पहिलो आमनिर्वाचन संस्मरणः ‘जनताले नै नेतालाई भात खुवाउँथे’

नेपालमा चन्द्रशमशेरले पहिलोपटक निर्वाचनको परिकल्पना गरेको पाइन्छ। उनले सोचेछन्, ‘जंगबहादुर हुँदा जनता भेंडा थिए, वीरशमशेरको पालामा जनता साँढे भए, मेरो पालामा सिंह भएका छन्, पछि के हुने हुन् । म पछिको प्रधानमन्त्रीले कसरी धान्छ ?’ त्यस्तो सोचले उनले केही सुधार गर्न खोजेछन् । त्यही सोच अनुरूप आजभन्दा १ सय ३ वर्षअगाडि म्युनिसिपालिटीको चुनाव गर्ने धारणा ल्याएछन् ।
त्यो चुनाव कसरी भयो, के भयो थाहा छैन । पछि २००४ सालमा पद्मशमशेरको पालामा ‘नेपालको वैधानिक कानुन’को नाममा पहिलो संविधान आयो । त्यसमा म्युनिसिपालिटी (नगरपालिका)को चुनावको बन्दोबस्त रहेछ । उक्त चुनावमा २५ वर्ष उमेर पुगेको पुरूषले उम्मेदवारी दिन पाउने र २१ वर्ष उमेर पुगेको पुरूषले मतदान गर्न पाउने प्रावधान बनाइएको रहेछ । त्यसै अनुरूप चुनाव भएछ ।
नेपालमा चुनावको पृष्ठभुमि यही हो । २००७ सालको परिवर्तनपछि त देश प्रजातान्त्रिक प्रक्रियामा गइहाल्यो । सात सालको संविधानले विधान सभाको चुनाव हुने भनेको थियो। तर, लामो समयसम्म चुनाव भएन । विभिन्न सरकार परिवर्तन भए । राजनीतिक आन्दोलनहरू भए । अन्ततः ०१५ सालमा चुनाव हुने भयो । तर, संविधान सभाको चुनाव हो कि संसदको टुंगो हो, निर्क्यौल थिएन । चुनावको घोषणा भयो । चुनाव हुने भयो । तयारी पनि शुरू भयो । फागुन एक गते संविधान (नेपालको अधिराज्यको संविधान, २०१५) आयो । संविधानले संसदको चुनाव भन्यो । छ दिनमै फागुन सात गते चुनाव भयो । भित्रभित्रै सबै तयारी रहेछ, सर्वसाधारणलाई मात्रै थाहा थिएन ।
यति लामो समयसम्म चुनाव नहुनुको मुख्य कारक राजा महेन्द्र थिए । उनलाई चुनाव गर्यो भन काँग्रेसले जित्छ भन्ने डर थियो । पछि चुनाव गरे पनि काँग्रेसले ३५, ४० सिटभन्दा बढी जित्दैन भन्ने रिपोर्ट पुग्यो । अनि मात्र चुनाव गर्न राजा तयार भएका हुन् ।
चुनावमा काँग्रेसले नजितोस् भनेर जमिनदारहरुले भित्रभित्र धेरै मेहनत गरे । त्यतिबेला काँग्रेसको हाराहारीमा प्रतिस्पर्धा गर्ने पार्टी गोर्खा परिषद् थियो । चुनाव चरणबद्ध भयो । त्यतिबेलाको चुनाव अहिलेजस्तो थिएन । मतपत्रमा भोट हालेर मतबाकसमा खसाउन हुन्थेन । एउटा सादा कागज नै मतपत्र हुन्थ्यो । बन्द कोठामा बेग्लाबेग्लै पार्टीका बेग्लाबेग्लै रङका बाकस हुन्थे । मतपत्र लिएर मन परेको दलको रङको बाकसमा खसाएर मतदान गरिन्थ्यो । त्यतिबेला पुरुष महिला दुवैले भोट खसाल्न पाउँथे ।
“त्यतिबेला नेतासँग ठाडो कुरा गर्न सक्ने मान्छे थिएनन् । तर, नेतासँग जनताको पहुँचचाहिँ थियो । अहिलेजस्तो तह तहका नेताहरु थिएनन् । पत्रकार आए भनेर उहाँहरु खुशी हुनुहुन्थ्यो ।जिल्ला, गाउँमा पत्रकार नै थिएनन् । केन्द्रीय नेताहरुले चाहिँ चुनावको समयमा पत्रकार खोज्थे ।सांसदहरुमा आपसमा स्नेह, मितव्ययिता, सद्भाव, आत्मीयता थियो । ठेकेदार बाहुबली कम थिए ।”
जनता थोरै थिए । ४२ लाख ४६ हजार तीन सय ६८ मात्र मतदाता थिए । प्रतिनिधिसभाका लागि एक सय नौ निर्वाचन क्षेत्र छुट्टाइएको थियो । माइकमा पर्चा पम्प्लेट मार्फत् प्रचारप्रसार गर्थे । अहिलेजस्तो आचारसंहिता नै थिएन । नेताहरूले कसैलाई भोज खुवाउनु पर्दैनथ्यो । जनताले नै नेतालाई भात खुवाउँथे । बेला हेरेर नेता कार्यकर्तालाई जनताले खाजा खुवाउँथे । घरघरमा चिया खुवाउने चलन थिएन । पार्टीलाई चन्दा दिन्थे । अहिलेजस्तो भोटरलाई पैसा दिन पर्दैनथ्यो । जनताले नेतालाई माया गर्थे । पार्टीका कार्यकर्ताको गरिमा र सम्मान थियो, जनताका माझमा ।
राणा शासनबाट वाक्क भएका मान्छे थिए । नेताले प्रजातन्त्रको भाषण राम्रा राम्रा गर्थे । सुन्दर आकर्षक सपना देखाउँथे । हो कि त गर्छन् कि त भन्ने जनतालाई लाग्थ्यो । विर्ता प्रथा जस्ता चरम शोषण थिए । विर्ता शोषितहरु यो प्रथा उन्मूलन होस् भन्ने चाहन्थे । पार्टीहरुले विर्ता उन्मूलन गर्छौँ भनेर भाषण गर्थे । त्यो जनताले पत्याए, पछि उन्मूलन पनि भयो ।
त्यतिबेलाको चुनाव अहिलेजस्तो खर्चिलो थिएन । चुनाव लड्न अहिलेजस्तो धेरै पैसा चाहिँदैनथ्यो । आवेदन धरौटी २५० रुपैयाँ थियो । दरखास्त दिएको दिनदेखि चुनावसम्म पाँच हजार रुपैयाँभित्र टार्न पर्थ्यो। पुग्थ्यो पनि । काठमाडौंमा चुनाव रोचक भएको थियो । म त त्यतिबेला नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता पनि थिएँ । निर्वाचन क्षेत्र नं. ४ भक्तपुरबाट गणेसप्रसाद मानन्धर उठेका थिए । म उनकै प्रचारमा संलग्न थिएँ ।
काठमाडौं क्षेत्र नं. १ मा पुष्पलाल र गणेशमान प्रतिस्पर्धी थिए । अहिलेजस्तो बागी उमेदवार उठाउने चलन त्यतिबेला पनि थियो । गणेशमानले पुष्पलाललाई हराउन लाल सिंह भन्नेलाई उठाउनुभएछ । गणेशमानलाई हराउनलाई पूर्णबहादुर एमएलाई उठाएछन् । त्यस्तै विराटनगरबाट उठेका विश्वेश्वरप्रसाद कोइरालालाई हराउन राजाले अवधनारायण सिंह र दिलबहादुर श्रेष्ठलाई उठाएछन् ।
पहिलो आमनिर्वाचन र शिशु प्रजातन्त्र भए पनि त्यतिबेलाका नेताले अहिले जसरी एक अर्कालाई गाली गर्दैनथे । आलोचना हुन्थ्यो । अहिले त जथाभावी गाली गर्न थाले । नेता प्राय: मर्यादामा बसेर गाली गर्थे । केआइ सिंह चाहिँ अपवाद हुन् । उनले अलि कडा भाषण गर्थे । गाली गर्ने शब्द पनि यति धेरै थिएनन् । कम्युनिष्टले काँग्रेसलाई पुँजीवादी पार्टी, यसमा जमिनदार र विर्तावालहरु छन्, यसले काम गरेर खाने जनताको हित गर्दैन भनेर आलोचना गर्थे । काँग्रेसले चाहिँ कम्युनिष्टले बुढाबुढीलाई मार्छ भन्दै आलोचना गर्थे ।
बिपी भाषण गर्न निकै सिपालु थिए । तै पनि कम्युनिष्ट नेताको जस्तो हुँदैनथ्यो । मनमोहन अधिकारीको भाषण एक नम्बरको हुन्थ्यो । साह्रै गतिलो भाषण । सूर्यप्रसाद उपाध्यायको भाषण पनि राम्रो हुन्थ्यो । विपीको टु दी प्वाइन्ट भन्ने भएकाले उनको भाषण भन्नासाथै मान्छे लठ्ठ हुन्थे ।फागुन सात गतेदेखि सुरु भएको चुनावको अन्तिम मतदान १६ साल वैशाख २१ गते भयो । अन्तिम मतगणना २७ गते भयो ।
करिब अढाइ महिनामा चुनाव र मतगणना सकियो । जुन ठाउँमा मतदान हुन्छ, बेलुकादेखि नै मतगणना सुरु हुन्थ्यो । त्यही कारणले नेपाली काँग्रेसले दुइ तिहाइ सिट जित्यो। काँग्रेसले जित्यो भन्ने खबर पुग्दै गएपछि अरु ठाउँमा पनि उसलाई भोट हाल्नेहरु बढे । अहिले पनि जित्नेलाई भोट हाल्नुपर्छ, खेर फाल्न हुँदैन भन्ने मानसिकता छ । त्यतिबेला पनि थियो । एकै दिन भोट हालेर मतगणना भएको भए ७४ सिट आउने सम्भावना थिएन । पूर्वतिरबाट घुम्दै गएर गुल्मी बागलुङतिर सबभन्दा पछि चुनाव भएको थियो । मत चाहिँ १७ लाख ९१ हजार तीन सय ८१ खस्यो । १९ सिट गोर्खा परिषद्ले, चार सिट नेपाल कम्युनिष्ट पार्टीले, अरु कोहिले दुइ तीन एक गरी जिते ।
भ्रष्ट भयो राजनीति
त्यतिबेला नेतासँग ठाडो कुरा गर्न सक्ने मान्छे थिएनन् । तर, नेतासँग जनताको पहुँच चाहिँ थियो । अहिलेजस्तो तह तहका नेताहरु थिएनन् ।मैले पत्रकारिता गर्दा त्रिपुरेश्वरमा तराई पार्टीका बेदानन्द झा, वीर हस्पिटल पछाडि डिल्लीरमण रेग्मी र कमल पोखरीमा विपीलाई भेट्न प्राय जान्थेँ । सजिलो पहुँच थियो । ब्रेकफास्ट खान ज्ञानेश्वरमा गयाप्रसाद शाहकहाँ जान्थेँ । पत्रकार आए भनेर उहाँहरु खुशी हुनुहुन्थ्यो ।जिल्ला, गाउँमा पत्रकार नै थिएनन् । केन्द्रीय नेताहरुले चाहिँ चुनावको समयमा पत्रकार खोज्थे ।
सांसदहरुमा आपसमा स्नेह, मितव्ययिता, सद्भाव, आत्मीयता थियो । ठेकेदार बाहुबली कम थिए ।
त्यो बेलामा राजनीति गर्ने मान्छेहरुको हातमा राजनीति थियो । अहिलेको राजनीति गर्ने नेताहरु जिम्मेवार भएनन् । आफ्ना छोरा श्रीमतीतिर हस्तान्तरण भयो । बिपीले कुनै पनि छोरालाई आफ्नो उत्तराधिकारी बनाउन खोजेनन् ।अहिले चुनाव खर्चिलो भयो । पैसा नहुनेले चुनाव नै लड्न सक्दैनन् । २५ लाख रुपैयाँ सोझै खर्च गर्न पाइने भो । यो रकम नेपाली जनताको हकमा सानो पैसा होइन । यसको मतलब पैसा हुनेले मात्र राजनिति गर भनेको हो । शासनमा जान खोज्ने हो भने पैसा कमाउनुपर्यो। नेतृत्वले जनतालाई बिगार्यो। पैसाको लोभी गरायो ।
पहिला जनताले पाँच रुपैयाँ दिँदा निकै ठूलो रकम हुन्थ्यो । कार्यकर्तामा राजनीतिप्रति आस्था थियो । सके आफैँले खर्च गर्थे, नभए आफ्नो हात तल गर्दैनथे । अहिले त उल्टो हुँदैछ । अहिलेका कार्यकर्तालाई भिआइपी रेष्टुरेन्टमा खुवाउनुपर्छ । यसले गर्दा चुनाव खर्चिलो भयो ।
राजनीतिमा भ्रष्टाचार पञ्चायतले लिएर आएको हो । पञ्चायतमा खाना नखाई राजनीति गर्ने मान्छे कम थिए । नगद चाहिँदैनथ्यो । अहिले खाना खाइकन नगद, पेट्रोल सबै चाहियो । ०४८ सालको चुनावसम्म धेरै पैसा खर्च गर्ने चलन थिएन । गिरिजाप्रसाद कोइरालाले गराएको मध्यावधि चुनावदेखि खर्च बढ्न थाल्यो । अहिले त ठेकेदारहरु नै संसदमा छन् । राजनीतिलाई पैसाले खेलाउने भयो ।
उतिबेला कुनै लिखित निर्वाचन आचारसंहिता थिएन । तर, नेता र जनताको व्यवहारमा थियो । अहिले लेखिएको छ तर व्यवहारमा कहिँ देखिँदैन । प्रधानमन्त्री स्वयंले नै उल्लंघन गर्नुभयो । निर्वाचन आयोग पनि पार्टीका कोटामा छन् । यो चुनाव हेर्दा आशा गरेका मान्छेहरु आउँदैनन् । बाहुबलि धनबली डाँको ठूलो भएको नै आउने हुन् । नयाँ पुस्तामा केही आशालाग्दा अनुहार छन् । राम्रा उमेदवारहरु नै प्रतिद्वन्द्वी छन् । दुवै आए कति राम्रो हुन्थ्यो । नेताहरु आफैँले खाल्डो खनेका छन् । जनताले सोचेजस्तो राजनीति हुनलाई सायद अझै अर्को संघर्ष गर्नुपर्छ कि ?
यो पनि पढ्नुस्..