च्याम्पियन्स लिग

बार्सिलोनालाई घर फर्काएको रोमा हार्‍यो, लिभरपुलको शानदार जित

बार्सिलोनालाई क्वाटरफाइनलबाटै घर फर्काएको टिम रोमाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा फराकिलो हार बेहोरेको छ ।

इंग्लिस क्लब लिभरपुलले मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा इटालियन क्लब रोमामाथि ५–२ को जित दर्ता गरेको हो । रोमा बार्सिलोनालाई हराएर सेमिफाइनलमा आएको हो ।

लिभरपुलको जितमा यो सिजन जहिले हेडलाईन बनिरहेका मोहमद सालहले दुई गोल गरे । यस्तै रोबर्टो फिरमिनोले पनि दुई तथा साडिओ मानेले एक गोल गरे । अवे मैदानमा रोमाका लागि इडेन डिजेको र डिएगो पेरोट्टीले एक एक गोल गरे ।

पछिल्लो पटक ११ वर्षअघि सन् २००७ मा च्याम्पियन्स लिगको फाइनलमा पुगेको लिभरपुलका लागि यो सिजन फाइनल यात्रा तय गर्ने बाटो निकै अघि लग्नुमा सालहको भूमिका महत्वपूर्ण छ ।

दुई दिनअघि मात्रै पिएफए वर्ष खेलाडी अवार्ड जितेका इजिप्टियन सालहले दुई गोल गरे भने थप दुई गोलका लागि सहयोग गरे । पहिलो हाफमा सालहले गरेको दुई गोलबाटै जर्गेन कोलोप्पको टिम लिभरपुलले २–० को अग्रता लियो । सालहले ३५ र ४५ औँ मिनेटमा गोल गरेका हुन् ।

उनले ५६ औँ मिनेटमा साडिओ मानेको गोलका लागि सहयोग गरे । त्यस्तै ६१ औँ मिनेटमा फिरमिनोको गोलका लागि पनि सालहले नै सहयोग गरेका हुन् । ६८ औँ मिनेटमा फिरमिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि टिमले ५–० को अग्रता लियो ।

त्यसपछि रोमाले दुई गोल फर्कायो । ८१ आैँ मिनेटमा डिजेकोले गोल गरे भने ८५ औँ मिनेटमा पाएको पेनाल्टीमा पेरोट्टीले रोमाका लागि अर्को गोल गरे । तर पनि लिभरपुल ५–२ ले विजयी भयो र फाइनलमा स्थान बनाउने बलियो सम्भावना कायम गर्न सफल भयो ।

यो सिजनको सुरुमा रोमाबाट आएका सालहले लिभरपुलका लागि अहिलेसम्म ४३ गोल गरेका छन् । सालहले रोमा विरुद्ध गरेको गोलको सेलिब्रेसन भने गरेनन् । पहिलो लेगमा पराजित भए पनि दोस्रो लेगमा रोमाले कला देखाउन सक्ने सम्भावना भने छ ।

किनकी क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनासँग ४–१ ले पराजित भएको रोमाले दोस्रो लेगमा ३–० को जित निकाल्दै अवे गोलका आधारमा सेमिफाइनलमा आएको हो । यदी बार्सिलोनासँगको खेलमा जस्तै जादुमयी प्रदर्शन गर्न सकेनमा रोमाको फाइनल पुग्ने सम्भावना भने छ ।

फाइनल पुग्ने टिमले उपाधिका लागि बार्यन म्युनिख वा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

बैशाख १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्