इब्राहिमोविचको चुनौती डेविड बेकह्यामलाई, जवाफ कस्तो आयो ?

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत अहिले क्वाटरफाइनलका खेल चलिरहेका छन् । क्वाटरफाइनलमा शनिबार दुई युरोपेली देश इंग्ल्याण्ड र स्वीडेनबिच प्रतिस्पर्धा हुँदैछ । यी दुई देशबिचको प्रतिस्पर्धालाई दुई देशका लेजेण्डबिचको सम्भावदले थप आकर्षक बनाएको छ ।

स्वीडेनका लेजेण्ड जाल्टन इब्राहिमोविच र इंग्ल्याण्डका लेजेण्ड डेविड बेकह्याम, दुवैले एउटै क्लबबाट पनि खेलेका थिए । अहिले विश्वकपमा इब्राहिमोविच र बेकह्यामबिच आफ्नो देशको पक्षमा उभिने क्रममा एक अर्कालाई विभिन्न प्रस्ताव र चुनौती होड छ ।

स्वीडेनका कीर्तिमानी गोलकर्ता इब्राहिमोविचले इन्स्टाग्राममा इंग्ल्याण्डका पूर्व कप्तान बेकह्यामलाई चुनौती दिँदै शनिबारको खेलमा इंग्ल्याण्डले जितेमा विश्वको जुन ठाउँमा भन्यो त्यहि ठाउँमा लगेर डिनर खुवाउने बताएका छन् ।

इब्राहिमोविचले बेकह्यामलाई चुनौती दिँदै लेखेका छन, ‘यो, डेविड बेकह्याम, यदी इंग्ल्याण्डले जित्यो भने म तिमीले जहाँ भन्छौ त्यहिँ तिमीलाई डिनर गराउने छु । तर स्वीडेनले जित्यो भने तिमीले मेरा लागि इकियाको जुन सामान मलाई मन पर्छ त्यहि किनिदिनु पर्छ, हुन्छ ।’

इकिया स्वीडिस मल्टिनेशनल कम्पनी हो, जसले फर्निचर, भान्छाका सामान तथा घरका लागि चाहिने अरु सामान उत्पादन गर्छ ।

अहिले अमेरिकी मेजर लिग सकर, एमएलएस क्लब लस एन्जलस ग्यालेक्सीबाट खेल्ने म्यानचेस्टर युनाइटेडका ३६ वर्षका पूर्व स्ट्राइकर इब्राहिमोविचको चुनौती स्वीकार गर्दै बेकह्यामले अझ फरक प्रस्ताव गरे ।

उनले लेखेका छन्, ‘यदी स्वीडेनले जित्यो भने मैले नै तिमीलाई इकियामा लगेर तिम्रो एलएको घरका लागि चाहिएको सामान किनिदिन्छु । तर इंग्ल्याण्डले जित्यो भने तिमीले वेम्बलील आएर इंग्ल्याण्डको खेल इंग्ल्याण्डकै जर्सी लगाएर हेर्नु पर्नेछ । र हाफ टाइममा माछा र चिप्सको मज्जा लिनु पर्नेछ ।’

असार २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्