गाईपालनबाट विदेशको कमाइ स्वदेशमै

आफ्‍नो गोठमा गाई स्याहार्दै विराटनगर १० तिनटोलियाका निवासी ४० वर्षीय मदन ढकाल। वैदेशिक रोजगारीमा जाने युवाहरु बढ्दै गए पनि उनी विदेशको कमाई स्वदेशमै गर्छन्। यसले गाईपालनमा आकर्षण बढ्दै गएको छ। तस्बिर-अभयकुमार राई/देश सञ्‍चार

मोरङ- वैदेशिक रोजगारीमा जानेको लर्को दिनहुँ बढ्दो छ। यहाँ काम नै छैन, न सरकारले भने जस्तो काम दिनसक्छ न त वातावरण नै छ। त्यसैले चारपाँच वर्ष विदेश बस्यो अलिअलि कमायो अनि स्वदेश फर्कियो बस् ।

माथिका वाक्य कामका लागि विदेशिने अधिकांश नेपालीहरुको हो। तर यसको ठीक विपरीत स्वदेशमा, भने जसरी काम गरे आफूलाई आर्थिक पाटोमा सबल बनाउन सकिन्छ भन्‍ने उदाहरण विराटनगर १० तिनटोलिया निवासी मदन ढकालको हो । हुन त मदन पनि १० वर्षअघि कतारमै काम गरेर फर्किएका युवा हुन्। जुनबेला उनले त्‍यहाँ काम गरेबापत मासिक २५ हजार नेपाली रुपैया हात पार्थे।

पाँच वर्ष कतारमा बिताएपछि, त्यहाको हण्डरले उनलाई पुन कतार फर्कन मन लागेन। र उनी जुटे आफ्नो परिश्रमलाई स्वदेशी माटोमा फैलाउन। दुई वर्षअघि बिना लगानीबाट सुरुआत गरेको गाईपालनबाट हाल उनी सन्तुष्ट छन्। स्वदेशमा काम गर्दा परिवारसँगै हुने र केही समस्या परे इष्टमित्र आफन्त नजिक भएकाले विदेशी मोहले भने आकर्षण नगरेको उनी बताउँछन्।

उनले भन्छन्,’कतारबाट फर्किएपछि के गरौं कसो गरौं भन्ने थियो । तर, पुँजी नहुदां सही बाटो समात्‍न सकिन्। दुइ वर्षअघि स्थानीय सहकारीसँग ऋण लिदैँ एउटा गाई खरिद गरे । आज त्यसको प्रतिफल मसँग ८ वटा गाई छ।’ विहान ५ बजेबाट ढकालको घरमा दुध लिनेहरुको भीड हुने गर्दछ। दैनिक ८० लिटर दुध बिक्री गर्ने गरेका ४० वर्षीय ढकालले ५ कट्ठा जमिन भाडामा लिएर गाईपालन व्यवसायलाई अघि बढाएका छन् ।

गाईपालन व्‍यावसायबाट ढकालले जग्गा भाडा लिदां वार्षिक २० हजार रुपैया र प्रत्येक वर्ष १० प्रतिशत रकम वृद्धि गर्दै लैजाने सम्झौता गरेको बताउँछन्। उनी भन्छन्, ‘ गाईपालनले मलाई स्वदेशमै सन्तुष्टी दिएको छ। जग्गा भाडा लिदां वार्षिक २० हजार रुपैया र प्रत्येक वर्ष १० प्रतिशत रकम वृद्धि गर्ने सम्झौता गरेको छु। मेहनत गरे अनुसार खर्च कटाएर मासिक ७० हजार रुपैयासम्म कमाइ हुन्छ।

गाईपालनका लागि सरकारले पनि अनुदान दिने जानकारी राखेका ढकाल, त्यसतर्फ भने इच्छुक देखिनन्। अनुदानका लागि समय लाग्ने, प्रक्रियामा जानुपर्ने, फाइल बढाउने काम मात्र हुने भएकाले त्यसतर्फ अहिलेसम्‍म सोच नबनाएको उनी बताउँछन्। भन्छन् ‘ सरकारी प्रक्रिया लाो हुन्छ र फाइल मात्रै जम्‍मा हुन्छ, बरु आफै सानो पूँजीबाट अघि बढ्छु।’

तर मेहनती मदनलाई भदौको अन्तिमसाता गएको बाढीले पीडित बनायो। उनले त्‍यही बाढीका कारण एउटा गाइसमेत गुमाउनु पर्‍यो। उनले त्यो दु:खद क्षण सुनाउँदै भने, ‘दुई दिनसम्म गाईलाई न्यानो स्थानमा राख्‍न सकिएन। गोठभरि पानी नै पानी थियो । गाइले बस्‍न समेत पाएनन्। चौबीसै घण्टा उभिए। यसैबीच एउटा गाईलाई गुमाउनु पर्‍यो।’ त्यसपछि उनले हाल गोठमा रहेका आठ वटै गाईको बीमा गराएका छन्। केही समय अघिसम्म बहालमा बस्दै आएका ढाकलले गाईपालनबाटै घरजग्गा जोड्न सफल भएका छन्। जसबाट उनीसहित तीन जनाको परिवारको दैनिकी सहजै चलेको छ।’

यस्तै मदनजस्तै अर्का कृषक हुन् विष्णु दुलाल। उनी पनि अहिले १५ वटा गाईपालनबाट राम्रो आन्दानी गरिरहेका छन्। उनी भन्छन्, ‘हलिस्टन र जर्सी गाईबाट दैनिक १ सय २५ लिटरसम्म दूध बिक्री हुन्छ। यसले मेरो परिवारको गुजारा चलेको छ।’ तर बेला बेला गाईमा देखिने थुनेलो रोग र गुणस्तर योग्य चोकर नहुदा भने मर्का पर्ने गरेको दुलालको गुनासो छ।

उनी भन्छन् ‘पराल सहज रुपमा पाइने भएपनि बाहिरी गाईका लागि उपयुक्त हुने चोकर, दाना भने स्तरीय हुँदैन। यसले जर्सी गाईमा समस्या देखा पर्छ।’ यद्य‌पि, घरमै गोठ बनाएका दुलाल कहा ८० रुपैया प्रतिलिटरको दुध लिन घरसम्म स्थानीय पुग्‍ने गरेका छन्। स्थानीयतहमा दुधको माग बढीपछि उनको मुहारमा खुसी छाएको छ। एकै घरमा पाच लिटरसम्म दुध खपत हुने गरेको भन्दै दुलाल भन्छन्, ‘चाडपर्वका समय माग धान्‍न मुश्किल पर्छ।’

यता, जिल्ला पशु सेवा कार्यालय विराटनगरका प्रमुख सुशील अधिकारीले केही समययता युवा पुस्तामा गाईपालनप्रति आकर्षण बढ्दै गएको बताए। उनले भने, ‘ मोरङमा २ सय भन्दा बढीको संख्यामा गाईपालन फर्म दर्ता गराएर सञ्चालनमा छन्।’ उनले मोरंगमा ठूलो आकारको १ सय भन्दाबढी गाईपालन गर्ने ७ वटा फर्म दर्ता रहेकाले गाईपालनमा आकर्षण बढेको दाबी गरे।

पुस २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्