विश्वकप छनौट क्रिकेट : नेपाल भर्सेस जिम्बाबे

नेपाली क्रिकेटको महत्वपूर्ण यात्राको सुरुवात हुँदै

फाइल फोटो

काठमाडौं – उकालो, ओरालो अनि फेरि उकालो गर्दै आएको नेपाली क्रिकेटले आइतबारदेखि आफ्ना लागि निकै महत्वपूर्ण यात्राको सुरुवात गर्दैछ ।

नेपाली क्रिकेट टोलीले आइतबारदेखि एक दिवसीय विश्वकप क्रिकेट छनौट प्रतिस्पर्धामा खेल्दैछ । जिम्बाबेमा आइतबारदेखि सुरु हुन लागेको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेपछि सुरु हुनेछ । टेस्ट मान्यता प्राप्त जिम्बाबेसँग नेपालले एक दिवसीय क्रिकेटमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बाबेले सन् १९८३ यताका सबै विश्वकपमा प्रतिस्पर्धा गरेको छ भने नेपाली टोलीले पहिलो पटक विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ खेल्दैछ ।

१० देशको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुई अर्थात फाइनलमा पुग्ने टिम आउँदो वर्ष इंग्ल्याण्डमा हुने विश्वकपका लागि छानिने छन् । एक दिवसीय बरियतामा शीर्ष ८ मा परेका ८ देशले विश्वकपमा स्थान बनाइ सकेका छन् ।

शीर्ष ८ मा पर्न नसकेका जिम्बाबे, आयरल्याण्ड, वेष्ट इन्डिज र अफगानिस्तानले यो प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । यस्तै नेपालसहित हङकङ, पपुवा न्युगिनी, नेदरल्याण्डस्, युएई, स्कटल्याण्डले पनि विश्वकप यात्रा तय गर्नका लागि आफ्नो कला देखाउने प्रयासमा छन् ।

समूह चरणमा नेपालले आयोजक जिम्बाबेसहित अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग प्रतिस्पर्धा गर्ने छ । अर्को समूहमा आयरल्याण्ड, वेष्ट इन्डिज, नेदरल्याण्डस्, पपुवा न्युगिनी र युएई रहेका छन् ।

रहेक समूहको शीर्ष तीनमा पुग्ने टिमले सुपर सिक्समा स्थान बनाउने छन् । यस्तै फाइनलमा पुग्ने टिमले विश्वकपमा स्थान पक्का गर्ने छन् । नेपालका

लागि फाइनल यात्रा नभए कम्तिमा सुपर सिक्ससम्मको यात्रा अत्यावश्यक छ । किनकी सुपर सिक्समा पुग्न सके नेपाली टोलीले एक दिवसीय क्रिकेटमा अन्तर्राष्ट्रिय मान्यता पाउने सम्भावना छ ।

अबको चार वर्षका लागि नेपाली क्रिकेटको बाटो तय गर्ने भएकाले यो प्रतिस्पर्धा निकै महत्वपूर्ण रहेको छ ।

जिम्बाबेसँग एक दिवसीय क्रिकेटमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको भए पनि आफूहरु हतास नरहेको नेपाली टोलीका कप्तान पारस खड्काले प्रतिक्रिया दिएका छन् ।

फाल्गुन २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्