डा. केसीले बयानमा भने, एसएलसी पनि पास नगरेको व्यक्ति कसरी प्रधान न्यायाधीश बन्छ?

डा. गोविन्द केसीसँग केही बेरअघि सर्वोच्च अदालतमा बयान लिइएको छ। उनले दिएको बयान जस्ताको तस्तै :

मेरो अदालतप्रति धेरै नै निष्ठा छ। मैले अदालतको अपमान गरेको छैन।

गोपाल पराजुलीले गरेका निर्णय र कार्यहरुले नै न्यायापालिकको उल्टै मानमर्दन गरेका कारणले त्यसविरुद्ध विशेष सचेत नागरिकको हैसियतले मैले आवाज उठाएको मात्र हो। प्रधानन्यायाधीश गोपाल पराजुलीका दुई वटा नागरिकता छन्। उहाँले उमेर सच्चाएर नागरिकता लिनु भएको छ।

त्यसबारे तत्काल छानबिन हुनुपर्छ। कुनै पनि नागरिकले दुईवटा नागरिक बोक्न पाउँदैन। त्यसो गर्नु आपराधिक कार्य हो, उहाँले आपराधिक काम गर्नुभएको छ।

त्यस्तो आपराधिक काम गर्ने व्यक्ति प्रधानन्यायाधीश हुन सक्दैन, उहाँले तुरुन्त राजिनामा दिनु पर्छ।

उहाँमाथि कारवाही हुनुपर्छ, उहाँले एसएलसी पास गर्नुभएको छैन।

एसएलसी नै पास नगरेको व्यक्ति प्रधान न्यायाधीश कसरी हुन सक्छ ? त्यसमाथि पनि छानबिन भई कारवाही हुनुपर्छ।

सर्वोच्चका बहालवाला रजिस्ट्रार नहकुल सुवेदीलाई ६ महिनाको अन्तरालमा तीनपटक प्रमोसन दिइएको छ।

त्यो कुन काननुले अनुमति दियो ? ‘रुल अफ ल’को अध्ययन भएको भएन, त्यस विषयमा पनि छानबिन हुनुपर्छ। त्यसबारे जानकारी पनि पाउँ ? उहाँले गरेका विभिन्न कामले पनि अदालतको अवहेलना गरेको छ। उहाँमाथि अदालतको अवहेलनासम्बन्धी कारवाही होस्।

 

यो पनि हेर्नुहोस्:

पाँच घन्टापछि बल्ल सुरु भयो केसीको बयान

केसी मुद्दाको इजलास तोकियो

पुस २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्