म्यानचेस्टर सिटीले ठोक्यो आधा दर्जन गोल, निरिह चेल्सी

शानदार जितसहित साबिक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले चेल्सीमाथि ६–० को प्रभावशाली जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले आधा दर्जन गोल गर्दा भ्रमण टोली चेल्सीले एक गोल पनि फकार्उन सकेन ।

सिटीको जितमा सर्जियो अग्युरोले ह्याट्रिक गरे भने रहिम स्ट्रर्लिङ्गले दुई गोल गरे । यस्तै आइकेली गुण्डोगानले एक गोल गरे । सिटीले पहिलो हाफमै चार गोल गरेको हो भने दोस्रो हाफमा दुई गोल थपेको हो ।

चौथो मिनेटमा स्ट्रर्लिङ्गको गोलबाट सुरुवाति अग्रता लिएको सिटीका लागि १३ र १९ औँ मिनेटमा अग्युरो तथा २५ औँ मिनेटमा गुण्डोगानले गोल गर्दै पहिलो हाफमा ४–० को अग्रता दिलाए ।

५६ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै अग्युरोले ह्याट्रिक पूरा गरे । यस्तै ८० औँ मिनेटमा स्ट्रर्लिङ्गले व्यक्तिगत दोस्रो गोल गरेपछि म्यानचेस्टर सिटी ६–० ले विजयी भयो ।

जितपछि शीर्षस्थानमा फर्किएको म्यानचेस्टर सिटीको २७ खेलबाट ६५ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुल समान ६५ अंक भए पनि दोस्रो स्थानमा झरेको छ ।

पराजित भएको चेल्सी छैटौँ स्थानमा झरेको छ र उसको २६ खेलबाट ५० अंक छ । पाँचौँ स्थानको आर्सनलको पनि समान २६ खेलबाट ५० अंक नै छ ।

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्