मेरो घर नयाँ ढंगले व्यवस्थित गर्ने दृढताका साथ काठमाडौं आएकी थिएँ, यसपटक म। आफ्नै सहरमा दरिलोसँग खुट्टा टेक्ने चाहना सधैँको हो मेरो । मेरो बुबाआमा पनि यहीँ भएकाले काठमाडौं आई घर पुनस्र्थापना गर्ने चाहना अरु प्रवल बनेको हो मेरो ।

तर, मेरो स्वास्थ्य स्थितिका कारण त्यो चाहनालाई व्यवहारमा ल्याउनु सोचेभन्दा कठीन थियो । मेलम्ची पानीका लागि पाइप बिछ्याउन चारैतिर बाटो खनिएको छ । स्वभाविक रूपमा काठमाडौं धुलाम्मे भएको छ । घरकै पर्खालभित्र पनि ओहोरदोहोर गर्न कठीन छ, ‘मास्क’बिना । सहरको प्रदूषण घरभित्रै छिरेको, बगैँचामा रुखहरू झ्याम्मिँदै गएका र घरका पर्खाल र झ्यालहरुमा परेवाले बिस्ट्याएका अनि आमाका पाँचवटा कुकुरहरू स्वछन्द रूपमा रहेका यो घरमा आफूले चाहेको गर्नु विकराल चुनौती नै बन्न पुग्यो ।

फेरि पनि सुरुमा त मेरो काम सामान्यजस्तै लाग्यो, नेपालीले बाहिर गरिरहेका ठूला प्रयास र कामसँग दाँजेर हेर्दा । लगातार बढिरहेको प्रदूषणको आयतनदेखि प्राकृतिक प्रकोपसम्म र फोहोर नदीदेखि अझ फोहोर राजनीतिको सफाइमा दाजुभाइ, दिदीबहिनीहरु होमिएका छन् अहोरात्र, नेपालकोे पुनर्निर्माणलाई मेनुमा राखेर ।

चुनौतीहरु धेरै छन् र निरन्तर खडा छन्, चाहे त्यो घर बनाउँदा होस् वा मुलुक निर्माणमा । आखिर दृढता र प्रतिबद्धता त सबैतिर चाहिन्छ नै । मैले नेपालीहरूसँग सिकेको यही हो । परिवर्तनको सफल संवाहक बन्न केही विशेषता त हुनैपर्छ । अर्थातः

स्पष्ट दृष्टिकोण

कहाँ पुग्ने भन्ने लक्ष्य र त्यसलाई कसरी हासिल गर्ने भन्ने स्पष्टता सम्भवतः सर्वाधिक महत्वपूर्ण कदम हो । अर्थात, आफ्नो दृष्टिकोण राम्रोसँग अभिव्यक्त गर्नुमात्र पर्याप्त हुँदैन, अरुलाई आफ्नो व्यवहारबाट आकर्षित गर्नु बढी आवश्यक हुन्छ । किनकि दीगो परिवर्तनका लागि त्यसले ठूलो अर्थ राख्छ । त्यस्तो उदाहरण देखेपछि जनताले त्यो कदमको महत्व बुझ्छन् र अन्ततः त्यसलाई अँगाल्न पुग्छन् ।

आफ्नो मान्छेहरूलाई चिनौं

परिवर्तनका संवाहकले आफ्नो अभियानमा सहभागी वा सहयोगीहरूलाई चिन्छन् नै । बलपूर्वक केही हासिल गर्न सहज हुँदैन । त्यसैले हामीले कठोर प्रश्न सोध्न र सहकार्य गर्ने व्यक्तिहरू के चाहन्छन्, त्यसबारे स्पष्ट हुनैपर्छ । त्योसँगै उनीहरुका सामथ्र्य पहिचान गर्दै एउटा साझा उद्देश्य हासिल गर्ने अनेक उपाय हुन सक्छन् नै

धैर्य र अविचलितता

परिवर्तन रातारात आउँदैन । परिवर्तनबारे बुझ्नु र त्यसको कार्यान्वयनमा बढ्नुअघि जनताले त्यससम्बन्धी केही अनुभूति गर्नैपर्छ । त्यत्ति भन्दाभन्दै पनि हामीले बुझ्नुपर्छ– परिवर्तन चाहेजस्तो छिट्छिटो नहुँदा जनता निराश हुनसक्छन्। त्यो निराशाले जनतालाई अभियानबाट टाढा धकेल्न पनि सक्छ । धैर्य राख्न र परिवर्तनलाई स्वीकार गर्न पर्याप्त समय सबैले पाउनैपर्छ । अविचलित हुनु हुँदैन हामी । बरु अनुकूल परिस्थितिमा उनीहरु वा जनतालाई एक कदम भए पनि अघि बढ्न हामीले प्रेरित गर्न सक्नुपर्छ । एकैपल्ट आत्तिएर पछि हट्नु उपयुक्त हुँदैन ।

यो अनुभव र अध्ययन मेरा लागि एउटा अवसर बन्न पुगेको ठानेको छु मैले । यो अवसर हो, मेरो इच्छाशक्ति र दृढतालाई अझ बलियो बनाउने र यो योजनालाई सफलताका साथ पूरा गर्ने । यो चुनौतीका हरेक पक्षलाई प्रेमपूर्वक स्वीकार गर्न र उक्त अभियान वरिपरिका व्यक्तिहरुलाई र आफैंभित्रको कमजोर पक्षलाई चिन्नका लागि पनि यो एउटा अवसर हुनेछ ।

अहिले आएर मैले बुझेको छु– धैर्य र सहिष्णुताका साथ काम गर्नुपर्छ मैले, मेरो कामलाई अघि बढाउन । र, अन्त्यमा कर्मलाई अघि बढाउन र त्यसको नतिजाका लागि भगवानको इच्छामा भर पर्नु नै उचित हुनेछ ।

मंसिर १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्