सुपरस्टार रजनीकान्त राजनीतिमा आउने

एजेन्सी-दक्षिण भारतीय चलचित्र उद्योगका सुपरस्टार रजनीकान्त लगातार राजनीतिमा आउने संकेत दिइरहेका छन्। तर उनले अहिलेसम्म कुनै निर्णय भने लिएका छन्।

उनी उपयुक्त समयको पर्खाईमा रहेको उनका निकट सहयोगीहरु बताउँछन्। डिसेम्बर १२ मै आफ्नो जन्मदिनका अवसरमा उनले राजनीतिक यात्रा सुरु गर्ने अड्कलबाजी गरिएको थियो । तर त्यो केबल अड्कलबाजीमै सिमित भयो।

अब फेरि नयाँ वर्ष पूर्वसन्ध्यामा ३१ डिसेम्बरमा रजनीमान्तले आफ्नो राजनीतिक पारीको सुरुवात गर्ने समाचार बाहिर आएको छ । द न्यू इन्डियन एक्सप्रेसका अनुसार उनले नयाँ वर्षको पूर्वसन्ध्या पारेर विशेष घोषणा गर्न सक्ने सम्भावना रहेको छ।

रजनीकान्तको निकट स्रोतका अनुसार उनले २६ डिसेम्बरदेखि लगातार ६ दिनसम्म आफ्ना समर्थकहरुलाई भेट्ने कार्यक्रम तय गरेका छन् । भेटघाटको अन्तिम दिन अर्थात ३१ डिसेम्बर मा उनले राजनीतिक यात्राको सुरुवातको घोषणा गर्न सक्नेछन् ।

रजनीकान्तका सहयोगीमध्ये एक टी मणियनले धेरै अगाडिदेखि उनलाई राजनीतिमा आउन दबाब दिइरहेको बताइन्छ । मणियनले द न्यू इन्डियन एक्सप्रेससँग भने, ‘यस पटक रजनीकान्तको राजनैतिक यात्रालाई नकार्न सकिँदैन । म यकिनका साथ भन्छु कि उनी तामिलनाडुको आगामी विधानसभा चुनावमा उम्मेदवार बन्दैछन् ।’

मणियनले शुक्रबार मात्रै रजनीकान्तलाई भेटेका छन् । भेटघाटको विस्तृत विवरण सार्वजनिक भएको छैन । मणियन भन्छन्, ‘मलाई रजनीकान्तको तर्फबाट केही पनि भन्ने अधिकार छैन। जहाँसम्म भेटघाटको कुरा छ, यसभन्दा पहिले पनि म उनीसँग कैयौं पटक भेटेको छु । पहिले जस्तै अहिले पनि हामी विस्तारमा छलफल गर्यौँ । तर यसको नतिजा के हुन्छ त्यसका लागि तपाईँले एक हप्ता कुनुपर्ने हुन्छ।’

स्रोतका अनुसार रजनीकान्तका प्रशंसकको संगठनलाई स्थानीय स्तरबाटै पदाधिकारीको नियुक्तिका लागि अनुरोध गरिसकिएको छ । जब रजनीकान्तले आफ्नो नयाँ पार्टी सुरु गर्नेछन् यी पदाधिकारी काम आउनेछन् । तर रजनीकान्तले केही ठूलो निर्णय लिनुभन्दा पहिले पूर्वै मुख्यमन्त्री दिवंगतं जयललिताको चुनाव क्षेत्रमा हुन लागेको उपचुनावको नतिजालाई पर्खिरहेका छन्।

यस क्षेत्रको नतिजा २४ डिसेम्बरमा सार्वजनिक हुनेछ।सन् १९५० मा भारतको बेंगलोरमा जन्मेका रजनीकान्तले दक्षिण भारतीय मात्रै होइन केही हिन्दी चलचित्रमा पनि आफ्नो दमदार अभिनय गरेका छन् । उनको वास्तविक नाम शिवाजी राव भए पनि उनी चलचित्र क्षेत्रमा रजनीकान्तकै नामले प्रसिद्ध छन् । उनी चलचित्र क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिले बेंगलोर ट्रान्सपोर्टमा बसको कन्डक्टरको रुपमा कार्यरत थिए ।

सन् १९७३ मा मद्रास फिल्म इन्स्टिच्यूटबाट अभिनयमा डिप्लोमा गरेका रजनीकान्तले १९७५ मा ‘अपूर्व रागानल’ नाटकबाट अभिनय यात्रा सुरु गरेका थिए । सुरुमा खलनायकको रुपमा अभिनय गरेका रजनीकान्तले थुप्रै हिट चलचित्र दिएका छन् । सन् २००७ मा शिवाजी चलचित्रबाट २६ करोड कमाएका रजनीकान्त त्यस समय ज्याकी च्यानपछाडि सबैभन्दा मंहगा एसियन कलाकार थिए।

पुस ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्