च्याम्पियन्स लिग फुटबल

रियल मड्रिडले बनायो अर्को कीर्तिमान : लगातार तेस्रो सिजन जित्यो उपाधि

रियल मड्रिडले कीर्तिमानी लगातार तेस्रोपटक च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको छ ।

युक्रेनको राजधानी किएभमा भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै साबिक विजेता स्पेनिस क्लब रियल मड्रिडले उपाधि उचालेको हो । रियल मड्रिड च्याम्पियन्स लिगको इतिहासमा लगातार तेस्रो सिजन उपाधि जित्ने पहिलो क्लब हो ।

यसअघि युरोपियन कप रहेका बेला पनि रियल मड्रिडले लगातार तीन सिजन उपाधि जितेर कीर्तिमान बनाएको थियो । यसको अर्थ रियल मड्रिडले दोस्रो पटक लगातार तेस्रो सिजन उपाधि जित्ने कीर्तिमान बनाएको छ ।

रियल मड्रिडका लागि ग्यारेथ बेलले दुई तथा करिम बेन्जिमाले एक गोल गरे । लिभरपुलका लागि साडिओ मानेले एक गोल फर्काए । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५१ औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाए ।

तर त्यसको चार मिनेटपछि नै मानेले लिभरपुलका लागि बराबरी गोल फर्काए । त्यसपछि भने रियल मड्रिडले गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्‍यो । ६४ औँ मिनेटमा बेलले च्याम्पियन्स लिगको इतिहासमा उत्कृष्ट मध्येको गोल गर्दै रियल मड्रिडलाई २–१ को अग्रता दिलाए ।

उनले आभरहेड किक मार्फत गोल गरेका हुन् । बेलले नै ८३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड ३–१ ले विजयी भयो र लगातार तेस्रो तथा समग्रमा १३ औँ पटक च्याम्पियन्स लिगको उपाधि उचाल्यो ।

फाइनलमा खेलमा लिभरपुललाई पहिलो हाफमा ठूलो झड्का लाग्यो । क्लबका यो सिजन सर्वाधिक गोलकर्ता मोहम्मद सालह थाइ इन्जिुरीका कारण मैदान बाहिर निस्कन बाध्य भए । उनी रियलका कप्तान सर्जिओ रामोससँग ट्याकल गर्ने क्रममा चोटग्रस्त भएका हुन् ।

रियल मड्रिडले पछिल्ला पाँच सिजनमा चौथो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ । जिनेदिन जिदान क्लबको प्रशिक्षकको रुपमा आएपछिका हरेक सिजन रियल च्याम्पियन्स लिग च्याम्पियन अर्थात युरोपियन च्याम्पियन बनेको छ ।

रियल मड्रिडले युरोपियन कप रहेका बेला सन् १९५६ देखि १९६० मा फाइनलमा पुगेर पाँचै पटक उपाधि उचालेको थियो । युरोपियन कपका बेला बेन्फिका, अजाक्स र बार्यन म्युनिख तथा च्याम्पियन्स लिग एरामा एसी मिलान र युभेन्टस मात्रै लगातार तीन सिजन फाइनलमा पुगेका छन् ।

रियल मड्रिडले पछिल्लो पटक सन् २०१६ मा एथ्लेटिको मड्रिडलाई पेनाल्टीमा ५–३, सन् २०१७ मा युभेन्टसलाई ४–१ र अहिले सन् २०१८ मा लिभरपुललाई ३–१ ले हराएर उपाधि जितेको छ ।

यो जितसँगै स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो पाँच पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।

यो सिजन १५ गोल गरेका रोनाल्डो सिजनमा च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता पनि हुन् । घरेलु लिगमा तेस्रो भए पनि रियल मड्रिड युरोपियन च्याम्पियन भने रहि नै रह्यो ।

जेठ १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्