प्रदेश ७ को नाम र राजधानी तोक्न सकस

राजधानी तोक्न तेस्रो पटक थपियो विशेष समितिको म्याद

धनगढी- प्रदेश ७ को नाम र राजधानीबारे सुझाव संकलन गरि प्रतिवेदन तयार गर्नका लागि गठन गरिएको विशेष समितिको म्याद तेस्रो पटक थप गरिएको छ ।

यसअघि दुई पटक थपिएको समयमा पनि प्रतिवेदन तयार गर्न असफल समितिको तेस्रो पटक म्याद थप गरिएको हो ।

‘दोस्रो पटक थपिएको म्याद शनिबार सकिएको छ ।’ प्रदेश सभा सचिवालयका कानुन अधिकृत तेज प्रकाश जोशीले भने, ‘पाँच दिनका लागि म्याद थप गर्नका लागि निवेदन आएको थियो । तर, सभामुखले तिन दिन थप गरिदिनुभएको छ ।’

प्रदेश सभा सचिवालयका अनुसार प्रदेशको नाम र राजधानीबारे राय सुझाव लिने कार्य अन्तिम चरणमा रहेको, केही प्राविधिक विषयमा जानकारी लिनुपर्ने र रायसुझावलाई लिपिवद्ध पार्ने कार्य भईरहेको भन्दै समितिले म्याद थपका लागि निवेदन दिएको थियो ।

प्रदेशको नाम र राजधानी तोक्ने विषयमा साउन १४ गते प्रदेश सभा बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा पाँच सदस्यीय विषेश समिति बनाएको थियो ।

समितिको सदस्यमा प्रदेश सांसद प्रेमप्रकाश भट्ट, बलदेव रेग्मी, श्यामलाल राना र चुनकुमारी चौधरी छन् । समितिमा रहेका राना नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद हुन भने अन्य सबै नेकपाबाट निर्वाचित सांसद हुन ।

उक्त समितिलाई साउन २१ गते बस्ने प्रदेश सभा बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिईएको थियो ।
उक्त समितिले अब भदौ ५ गते सभामुखलाई प्रतिवेदन बुझाउनुपर्ने छ । प्रदेश सभा बैठक भने भदौ ६ गते बस्ने छ ।

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्