रियलको मैदानमा बार्सिलोनाको सान

म्याड्रिड– स्पेनको चर्चित घरेलु लिग भिडन्त एल क्लासिकोमा शनिबार साँझ बार्सिलोना साविक विजेता रियल म्याड्रिडको मैदानमा ३-० गोलले विजयी भएको छ। जितपछि बार्सिलाेनाले यो सिजन सबै प्रतियोगितामा अपराजित यात्रा कायमै राख्यो भने हारपछि घरेलु लिगमा यो सिजन रियलको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ।

बार्सिलोनाको जितमा लियोनल मेसी, अर्तुराे भिदाल र स्वारेजले एक एक गोल गरे।

स्वारेजले ५४ औं मिनेटमा सर्जियो रोबर्टोको क्रसमा ट्यापिङ गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए। ६३ औं मिनेटमा स्वारेजकै प्रहार गोल लाइन नजिकैबाट ड्यानियल कार्भाजलले हातले रोकेपछि घरेलु टोली १० खेलाडीमा सिमित भएको थियो। कार्भाजलले रातो कार्ड पाएपछि आफुले पाएको पेनाल्टीमा बार्सिलोनाका मेसीले सजिलै गोल गरे।  भिदालले इन्जुरि समयमा  गाेल गरेका थिए।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गतिलो प्रदर्शन गरेका थिए। बार्सिलोनाका गोलरक्षकले रियलका केही राम्रा आक्रमणको उत्कृष्ट बचाउ गरे। बार्सिलोना १७ खेलबाट ४५ अंक जोडेर शीर्षस्थानमा छ।

१६ खेलबाट केवल ३१ अंक भएको रियल म्याड्रिड चौथो स्थानमा छ। १७ खेलपछि एट्लेटिको म्याड्रिड दोस्रो र १६ खेलबाट ३४ अंक भएको भ्यालेन्सिया तेस्रो स्थानमा छ । एल क्लासिकाे बार्सिलाेना र  रियल म्याडिडबीच हुने चर्चित लिग भिडन्त हाे।

यो पनि हेर्नुहोस्:

रियल म्याड्रिड बन्ला विश्‍व च्याम्पियन?

रियल म्याड्रिड विश्वच्याम्पियन

पुस ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्