यस्तो उत्कृष्ट विवाह प्रस्ताव

निर्देशकले अवार्ड जिते लगत्तै गरे विवाहका लागि प्रस्ताव, प्रेमिका अचम्मित

कुनै पनि अवार्डका लागि मनोनयनमा पर्नु नै सबैभन्दा ठूलो सफलता हो, त्यो भन्दा माथिल्लो स्तरको हुन्छ जित । त्यो जितलाई पनि पार गरेर सर्वोत्कृष्टताको अवस्थामा पुगेको छ निर्देशक ग्लेन वीसका लागि एमी अवार्ड ।

टेलिभिजन सिरिज तथा मुभी क्षेत्रका सर्वोत्कृष्टहरुलाई सम्मानित गरिने अमेरिकी अवार्ड एमीको ७० औँ संस्करण ग्लेनका लागि निकै भावनात्मक र उत्कृष्ट रह्यो । यो वर्षको अवार्ड समारोह अमेरिकाको लस एन्जलसमा रहेको माइक्रोसफ्ट थिएटरमा भइरहेको छ ।

ग्लेनले द ओस्कारका लागि आउटस्ट्याण्डिङ्ग डाइरेक्टिङ्ग फर अ भेराइटी स्पेसलका लागि अवार्ड पाए । ग्लेनले अवार्ड स्वीकार गर्दै मन्तव्यको क्रममा प्रेमिका ज्यान स्वेनड्सनलाई विवाहका लागि प्रस्ताव गरे ।

ज्यानलाई विवाहका लागि प्रस्ताव गर्नुअघि ग्लेनले दुई हप्ताअघि निधन भएकी आफ्नी आमालाई सम्झिएका थिए । त्यसपछि उनले दर्शक दीर्घामा रहेकी ज्यानलाई सम्बोधन गर्दै विवाहका लागि प्रस्ताव गरे ।

उनको यो प्रस्तावले ज्यानसँगै थिएटरमा रहेका सबै अचम्मित भए । अरुले उठेर ताली बजाउन थाले, ज्यान सरप्राइज रहिन् । त्यसपछि उनी स्टेजमा गएर ग्लेनको विवाह प्रस्ताव स्वीकार गरिन् ।

ग्लेनले ज्यानलाई विवाहको प्रस्ताव गर्दै आफ्नी आमालाई बुवाले लगाइदिएको औँठी लगाइदिए । उनले ज्यानलाई विवाहका लागि प्रस्ताव गर्दै भनेका थिए, ‘म तिमिलाई प्रेमिका भन्न चाहन्न, किनकी अब श्रीमती भनेर बोलाउन चाहन्छु ।’

एमी अवार्डमा भएको यो पहिलो लाइभ विवाह प्रस्ताव हो ।

असोज २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्