राष्ट्रियसभासम्बन्धी अध्यादेश अनुमोदन हुने संकेत

काठमाडौँ- राजनीतिक ध्रुबीकरण तथा राष्ट्रपति र प्रधानमन्त्रीबीचको खिचातानीको शिकार बनेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश अनुमोदन हुने संकेत देखा परेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बोलाएको पाँच राष्ट्रिय दलहरुको बैठक यसबारे अनिर्णीत रहे पनि त्यसमध्ये एमालेबाहेक अन्य चार दलहरु सरकारले माथिल्लो सदन गठनसम्बन्धी पेश गरेको अध्यादेशसँग सहमत देखिएका थिए। त्यसलगत्तै प्रधानमन्त्री देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न र अध्यादेशलाई अविलम्व अनुमोदन गर्न आग्रह गर्दै शीतल निवास पुगेका थिए।

‘आजको भेटपछि एकल संक्रमणीय मतका आधारमा राष्ट्रिय सभा गठनबारे राष्ट्रपति आश्वस्त हुनुभएको छ र सम्भवत: यो विवाद छिटै टुंगिनेछ,’ भेटपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने। प्रधानमन्त्रीको यस अध्यादेशसम्बन्धमा राष्ट्रपतिसँग यो दोस्रो भेट हो।

प्रधानमन्त्रीद्वारा आयोजित राष्ट्रिय दलका शीर्ष नेताहरुको बैठकमा माओवादी नेता पुष्पकमल दाहालले एकल संक्रमणीय आधार आफूलाई आपत्तिजनक नरहेको अभिव्यक्ति दिएका थिए भने राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाली कांग्रेसले त्यसको पक्षमा अडान लिएका थिए।

प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँगको भेटमा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश अनुमोदनमा ढिलाइ भएमा त्यसले सरकार गठनमा ढिलाइ हुनुका साथै अन्य संवैधानिक अड्चन आउने भएकाले त्यसलाई विवादको विषय नबनाउन राष्ट्रपतिलाई आग्रह गरेका थिए।

यो पनि हेर्नुहोस्:

राष्ट्रियसभा गठन विवादमा निर्वाचन आयोग पनि उत्रियो

राष्ट्रियसभा गठनको निर्वाचन प्रणालीमा मतभेदले ढिलाइ

पुस ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्