कास्कीमा बस दुर्घटना हुँदा वडा सदस्यको मृत्यु, ९ घाइते

कास्की-  कास्कीको मादी गाउँपालिका वडा नम्बर १० भाचोकमा यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

पोखराबाट भाचोकका जाँदै गरेको ना३ख ७४३६ नम्बरको बस भाचोकनजिकै गहतबारीमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी मादी गाउँपालिका वडा नम्बर ९ की पदमकुमारी नेपालीको मृत्यु भएको छ। उनी हालै निर्वाचित वडा सदस्य हुन्।

प्रहरीका अनुसार बसमा १४ जना सवार थिए। तीमध्ये ९ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं निमित्त कार्यालय प्रमुख खड्कबहादुर खत्रीले जानकारी दिए।

घाइते हुनेमा बसका चालक अमृत भुजेलसहित भाचोकका तारा गुरूङ, २२ बर्षीय बिष्णु गुरुङ, ४३ बर्षीय गंगा गुरुङ, १९ बर्षीया तारा नेपाली, उनका ६ महिने छोरा समिप नेपाली, ३० बर्षीया ज्योति गुरुङ, २२ बर्षीया पुनम नेपाली र १३ बर्षीय सरोज नेपाली छन्। बसका सहचालक अर्जुन बरालले बसबाट हामफालेर ज्यान जोगाएका छन्।

बस करिब १ सय ५० मिटर तल खेतबारीमा खसेको थियो। सडकको डिल कमजोर अवस्थामा हुँदा टायर गढेर बस पल्टिएको हो। घाइतेलाई पोखरा ल्याउने एम्बुलेन्स घटनास्थलतर्फ पठाइएको प्रवक्ता खत्रीले जानकारी दिए।

घटनास्थलमा घाइतेको उद्धारका लागि इलाका प्रहरी कार्यालय डाडाँको नाक र जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी परिचालन गरिएको खत्रीले जानकारी दिए।

यो पनि हेर्नुहोस्:

पाँच महिनामा दुर्घटनामा ९९ को मृत्यु

धनगढीमा बस दुर्घटना, दुईको मृत्यु

पुस ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्