कांग्रेस केन्द्रीय समिति बैठक: बोल्‍न बाँकीले धारणा राख्‍न थाले

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक। तस्बिर-रासस

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा बिहीबार बोल्न बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्‍नेक्रम सुरु भएको छ।

चुनावपछि पहिले उपलब्ध मञ्‍चमा कांग्रेसका अधिकांश केन्द्रीय सदस्यले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा व्यहोरेको पराजयको नैतिक जिम्मेवारी पार्टी नेतृत्वले लिनु पर्ने, सात दशक नाघेका नेताहरुले अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने र छिट्टै महासमिति बोलाउनु पर्ने दवाव दिएका थिए।

नेता रामचन्द्र पौडेल, धनराज गुरुङ, चन्द्र भण्डारी, डा. रामशरण महत, अर्जुननरसिंह केसीलगायतले खासगरी समानुपातिक उम्मेदवारको छनौटमा देउवाका नजिकलाई पार्टी केन्द्रीय समिति निर्देशन विपरित स्थान दिइएकामा आपत्ति जनाएका थिए।

बैठकमा पार्टी नेतृत्व विरुद्ध सबैभन्दा धेरै खनिनेमा नेता पौडेल थिए। उनले विधानविपरीत गठित संसदीय र कार्यसम्पादन समिति विघटन गर्न पनि माग गरेका थिए।

बैठकमा महेन्द्र यादव, एनपी साउद, विमलेन्द्र निधि, प्रकाशशरण महत लगायतले नेतृत्वको बचाउ गरेका थिए। ३० जनाले धारणा राखिसकेको बैठकमा बाँकी रहेका १५/२० जना सदस्यले बोल्ने कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।

माघ ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्