यी मतदाताले कांग्रेस नेता गगनकुमार थापा र एमाले नेता राजन भट्टराईको प्रतिनिधिसभामा भविष्य निर्क्योल गर्नेछन् । मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा यी दुई नेता काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा उमेद्वार हुन् । उनीहरू केही सातायता चुनावी प्रचारमा व्यस्त छन् ।

नेपाली कांग्रेसभित्र गणतन्त्रको मुद्दा ल्याउने र राजनीतिक नेतृत्वमा युवालाई अवसर दिनुपर्छ भनेर बहस गर्ने स्पष्ट वक्ताका ?पमा परिचित थापाको सम्भावित जित÷हारलाई पार्टीभित्र र राष्ट्रिय राजनीतिमा उनको भविष्यसँग जोडेर हेर्ने गरिन्छ ।

थापाले आफ्नो प्रचारमा मेरो सपना मेरो सङकल्प-समुन्नत नेपाल, सम्पन्न र सम्मानित नेपाली नारा दिएका छन् । थापा लगातार दोस्रोपटक प्रतिनिधिसभा सदस्य जित्न प्रयास गर्दैछन् । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उमेद्वार निर्मल कुइँकेललाई करिब १३ हजार मतान्तरले पछाडि पारेका थिए ।

त्यतिबेला तत्कालीन माओवादी केन्द्रका उमेद्वारले केवल साढे ६ हजार मत ल्याएका थिए । त्यसअघि २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा कांग्रेसकी सुप्रभा घिमिरेले एमालेकी विद्या भण्डारीलाई करिब पाँचहजार मतान्तरले हराएर जितेकी थिइन् । यस क्षेत्रमा नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन जितेको त्यो नै पहिलोपटक थियो । २०६४ सालको संविधानसभा निर्वाचनमा थापा प्रत्यक्षतर्फ नलडे पनि समानुपातिक सूचीबाट सांसद बनेका थिए ।

वाम गठबन्धन अगाडि ४९ वर्षीय एमाले नेता भट्टराई एमाले–माओवादीसहितको बाम गठबन्धनका साझा उमेद्‌वार हुन् । अघिल्लो संविधानसभा निर्वाचनलाई आधार मान्ने हो भने बाम गठबन्धनका उमेद्वार भट्टराईभन्दा थापा अझै ६/७ हजारले मतले अगाडि छन् । गत स्थानीय निर्वाचनको मत परिणामलाई हेर्ने हो स्थिति फेरिने देखिन्छ ।
काठमाडौं क्षेत्र नम्बर ४ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० वडा पर्छन् । यसैगरी बुढानीलकन्ठ नगरपालिकाका वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा पर्छन् ।

स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका र बुढानीलकन्ठ नगरपालिका दुवैको प्रमुख पद एमालेले जितेको थियो । काठमाडौं क्षेत्र नम्बर चारभित्र रहेका कामपा वडा १ र ७ को अध्यक्ष पद एमालेले जितेको थियो भने वडा नम्बर ८ र ३० मामात्र कांग्रेसले अध्यक्ष पद जितेको थियो । काठमाडौं क्षेत्र नम्बर चारभित्र पर्ने बुढानीलकन्ठका सबै वडाअध्यक्षमा एमाले उमेद्वार विजयी भएका थिए । अर्थात काठमाडौं क्षेत्र नम्बर चारभित्र पर्ने कामपाका ४ वडा र बुढानीलकन्ठ नगरपालिकाका आठ वडामा स्थानीय निर्वाचनमा झरेको मतलाई आधार मान्ने हो भने एमाले उमेद्वारले वडाअध्यक्षमा मात्र कुल १७ हजार २ सय ३९ मतप्राप्त गरेको थियो । यसैगरी कांग्रेसले १४ हजार ७८ मतप्राप्त गरेको थियो ।

त्यतिबेला एमाले, माओवादी र कांग्रेसले छुट्टाछुट्टै प्रतिस्पर्धा (वडास्तरमा) गरेका थिए । अहिले माओवादी र एमालेसहितका कम्युनिष्ट पार्टीहरूको चुनावी प्रयोजनार्थ बाम गठबन्धन छ । माओवादी उमेद्वारले पाएको समेत मत जोड्दा कांग्रेस उमेद्वार ४१ वर्षीय थापालाई सजिलो नहुने निश्चित छ ।यसकारण बाम गठबन्धन उमेद्वार भट्टराई उत्साही हुने धेरै ठाउँ छ । उनीहरू दुवैबीचको समानता भनेको उनीहरू काठमाडौंका रैथाने होइनन् । गगन सोलुखुम्बुबाट र राजन सिन्धुपाल्चोकबाट बसाइँ सरी यस क्षेत्रमा आएका हुन् ।

विद्यार्थी राजनीतिबाट आएका थापा पछिल्लोपटक प्रचण्ड प्रधानमन्त्री छँदा स्वास्थ्यमन्त्री समेत भइसकेका छन् । त्रिचन्द्र कलेजका पूर्वस्ववियू सभापति, कांग्रेसनिकट नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री समेत रहेका थापा २०६७ सालमा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए । गगनले बागी उमेद्वारीबाट त्रिचन्द्रको स्ववियु सभापति जितेका थिए । उनी पछिल्लो कांग्रेस महाधिवेशनमा पार्टीको महामन्त्री उम्मेदवार बनेका थिए । संसद र संसदीय समितिमा उनको उपस्थिति बलियो रहने गरेको थियो । थापा राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण हुन् ।

उनले आफ्नो प्रचार सामग्रीमा चार वर्ष संविधान सभामा रहँदा गरेका काम, काठमाडौं क्षेत्र नम्बर ४ का लागि गरेका काम, अबको पाँच वर्षका लागि प्रतिबद्धता समाबेश गरेका छन् । नौ महिना स्वास्थ्यमन्त्री रहँदा गुणस्तरीय स्वास्थ्यको आधार तयार गरेको दाबी गर्दै उनी आफ्नो क्षेत्रका लागि पनि सक्दो प्रयास गरेको बताउँछन् ।

‘सरकारको ढुकुटीबाट सडक पूर्वाधारमा मात्रै यस क्षेत्रमा करिब चार अर्ब रकम विनियोजन भएको छ, जुन सम्भवतः देशभरिका निर्वाचन क्षेत्रहरूमध्ये सबैभन्दा धेरै होला । त्यसबाहेक ढल, खानेपानीलगायत अन्य पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, खुल्ला क्षेत्र–पार्क, मठमन्दिर, नयाँ सहरी केन्द्र, निर्माण आदिमा केही काम सम्पन्न भइसकेका छन्, कपनमा विशेषज्ञ डाक्टरसहितको १५ बेडको अस्पताल र बुढानीलकन्ठमा ५० बेडको नमूना अस्पताल निर्माण गर्ने कार्य सुनिश्चित भएको छ’, थापाको दाबी छ ।

थापाले आफ्नो प्रचार सामग्रीमा अबको पाँचवर्षभित्र काठमाडौंलाई सडक, यातायात, खानेपानी, फोहोर, वायु प्रदूषणको समस्याबाट बस्न योग्य र सुन्दर राजधानीमा परिणत गर्ने बताएका छन् । ‘अबको १५ वर्षभित्र उन्नतिपथमा तीव्र फड्को मारिरहेको देश हामीले आउँदा पुस्तालाई सुम्पने दायित्वबोधका साथ मेरो सक्रिय राजनीतिक जीवन अबको १५ वर्षमात्र रहने छ । त्यसपछिको शान्त र समृद्ध देशलाई नयाँपुस्ताले नयाँ सोच र योजनासाथ अगाडि लैजान पाउनुपर्छ । यो मेरो संकल्प हो’, थापा भन्छन् ।

बाम गठबन्धन उमेद्वार भट्टराई पनि विद्यार्थी राजनीतिबाट आएका हुन् । एमाले निकट अनेरास्ववियुका विदेशविभाग प्रमुख रहेका भट्टराई त्यसपछि अध्ययनका लागि लन्डन पुगेका थिए । भारतको जवाहरलाल नेह? विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय अध्ययन विषयमा विद्यावारिधि गरेर फर्किएपछि उनी एमालेको विदेश विभागमा रहेर काम गरिरहेका छन् ।

माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उनको परराष्ट्र मामिला सल्लाहकार भएर पनि काम गरेका थिए उनले । २०७० को संविधानसभा निर्वाचनपछि मन्त्रिपरिषद बैठकले विज्ञका ?पमा उनलाई संविधानसभा सदस्यमा ल्याएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिने भट्टराईले चुनावी अभियानका क्रममा यसअघि छानिएका प्रतिनिधिले जनताको न्यूनतम समस्या पनि समाधान गर्न नसकेको आरोप लगाउने गरेका छन् ।

‘राज्यले न्यूनतम रूपमा पूरा गर्नुपर्ने कुराह? यस क्षेत्रका जनताले अझै अपेक्षा गरेर बस्नु परेको छ । स्वस्थ हावा, खानेपानी, सडक अझै पनि जनताले कुरेर बसिरहनु परेको छ। यसबाट कसैले पनि आफूलाई सफल नेता हुँ भन्ने नठाने हुन्छ’, भट्टराई भन्छन् ।

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलपछि बनेको बाम गठबन्धनले बहुमत प्राप्त हुने र स्थायी सरकार बन्ने दाबी गरिरहेको छ । भट्टराई पनि चुनावपछि स्थायी सरकार बन्ने दाबी गर्छन् । ‘मैले भनेअनुसार गर्न सकिन वा यहाँको अवस्था यही रह्यो भयो पाँचवर्षपछि चुनाव लड्न फेरि आउँदिन’, भट्टराई भन्छन् ।

मंसिर १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्