मूल्यवृद्धिको विरोधमा कडा आन्दोलन गर्ने हार्डवयर व्यवसायीको चेतावनी

पोखरा- निर्माणका कामले तीव्रता पाउने समयमा सिमेन्ट र छड कम्पनीले मनोमानी रुपमा मूल्यवृद्धि गरेको विरोधमा कास्कीका हार्डवयर व्यवसायीहरुले बुधबार व्यवसाय बन्द गर्ने भएका छन्।

निर्माण सामग्री सिमेन्ट, छडको अधिक माग हुने मौका छोपेर उद्योगीले वदनियतपूर्ण तरिकाले मूल्यवृद्धि गरेकोमा आपत्ति जनाउँदै एसोसिएसनले बुधबार व्यवसाय बन्दको घोषणा गरेका हुन्।

एसोसिएसनले मूल्यवृद्धिको विरोधमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ। ज्ञापनपत्र बुझाउँदै एसोसिएसनका अध्यक्ष राजेशकुमार गुप्ताले ‘अनावश्यक र कृतिम अभाव सिर्जना गरी मूल्य बढाउँदा’ सरकारी संयन्त्र मौन बस्न नहुने धारणा राखेका थिए।

उनले मूल्यबृद्धिबाट कास्कीमा रहेका २ सय २० हार्डवयर व्यवसायी आन्दोलित भई आफ्ना व्यवसाय बन्द गर्ने अवस्थामा पुगेको बताए। उनले भने, ‘बुधबार एक दिन आफ्ना सवै व्यवसायहरु सांकेतिक रुपमा बन्द गर्ने र मूल्यवृद्धि फिर्ता नलिए त्यस्ता सामग्री बिक्री वितरण नै नगर्नेसम्मको निर्णय एसोसियएनले गरेको छ।’

उद्योग कम्पनीहरुले एकाएक थेग्नै नसक्ने गरी सामानको मूल्य बढाएको देख्दा छक्क परेको एसोसिएसनका महासचिव पृथ्वीराज तिमल्सेनाले बताए। ‘सिमेन्ट र छड कम्पनीहरुले बिनाआधार पीपीसी सिमेन्टमा प्रति ५० किलोग्रामको बोरामा १ सय रुपैयाँ, ओपीसी सिमेन्टमा एक सय २० रुपैयाँ र फलामे छडमा प्रति किलोग्राम १३ रुपैयाँ मूल्यवृद्धि गर्दा हाम्रा व्यवसाय वन्द गर्नुपर्ने अवस्थामा पुगेका छौं,’ उनले जानकारी दिँदै सम्बन्धित कम्पनीसँग पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको बताए।

मूल्यवृद्धिले उपभोक्ता र हार्डवयर व्यवसायीमा प्रत्यक्ष असर परेको भन्दै सिमेन्ट र छठको बिक्री नगर्न पनि एसोसिएसनले व्यवसायीहरुलाई अनुरोध गरेको छ।

 

यो पनि पढ्नुहोस्…

सहकर्मी रिहाइको माग गर्दै ट्याक्सी व्‍यावसायी आन्दोलनमा

केसी आन्दोलनले बर्खास्तीमा परेका आइओम डिन शर्मालाई पुनर्बहालीको आदेश

पुस २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्