पैसा बाँड्ने पार्टीको प्रचारमा हिँड्दैनौँ

काठमाडौं-अर्घाखाँचीका सुदीप पन्थी, कीर्तिपुरका जयन्त रेग्मी र दाङका सुदीप घिमिरे मेगा कलेजका बीबीएस तेस्रो वर्षका विद्यार्थी हुन् । फरक निर्वाचन क्षेत्रका यी युवा पहिलोपटक प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा भोट खसाल्दै छन् ।पछिल्लो पुस्ताका युवामा राजनीतिप्रति चासो निकै कम देखिन्छ । सुदीप भने आफ्नो क्षेत्रका उमेद्वारबारे जानकार छन् । कसलाई भोट दिने भन्‍ने विषयमा पनि प्रस्ट छन् उनी । उनलाई त्यस क्षेत्रको राजनीतिक पृष्ठभूमि र यो चुनाव केका लागि हुन लागेको भन्ने पनि ज्ञान छ ।

जयन्तलाई आफ्नो क्षेत्रको राजनीतिक पृष्ठभूमिबारे केही ज्ञान भए पनि त्यसबारे पूर्ण जानकार छैनन् । स्थानीय तहको चुनावमा उनी पार्टीको प्रचारप्रसारमा हिँडेका थिए । पार्टीको विषयमा सचेतता देखाउँदै भने, ‘पैसा बाँड्ने पार्टीको प्रचारमा चाहिँ हिँड्दैनौँ ।’ यसअघिको चुनावभन्दा यसपालिको चुनावको माहोल उनलाई मन परेको छ । पुराना पार्टीदेखि वाक्क भएर होला, ‘अब नयाँलाई मौका दिनुपर्छ’ भन्छन् । पार्टीभन्दा व्यक्ति छान्‍ने ट्रेन्ड अब आफ्नो जेनेरेसनले सुरु गर्ने उनको विश्वास छ ।

सुदीपलाई आफ्नो क्षेत्रका उमेद्वारहरुबारे केही थाहा छैन । चुनावको दुई तीन दिनअघि नै गएर राम्रोसँग माहोल बुझ्‍ने योजनामा छन् । भन्छन्, ‘गएर दुई दिन घुमेपछि राम्रोसँग बुझिन्छ, कुन नेता कस्तो भन्‍ने पनि थाहा भइहाल्छ ।’ चाबहिलकी रक्षा गौतम २७ वर्षको उमेरमा यसपालि पहिलोपटक मतदान गर्दैछिन् । पेशाले बैँकर हुन् ।

यसअघिका चुनावमा उनलाई कहिल्यै रुचि भएन । स्थानीय चुनावमा समेत मतदान गरिनन् । राज्यप्रति धेरै गैरजिम्मेवार भएको उनले महसुस गरेकी छन् । यसपालि एक जिम्मेवार नागरिक बन्दै मतदान गर्दैछिन् । यसअघि चुनावको विषयमा यति धेरै ‘मास क्याम्पेन’ भएको थिएन । यसपालिको माहोल फरक छ । सामाजिक सञ्जाल, रेडियो, टिभी सबैतिर चुनाव मात्र छाएको छ । सबैतिर चुनावी छलफल देख्दा र सुन्दा नेताहरुको विषयमा उनले राम्रो अध्ययन गर्न पाएकी छन् ।

‘ विश्‍वास गरे अवश्य परिवर्तन हुन्छ, लोडसेडिङ पनि हट्दैन भन्दा भन्दै हट्यो त। त्यसैले पैसा बाँड्ने पार्टीको प्रचारमा चाहिँ हिँड्दैनौँ । पार्टीभन्दा व्यक्ति छान्‍ने ट्रेन्ड अब आफ्नो जेनेरेसनले सुरु गर्नेछौ।’

विवाहिता हुन् उनी तर परिवारले अहिलेसम्म उनीमाथि कुनै राजनीतिक विषय थोपर्न चाहेन । भन्छिन्, ‘फ्यामिलीमा कहिल्यै भोट हाल्नुपर्छ भनेर सिकाइएन, कुनै नेताको पछि लाग्न पनि सिकाउनुभएन ।’ कुनै पार्टीको पृष्ठभूमिबाट नआएको हुनाले उनी नयाँ सोच बोकेको व्यक्तिलाई चुन्ने बताउँछिन् । आफ्नो भोट खेर नजाने र अब चाहिँ देशमा केहि राम्रो होला भन्नेमा विश्वस्त छिन् । भन्छिन्, ‘विश्‍वास गरे अवश्य परिवर्तन हुन्छ, लोडसेडिङ पनि हट्दैन भन्दा भन्दै हट्यो त ।’

पुतलीसडककी कृति पिया पनि बैँकर हुन् । विदेशमा अध्ययन सकेर केही समयीअघि मात्र नेपाल फर्केकी २७ वर्षीया कृति देशको राजनीतिक अवस्थाबारे अनभिज्ञ छिन् । उनलाई केका लागि चुनाव हुँदैछ, कोको नेता छन् केही पनि थाहा छैन ।

२१ वर्षीय रोशन भण्डारी देशको पद्धतिसँगै असन्तुष्ट छन् । बुवाको नागरिकतामा समस्या भएकाले अहिलेसम्म उनको पनि नागरिकता बनेको छैन । समस्या के होचाहिँ भन्न चाहेनन् । आफ्नै व्यवसाय गरिरहेका रोशनलाई नेताहरुको भाषण सुन्दा नै दिक्क लाग्छ । भन्छन्, ‘बोलेका कुरा केही पुर्‍याउँदैनन् ।’ नेताले बोलेजति सबै कार्यान्वयन हुने भए चुनावतिर उनको ध्यान जान्थ्यो होला । आफूलाई राज्यको पद्धतिले अन्याय गरेको मान्ने उनी कत्ति पनि आशावादी छैनन् ।

कुल मतदाता एक करोड ५४ लाख २७ हजार नौ सय ३८ जनामध्ये १८ देखि २४ वर्ष उमेर समूहका २२ लाख ८० हजार नौ सय १२ र २५ देखि ४० वर्ष उमेर समूहका ५७ लाख ९० हजार चार सय ५७ मतदाता छन् ।

नेपालमा युवा जनशक्ति सबैभन्दा धेरै छ । नीति निर्माताहरु नै भन्छन्, युवा शक्ति परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने हो । मुलुकको आर्थिक विकासका लागि अत्यावश्यक मानिने स्रोतमध्ये युवा जनशक्ति धेरै विदेशिएको छ । स्वदेशभित्रै भएका यस्ता युवालाई आकर्षक योजना दिन राजनीतिक दलहरु पटकपटक चुकेका छन् । राजनीतिक दलहरुको कार्यक्रम, घोषणापत्र र आगामी योजनाहरुले युवाहरुको समस्या सम्बोधन गर्लान् ?

मंसिर १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्