रेशमको बयान धमाधम, टीकापुर घटनामा अझै ३२ जना फरार

जिल्ला अदालत कैलालीमा सुरक्षार्थ खटिएका प्रहरी। तस्बिर-दीपकराज जोशी/देश सञ्‍चार

काठमाडौं- एसएसपी लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक बालकको हत्याका योजनाकार रहेको आरोप लागेका रेशम चौधरीले जिल्ला अदालत कैलाली आत्मसमर्पण गरेका छन्। उनको अहिले जिल्ला अदालत कैलालीले बयान लिइरहेको छ।

बयान सकिएपछि अदालतले पूर्पक्ष, धरौटी वा साधारण तारेखको निर्णय लिनेछ। २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनको क्रममा भएको झडपमा एसएसपीसहित नौ जनाको निर्मम हत्‍या भएको थियो। त्‍यस प्रकरणमा दुई जना नावालकसहित २५ जना पूर्पक्षमा छन् भने ३२ जना अझै फरार छन्।

रेशम घटनापछि फरार थिए। तर गत प्रतिनिधि सभा निर्वाचनमा कैलालीबाट २० हजार ९ सय ३५ मतको फराकिलो अन्तरले विजयी भएपछि रेशम चर्चामा आएका थिए। उनीलाई राष्ट्रिय जनता दलले निर्वाचनमा टिकट दिएको थियो।

प्रतिनिधी सभामा निर्वाचित भएपछि रेशमले प्रमाणपत्र भने लिन पाएका थिएनन्। निर्वाचन आयोगले प्रमाणपत्र लिन आफै उपस्थित हुनुपर्ने बताएपछि रेशमले सर्वोच्चमा रिट समेत दायर गरेका थिए।तर उनको रिट खारेज भएको थियो। रेशम सार्वजनिक हुन संक्ने आशंकामा सुरक्षा निकाय हाइअलर्टमा थिए।

संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सदस्यको सपथग्रहण फागुन २० गते  राखिएको छ।

सम्बन्धित समाचार 

रेशम चौधरीले जिल्ला अदालत कैलालीमा गरे आत्मसमर्पण

टीकापुर काण्डमा यस्तो थियो आरोप: एसएसपीसहित नौजना मारिएका थिए

फाल्गुन १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्