्य हुन् उनी। प्राय: जसो आफूले भूमिका खेल्नुपर्ने पात्रकै विषय दिमागमा बोकेर हिँडिरहने भएकाले उनी अलि संवेनशील जस्तो पनि देखिन्छन्। तर व्यक्तिगत जीवनमा आफैँ भएर बाँच्छन्, कुनै नाटक वा चलचित्रको पात्र होइन।

कहिलेकाहीँ घरमा वा साथीभाइको जमघटमा आफूले भूमिका खेल्नुपर्ने पात्रको अभिनय गर्छन्। यसो गर्दा अरुबाट प्रतिक्रिया लिन पनि सजिलो हुन्छ। कहिलेकाहिँ पात्रको ह्याङ पनि रहन्छ। चलचित्रमा रिसाएको पात्रको भूमिका खेल्दा घरमा पनि रिस उठेको हुन्छ। आफैँ महसुस गरिहाल्छन्, कुन पात्रको हो भनेर। थाहा पाएपछि झनै अभ्यास गर्न मन लाग्छ उनलाई। यथार्थ जीवनमा अभिनय गर्ने मान्छे पनि भेटेका छन् उनले। तर, त्यसलाई गम्भीर रुपमा लिने उनको बानी छैन।

भन्छन्, कामको मामलामा भने ‘अलि छुच्चो छु।’ त्यति हुन जरुरी हुँदैन भन्ने पनि थाहा छ उनलाई। कसैले आफूलाई डायलग मार्‍यो भने उनी पनि जवाफी डायलग फर्काइहाल्छन्। उनलाई आफ्नो यो बानीचाहिँ मन पर्दैन। राम्रो चाहिँ परिवार र साथीभाइसँगको सुमधुर सम्बन्ध बनाइराख्ने बानी हो। उनलाई चलचित्रमा काम गरेका कुनै पनि सहकर्मीले आफूलाई नराम्रो मान्दैनन् भन्ने विश्वास छ।

भावनामा छिटै बहने उनी यही बानीले अभिनयलाई जीवन्त बनाउन सघाएको ठान्छन्। तर, सेटमा पुग्नुभन्दा अगाडि कुनै नराम्रो घटना भयो भने त्यसको असर अभिनयमा परिहाल्छ। भन्छन्, ‘एक्टिङ कुनै प्राविधिक कुरा होइन, फिलिङ्स हो, बाहिरको कुराले डिसट्र्याक भइहाल्छ।’

रंगमञ्चमा दर्शकले खोक्दा पनि अभिनयमा असर पर्ने सुनाए। चरित्रको विषयमा पनि उनी अलि चुजी नै छन्। चलचित्र लुटमा सानो भूमिका खेलेका थिए। छड्के, पशुपतिप्रसादबाट चर्चामै आए। पहिले पहिले राम्रो चरित्र देख्दा त्यहि भूमिका गर्ने चाहना हुन्थ्यो। त्यसमध्येको एक शेक्सपियरको ह्यामलेट थियो। रंगमञ्चमा केही वर्षअघि उनले काम गरेको रसोमन पनि सम्झन योग्य नाटक थियो। अहिलेको हरियो ढुंगामा देखिएको संवेदनशील चरित्रले उनलाई ‘भर्सटाइल’ अभिनेताको रुपमा स्थापित गरिदिएको छ।

पुस ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्