‘भारतले नेपालमा विध्वंश मच्चाउन माओवादीलाई सहयोग गरेको हो’

आफ्नो अडान र मान्यता जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सडक र सदनमा प्रस्तुत गर्न नहिच्किचाउने एउटा शक्ति हो नेपाल मजदुर किसान पार्टी र त्यसका नेता नारायणमान बिजुक्छे । नेपालको सत्ताकेन्द्रित राजनीति र संस्कृतिलाई चुनौती दिँदै उनले निर्वाचन राजनीतिबाट अलग हुने निर्णय गरेका छन् । तर, मुलुकका समस्यालाई पहिचान गर्न र त्यसलाई जनताबीच पुर्‍याउने दायित्वमा पछाडि नपर्ने उनले बताएका छन् । त्यही दायित्वको अभिव्यक्तिको क्रममा देशसञ्‍चारका सम्पादक युवराज घिमिरेसँगको अन्तर्वार्ता ।

नेपालको राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको चाहनामा यो चुनावले के अर्थ राख्छ ?

प्रजातान्त्रिक मुलुकमा बेलाबेला निर्वाचन हुनु राम्रो हो । यो चुनाव आवधिक हो । जहाँसम्म समृद्धि र स्थायित्वको कुरा छ, त्यो सरकारमा बस्‍ने पार्टीले लिने नीति, कार्यक्रम र कार्यान्वयनमा भर पर्छ । तर, आवधिक चुनाव हुँदैमा देशको समृद्धि र विकास हुन्छ भन्‍ने छैन । यो साँचो भइदिएको भए अहिलेसम्म संसारबाट गरिबी हटिसक्थ्यो । नेपालको समृद्धि पनि चुलिन्थ्यो । यहाँ पञ्‍चायत ढलेपछि समृद्धि आउँछ भनियो । तर हामी समृद्धिको छेउसम्म पनि पुग्‍न सकेनौ ।

निराशाको तपाईंको यो अभिव्यक्तिले जनताको मनोबल कसरी माथि उठाउन सकिन्छ, चुनौती बनेको देखिँदैन ?

यो निराशाको अभिव्यक्ति होइन । तर यो स्थितिबारे हामीले जनतालाई समयमै बताउनुपर्छ । यही स्थितिबाट हामी कसरी अघि बढ्ने भन्‍नेबारे जनतामा उत्साह जगाउनुपर्छ । यो चुनावलाई हामीले त्यसरी लिएका छौं । सरकारमा जानेहरूले चुनावमा हारजितको कुरालाई मात्रै अघि बढाए । हामी अहिलेसम्म किन पछि पर्‍यौं भन्‍ने उनीहरुलाई चासो भएन । यस्तो गर्नेहरुको विरुद्धमा हामी उभिँदै आएका छौँ । र, पुँजीवादी व्यवस्थालाई पनि उदांगो बनाउने काममा हामी लागिरहेका छौं ।

जहाँसम्म वामपन्थी छन्, उनीहरुको नाममात्र कम्युनिष्ट पार्टी छ । व्यवहार उल्टो छ । वामपन्थी भनेको प्रतिपक्षी हो । प्रतिपक्षीले सरकारमा बस्दै वामपन्थी गठबन्धन बनाउन मिल्दैन । एमाले वामपन्थी भएको भए किन सबै सरकारी विधेयकलाई समर्थन गर्थ्यो ?

राजनीतिक नेतृत्वमा जनताको विश्वास गुमेको छ । के जनता पूर्वाग्रही भएका हुन् ?

२००७ सालदेखि सरकरको सबैभन्दा धेरै नेतृत्व गर्ने पार्टी नेपाली कांग्रेस हो । तर, आफ्नो पृष्ठभूमि र विचार जे भएपनि व्यावहारमा उनीहरु खरो उत्रिन सकेनन् । यहाँमात्र होइन, छिमेकी मुलुक भारत स्वतन्त्र भएको ७० वर्ष भयो । अहिलेसम्म पनि ५० करोड जनता एक छाक मात्रै खाएर बचेका छन् । संसारमा सबैभन्दा धेरै किसानले आत्महत्या गर्ने मुलुक पनि भारत बनिरहेको छ । र, झण्डै आधा जनता बेरोजगार छन् त्यहाँ । त्यस्तो हुनुको पछाडि पुँजीवादी व्यवस्था नै हो । यो व्यवस्था रहेसम्म नेपाललगायत सबै मुलुकमा यो समस्या रहिरहने छ ।

हाम्रो मुलुक त धेरै सानो छ र यहाँ जनता पनि थोरै छन् । नेपालमा पनि पुँजीवादी व्यवस्थाले समस्या निम्ताएको हो । केही गर्छु भन्‍नेहरुले पनि गर्न नसकेको कारण त्यही हो । अहिले भ्रष्टाचार अर्को प्रमुख समस्या बनेको छ । १० करोड रुपैयाँको ठेक्कामा कुनै काम लियो भने अहिले राजनीतिक दलका नेताहरुले ५ करोड बाँडेर सिध्याउँछन् । १० वर्षपछि त्यसैलाई २० करोड पुर्याएर काम सक्छन् । नाफाका निम्ति काम गर्ने वा राजनीति गर्ने चलन छ यहाँ । पैसा कमाउन राजनीति गर्ने गरिएकाले उनीहरुको नेतृत्वको विश्‍वास गुमेको हो ।

प्रतिपक्षीको भूमिकालाई प्रजातन्त्रको राम्रो पक्ष मानिन्छ । नेपाली कांग्रेसले राम्रो काम गरौंला भन्‍ने धारणा राख्दाराख्दै पनि काम गर्न सकेन । उदाहरणका लागि विद्यालय नजाने बालबालिकालाई आमाबुवाले चकलेट दिएर फकाउँछन् । तर हरेक दिन चकलेटमात्रै खुवाउँदा बालबालिकाहरूको दाँत किराले खान्छ । दाँत बिग्रियोस् भनेर चकलेट दिएको त होइन नि ?

त्यसैगरी नेपाली कांग्रेसले केही राम्रो काम गर्छु भन्दाभन्दै पनि त्यस्तै भयो । त्यो बेला आलोचनात्मक ढंगबाट कामको मूल्याङ्कन गर्ने काम प्रतिपक्षीको हो । आलोचनात्मक ढंगबाट हेर्न नसक्‍ने र जसलाई जति बेला पनि समर्थन जनाउने गर्यो भने प्रतिपक्षको धर्म त निर्बाह भएन नि ? त्यतिमात्र होइन, संसदमा गणपूरक संख्या नपुगेको बेला समेत होहल्ला नगर्ने प्रतिपक्षको कुनै अर्थ छैन ।

एकपटक तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङले हामीलाई बोल्नै दिनु भएन । उहाँले प्रष्ट भाषामा भन्‍नुभयो, ‘तपाईंलाई थाहा हुनुपर्छ सभामुख भनेको सदनमा तानाशाह हुन्छ ।’ हामीले तानाशाहलाई समाप्त गरेर आएको हो, नयाँ तानाशाह कसरी मान्य हुन्छ ? हामीले चुनौती दियौं । बेलायतमा सभामुख हुन मान्दैन थिए नेताहरु । सबै जना भागेर हिँड्थे । किनभने गलत निर्णय दिएपछि उसलाई प्रतिपक्षीले बाहिर निकाल्थे ।

पाकिस्तानमा त सभामुखको हत्यासमेत भयो । त्यसैले सभामुख जहिले पनि तटस्थ हुनुपर्छ । हामीले आफ्नो कुरा सदनमा बोल्न नपाएपछि प्रजातान्त्रिक मुलुकमा बोल्ने कहाँ? सभामुख प्राध्यापक हुने र अरु सांसदहरु विद्यार्थी हुने काम कहिल्यै गर्नु हुँदैन । ऐनमा सदनमा सबैलाई बोल्न पाउने अधिकार छ । सानो पार्टी र थोरै सांसद भएकै कारण सदनमा बोल्नै नदिने भन्‍ने पनि हुन्छ र ? नेपालमा सदनलाई हात उठाउने एउटा मेसिनको रुपमा प्रयोग गरियो ।

‘वेस्ट मिन्स्टर सिस्टम’ मा दोस्रो पार्टी प्रतिपक्षीमा बस्छ । त्यसैकारण एमाले र नेपाली कांग्रेस सँगै बस्न मिल्दैन । कि त चीनमा जस्तै सबै पार्टी सरकारमा जाने व्यवस्था हुनु पर्यो कि नेपालमा ‘वेस्ट मिनिस्टर सिस्टम’को काम छैन भन्‍नु पर्‍यो ।

हाम्रो संविधान त हात उठाएरै बन्यो नि हैन ?

छलफल त भएको हो । तर अन्तमा निर्णय लिने बेला तलमाथि भयो । सदस्यहरुलाई हात उठाउने मेसिनका रुपमा मात्रै प्रयोग गरियो । उनीहरुलाई मेसिन बनाउन हुन्न । एक जनाले त यतिसम्म भन्‍नुभयो,  ‘हेड’को काम छैन हेण्डको मात्र छ । समग्र प्रक्रियामा संवेदनशीलताको अभाव देखियो ।

६२/६३ को आन्दोलन र परिवर्तनपछि जसरी राजनीतिक सहमतिको अवधारणा र व्यवहारलाई अगाडि बढाइयो, त्यहीँबाट प्रतिपक्षको अवमूल्यन सुरु भएको होइन र ?

सहमतिको विषयलाई बहुमतमै राख्‍नुपर्छ भन्‍ने आवाज मैले उठाएको हो । कहिलेकाहिँ सहमति शब्दको दुरुपयोग हुन्छ भन्‍ने थाहा पाएरै मैले बहुमतमा अडान लिएको थिएँ । तर मेरो आपत्तिलाई बेवास्ता गरियो । तराई आन्दोलन र नागरिकताको विषयलाई लिएर यसले दुःख दियो । त्यही सहमतिका आधारमा तीन जनाले हस्ताक्षर गरेपछि सबैले नागरिकता पाउने भए । एकदमै गलत छ यो । त्यसबारे हामीले बारम्बार विरोध गरेका हौं । पहिला सबै पार्टी मिलेर आन्दोलन गरेको हो भन्‍ने थियो, त्यो पनि हटाइयो संविधानबाट । तर हामीले आफ्नो कुरा राख्‍न छाडेनौँ ।

एकचोटि राप्रपाका सदस्य चन्द्र गुरुङलाई सदनमा बोल्न दिइएन । अहामीले त्यसको विरोध गर्‍यौ । उहाँले राजा चाहिन्छ भन्‍नु होला, संसदमा अधिकार त छ नि बोल्ने । राजा चाहिन्न भनी जवाफ दिने काम हाम्रो हो । सभामुखले कसैलाई बोल्नबाट रोक्‍न हुन्छ ? गुरुङले पछि राजाबारे लेखेर दिनुभयो । हामीले हाम्रो पत्रिकामा उहाँका वक्तव्य छापिदियौं । प्रजातन्त्रमा बोल्न दिनुपर्छ । त्यो त विश्‍वासको कुरा हो । बेलायतमा कन्जरभेटिभ पार्टी त छ नि । वादविवादले चिन्तनलाई अघि बढाउँछ ।

तपाईंको पार्टीले सदनभित्र र बाहिर जनताको मुद्दालाई गहिरो तरिकाले उठाउँदै आए पनि किन एउटै जिल्लामा सीमित हुनुहुन्छ ?

हाम्रो संगठन भक्तपुरभन्दा जुम्ला, हुम्ला, मुगु र चितवनलगायत क्षेत्रमा धेरै राम्रो छ । हामीले चितवनमा सबैभन्दा राम्रो काम गरेको हो । कम्युनिष्ट भन्‍नेहरु र अन्य पार्टी मिलेर हामीलाई धोका दिएका छन् । त्यहा हाम्रोविरुद्ध षड्यन्त्र भइरहेको हामीले थाहा पायौं । त्यहाँ एमाले भनेको वाममोर्चा हो । वाममोर्चा भनेको एमाले हो भनेर जनतालाई फकाएको थाहा पायौं । हामीले जनतालाई भन्यौं, तपाईंहरु जहाँसुकै जानुहोस् तर देश र जनताको हितका लागि इमान्दारीपूर्वक काम गर्नुहोस् । धेरै ठाउँमा जनता भड्किएको पायौं । त्यसैले एमालेलाई हाम्रो मित्र होइन भन्‍ने स्थिति आयो । बाघको मुख हेर्नुपर्ने बेला बिरालोको मुख हेर्नुपर्ने भयो । त्यसको मतलब सबै कम्युनिष्ट कम्युनिष्ट हुँदैनन् भन्‍न खोजिएको होइन ।

अर्को कुरा मार्क्सवाद त गम्भीर दर्शन पनि हो । यस विषयलाई हामीले जति गहिराइमा पुर्‍याउनु पर्ने हो त्यति पुर्‍याउन सकेनौँ । हामीले सरकारमा जानुपर्छ कहिल्यै भनेनौँ । गरिबी जनताको हितमा काम गर्न हाम्रा सम्पूर्ण साथीलाई उत्साहित बनायौं । त्यो बेला हाम्रो पार्टी बन्दै मात्र थियो । त्यही बेला हाम्रो पार्टी बिगार्न सबै होमिए । हामीले कारण खोज्यौं । त्यसपछि क्रमशः ती पार्टीका नराम्रो काम उदाङ्गो पार्ने काममा लाग्यौँ ।

केपी ओलीको नेतृत्वमा भएको बास्तोलाको टाउको काट्ने प्रकरण जसलाई झापाकाण्ड भनिन्छ, त्यसको विरोध गर्‍यौं हामीले । त्यो बेला नक्सलाइटले साम्यवादको गलत व्याख्या गरेर नेपालमा प्रभाव बढाउने कोसिस गरेको थियो । त्यसको हामीले विरोध गरेका थियौं । त्यसैले हामी जहाँ गयौं, त्यहाँ विचारको राजनीति फैलायौं तर मारकाट वा दंगा फैलाउने काम गरेनौं । भक्तपुरमा नेपाल मजदुर किसान पार्टीले जसरी जग हाल्यो त्यसरी नै अन्य ठाउँमा पनि जग हाल्ने भयो भन्‍ने डर अरु पार्टीलाई पनि भयो ।

जुम्लामा हामीले जित हात परेपछि सबै एकातिर भए अनि हामी अर्कोतिर भयौं । हरेक कुरामा हाम्रो मतभेद सुरु भयो । हामीले भन्यौ, ‘अरुले जेसुकै भनोस् तर हाम्रो विचार छोड्दैनौ । सानो संगठनलाई टुंगाउन ठूलो कुरा होइन तर त्यसको अस्तित्व समाप्त गर्न धेरै गाह्रो छ ।’ आफ्नो अस्तित्व कायम राख्न हामी जनताको सेवामा लागिरह्यौं । चितवनमा चेपाङहरुलाई अघि बढाउने पार्टी हाम्रै हो । अरु पार्टीले सरकारमा जाने उद्देश्य मात्रै राखेको पाइन्छ । तर माक्र्सवाद वा कम्युनिष्ट आन्दोलनले पुँजीवादी राज्यसत्तालाई ध्वंस पार्छ । पुँजीवादी सरकारमा साम्यवादी जाने र समाजवाद त्यहीँबाट आउँछ भन्‍नु गलत हो ।

एमाले र कांग्रेस दुवैले त्यसै गरेका कारण हामीले विरोध गरेको हो । त्यसमा जनता प्रष्ट हुनु जरुरी छ । हामी मात्र पुँजीवाद व्यवस्थाको विरोधमा र समाजवादको पक्षमा लागेका छौं । त्यस्तै अर्को कुरा आफूलाई कम्युनिष्ट भनेर दाबी गर्ने दुई ठूला शासक दलहरुको विरोधमा पनि हामी छौं ।

वाम गठबन्धनमा तपाईंलाई बोलाएनन् त ?

हामीलाई उनीहरुले बोलाएनन् । एक दुईजना आएका थिए । पार्टीले पठाएको हो कि व्यक्तिगत हैसियतमा आएका हुन् भन्‍ने थाहा भएन । वास्तवमै वाम एकता गर्ने हो भने सिद्धान्तको आधारमा गर्नुपर्छ । चुनावी सम्झौतामा वाम एकता हुँदैन। चुनावमा नारा के दिने र जितेपछि के गर्ने भन्‍ने पनि स्पष्ट हुनुपर्छ । हाल उनीहरुले गरेको सम्झौतालाई हामी वाम एकता भन्‍न सक्दैनौँ । पछि चुनावका बेला भक्तपुर क्षेत्र नम्बर एकमा तपाईको पार्टीलाई हामी समर्थन गर्छौँ भन्दै आए ।

नेपालको परिवर्तनको मुख्य औजार बनेर माओवादी आए २०६२/६३ मा । त्यसलाई कसरी हेर्नुहुन्छ ?

माओवादलाई चीनले पनि स्वीकार गरेन । १९४७ मा चीनमा केहीले माओत्सेतुङको सिद्धान्त पनि फैलिनुपर्छ भन्‍ने आवाज उठाएका थिए । तर त्यसलाई चीनले स्वीकार गरेन । उनीहरुले माक्र्सवाद र लेनिनवादलाई मान्नुपर्ने अडान लिए । १९४९ मा पनि चीनमा कम्युनिष्ट सत्ता स्थापित भएपछि पनि यो कुरा उठ्यो । तर माओवादलाई त्यसरी अपनाइएन । भारत र नेपालमा भने विभिन्न कारणले माओवादको जन्म भयो ।

तर, यसले भारत र नेपालको सम्बन्धलाई त प्रभावित गर्यो नि?

भारत नेपालसँग रिसाउनुका पछाडि तीनवटा मुख्य कारण छन् । एउटा उसलाई चीनसँगको नेपालको मित्रता धेरै मन नपर्ने । अर्को माओत्सेतुङको नेपालमा प्रभाव पनि मन नपर्ने । १९६२ मा भारत–चीन युद्धपछि भारतले नेपाललाई असहयोग गर्न थाल्यो । त्योसँगै नेपाललाई माओवादले नै ठिक गर्छ भनेर पछि भारतले माओवादीलाई नै पालनपोषण गर्न थाल्यो । भारतले नेपालमा विध्वंश मच्चाउन माओवादीलाई सहयोग गरेको हो । माओवादीको युद्ध चलिरहेका बेला भारतमा गएर हामीले प्रचण्ड र बाबुरामलाई भेटेर भनेका थियौं कि हाम्रो इच्छाअनुसार तपाईहरु गर्नुहुन्छ भने देश अघि बढ्छ । भारतको इच्छाअनुसार काम गर्ने हो र उसलाई मनाउन लागिपर्ने हो भने देश डुब्छ । प्रष्ट भाषामा भन्‍नु पर्दा माओवादीको नेतृत्व भारतको कमाण्ड एण्ड कन्ट्रोलमा छ, त्यो नेपालमा छैन ।

विदेशीको आडभरोसामा काम गर्दा कुनै पनि बेला हामी फसिन्छ । सोभियत संघमाथि हतियारमा भर पर्दा र समयमा हतियार आपूर्ति नहुँदा कोरिया टुक्रियो । कोरियाली जनता किन आफ्नै खुट्टामा उभिन खोजेका छन त ? हामी अरुकै भर परेका कारण सम्पन्न हुन सकेनौ भन्‍ने बोध उनीहरुमा छ । सडकमा कुद्ने ९० प्रतिशतभन्दा धेरै गाडीहरू भारतबाट आउँछ । १५ लाखको गाडीलाई यहाँ हामी ५० लाख तिरेर किन्छौ । भारतको नेपालमाथि एकाधिकार जमिरहेको छ । त्यसको विकल्प नभएसम्म हामी कहिल्यै पनि अघि बढ्न सक्दैनौँ ।

उत्तर कोरियाले गरेको आणविक परीक्षणलाई नेपाल सरकारले विरोध गर्नुलाई कसरी लिनुहुन्छ ?

हामीले त्यसको धेरै आलोचना गरेको हो, खासगरी दुई कारणले । एक त हाम्रो कुटनीतिक सम्बन्ध भएकाले पनि त्यसो गर्नुहुन्न । हतियारमा आत्मनिर्भर नहुँदासम्म स्वाधीनताको रक्षा कहिलेकाहिँ कठिन हुन्छ । नेपाल आफैँ त्यसको भुक्तभोगी हो । भारतले हामीलाई हाम्रो आवश्यकताअनुसारको अत्याधुनिक हतियार दिँदैन ।

पैसा हामी दिने अनि उसको फाल्नुपर्ने हतियार हामीलाई दिने । त्यसैले हामीले पनि उत्तरकोरियाले जस्तै गर्नुपर्छ । उनीहरुको सबै सामग्री आफ्नै मुलुकमा बन्छ । उनीहरुको पञ्‍चवर्षीय योजना हेर्यो भने अचम्म लाग्छ । एउटा पञ्‍चवर्षीय योजनामा बाटोघाटो बनाउने, कोइलाको खानी बनाउनेदेखि लिएर सबै छ । तेस्रो पञ्‍चवर्षीय योजनासम्म पुग्दा उनीहरुले आफूलाई चाहिने सबै सामग्री बनाए । हामीले त्यसो किन गर्न सकेनौँ ? हाम्रो कुनै पनि सरकारले त्यस्तो लक्ष्य राखेन । एक खर्बको अन्न बाहिरबाट आउँछ । यसका लागि सबै सरकार जिम्मेवार छन् ।

अब अलि फरक प्रसंग । १२ बुँदे सम्झौतामा तपाईं पनि सहभागी हुनुभयो ?

१२ बुँदे भन्‍ने हामीलाई थाहा पनि थिएन । हामीलाई के भनिएको थियो भने राजा र माओवादीबीच वार्ता बेलायतमा हुँदैछ । त्यसको निम्ती माओवादीका नेता जर्मनी जाने तयारी थियो । बाबुराम भट्टराईले त्यसबारे दिल्लीलाई बताइदिए । राजा बेलायतको कहाँ बस्ने र उनको सुरक्षाको समेत व्यवस्था भइसकेको थियो । तर, त्यो थाहा पाएपछि भारतले वार्ता गर्न दिएन । त्यत्तिमात्र होइन वार्ता दिल्लीमा वा उसको पूर्ण जानकारीमा गराउन चाहन्थ्यो ।

मैले काठमाडौंको हरेक जनसभामा भन्‍ने गरेको थिएँ कि हाम्रो वार्ता कोलम्बो ढाका, रावलपिन्डी, टोकियो वा पेकिङ कहिँ पनि हुन सक्छ । तर दिल्लीमै किन हुनुपर्यो ? अगाडिको ढोकाबाट स्याल निस्कने र पछाडिको ढोकाबाट व्वाँसो आउन सक्‍नेबारे मैले जनतालाई सचेत बनाउँदै आएको थिएँ । सबैले त्यसलाई बेवास्ता गरे । त्यही सेरोफेरोमा एकदिन गिरिजाबाबु बिरामी परेका बेला उहाँलाई भेट्न गएको थिए, उहाँको निवासमा । दिल्लीबाट कृष्णप्रसाद सिटौलाको फोन आयो ।

गिरिजाबाबुले अक्सिजनको मास्क फुकाल्दै यतिका दिन किन तिमीहरु दिल्ली बसेको भन्दै सिटौलालाई हप्काउनु भयो । ‘तिम्रो कन्स्टिचुएन्सी दिल्ली नै हो कि के हो ?’ समेत भन्‍नुभयो र तुरुन्तै नेपाल फर्कन पनि निर्देशन दिनुभयो । मैले त्यसबारे केही पनि सोधिन । त्यसलगत्तै म जुम्ला गएको थिएँ । त्यहाँबाट फर्कदै गर्दा नेपालगञ्ज पुगेपछि सिटौलाले मलाई फोन गर्दै सम्झौताबारे सुनाउनुभयो । त्यसमा नेपालको राजनीतिक समाधानका सन्दर्भमा भरपर्दो शक्तिको भूमिकाबारे उल्लेख थियो । मैले त्यसबारे स्पष्ट हुन उहाँलाई भने । उहाँले केही बताउनु भएन ।

एयरपोर्टबाट होटल पुग्दा माधव नेपालजीको फोन आयो । र उहाँले पनि त्यही कुरा दोहोर्याउनु भयो । मैले भरपर्दो शक्ति जस्तो अमूर्त शब्द राखेर आफूले सम्झौतामा हस्ताक्षर गर्न नसक्‍ने बताएपछि माधवजीले उहाँहरु सबैले हस्ताक्षर गरिसकेको र अब पत्रकार सम्मेलनमा जाने तयारी गरिरहेको बताउनुभयो । त्यसमा हस्ताक्षर नगरे गठबन्धनबाट बाहिर आउनुपर्ने अवस्था थियो । बाहिर बसेपछि भित्रको कुरा पनि थाहा नपाउने भयौं हामीले ।

तर, पत्रकार सम्मेलनमार्फत सबै कुरा थाहा भएपछि तत्कालै त्यसको विरोध गर्न थाल्यौँ । दैलेख, नेपालगञ्जलगायतका ठाउँमा विरोधसभा गर्‍यौं । त्यसपछि काठमाडौंमा बैठक भयो । सद्भावना दलको कार्यालयमा भएको पहिलो सर्वदलीय बैठकमा सम्झौतालाई लिएर हरेक पार्टी टुक्रिए । तपाईंले त्यसो गर्न हुन्थेन भनेर गिरिजाबाबुले भन्‍नुभयो मलाई । पहिले छलफलबिना नै त्यसो गरिएकाले हामीले विरोध गरेको भन्यौं । अहिले पनि हाम्रो विरोध कायम छ ।

१२ बुँदेले त संविधान निर्माणमा मार्गनिर्देशन सिद्धान्तकै हैसियत पाउँदा त्यसले भारतलाई नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने वैधानिकता दिएको छैन र ?

त्यो भन्‍ने ठाउँ छ । किनभने पछि भारतको परराष्ट्रमन्त्रीले १२ बुँदे हामीले तयार गरिदिएको हो भन्‍नुभयो । यो सम्झौतापछि जोडिएको प्रसंगमा एउटा घटना सुनाउँछु । नागरिकताको मामिलामा हामीले विरोध गर्‍यौं । यसमा सही गरेपछि देश जान्छ है पनि भन्यौ । तर भारतीय दूतावासले गाली गर्यो भनेर शेरबहादुर देउवाले नागरिकता विधेयकमा हस्ताक्षर गरिदिनुभयो । अन्तमा हामीले यो विचारसँग हामी सहमत छैनौँ भनेर नोट अफ डिसेन्ट लेख्‍नै पर्‍यो। त्यही कुरा हामीले धमाधम बाहिर पनि ल्यायौं ।

काठमाडौंमा हाम्रो संगठन राम्रो भएको भए हामी केही गर्थ्यौ । सारा जनतालाई उठाउने कोसिस गर्थ्यौ यसको विरोधमा। तर उल्टो सबै मिलेर हाम्रो पार्टीलाई नै छिन्‍नभिन्‍न बनाउने काम भयो । विचलित नभई एक्लै भएपनि हामीले संघर्षलाई निरन्तरता दिन्छौँ भनेर अघि बढ्यौँ ।

भारतले हामीलाई विरोध गरेको र संसदमा उपद्रो मच्चाएको आरोप लगायो । तर त्यहाँको संसदमा सबैभन्दा धेरै उपद्रो मच्चिन्छ । हामीलाई कमजोर पार्न थ्रेस होल्ड ल्याउने भनियो । त्यसले हामीलाई रोक्न सक्दैन । राष्ट्रिय पार्टी होइन भनेर के आधारमा भन्‍ने ? विचार र उद्देश्यले राष्ट्रिय बन्‍ने हो, संख्याले होइन । हरेक राजनीतिक पार्टीले आफ्नो आफ्नो विचार प्रकट गर्ने अधिकार राख्छ । यदि जातीय वा भाषाको आधारमा पार्टी बन्छ भने ती क्षेत्रीय पार्टी हुन् ।

घोषणापत्रअनुसार सरकारमा गएपछि काम गर्नुपर्छ । त्यो नगर्ने पार्टीलाई स्वीकृति नै दिनुहुन्न । त्यसलाई निर्वाचन आयोगले मान्यता दिनुहुन्‍न । हरेक राजनीतिक पार्टी एउटा वर्गका आधारमा, एउटा दर्शनका आधारमा, एउटा आदर्श समाज निर्माण गर्न बनेको हुन्छ । जातको कुरा गरेर, भोज खुवाएर, भाषाको कुरा गरेर मत लिन्छन् भने ती पार्टीलाई राष्ट्रिय पार्टी भन्‍न मिल्दैन ।

यो निर्वाचनपछि के हामीले संक्रमण अन्त्य भएको मान्‍न मिल्छ ?

यो संक्रमण कहिल्यै पनि टुंगिदैन । यी पार्टीले अब संक्रमण टुंगियो भन्लान् । तर, समस्या त बाकी रहने छ । चुनाव गरेपछि सायद तीन पार्टीको बहुमत हुने छैन । या तीनै पार्टीको पनि सरकार हुन सक्छ । फेरि नेपाली कांग्रेस र माओवादीको पनि सरकार हुन सक्छ ।

शान्तिप्रक्रियालाई छोडेर राजनीतिक संक्रमणको अन्त्य हुन्छ या सँगसँगै लिएर जानु आवश्यक हुन्छ ?

अब यो भाषामा मात्रै त्यस्तो छ । अब संयुक्त सरकारमा हामी सबै जानुपर्छ भन्‍ने अर्थमा लिइएको छ । आफू सरकारमा नभएपछि शान्तिप्रक्रिया टुंगिन बाँकी छ भन्छन् । फेरि सरकारमा गएपछि छैन भन्छन् यस्तै हो । त्यो पनि आफूले बनाएको होइन । अरुले एउटा ढंग र उद्देश्यबाट बनाएको हो । अनि हाम्रा नेताहरु एउटा उद्देश्यका साथ आन्दोलनमा आए। अब साँच्‍चै भन्‍ने हो भने माओवादीका निम्ति त्यो त सत्तामा जाने सिँढीमात्रै हो ।

रामवरण यादवले आफू राष्ट्रपति हुँदा त्यसको महत्वपूर्ण श्रेय यहाँलाई दिनुभएको छ । अहिले दमननाथ ढुंगाना यहाँको समर्थन पाउने आशमा भक्तपुरमा उठ्नुभएको छ ।रामवरण यादवलाई राष्ट्रपति बनाउने कुरा मलाई थाहा थिएन । नारायणहिटी दरबारलाई संग्रहालयमा परिणत गर्ने दिन नेपालका लागि भारतीय राजदूत राकेश सुदले रामराजा सिंहलाई ‘अब आपके कन्धेपर बहुत बडा जिम्मेवारी आनेवाला है’ भनेको कुरा अर्को साथीले ठ्याक्कै मलाई सुनाए । त्यसको केहीबेरमा सभामुख र म दायाबाँया र गिरिजाबाबुलाई पत्रकारले घेरिहाले ।

म कसैसँग डराउँदिन, भारतसँग पनि डराउँदिन भन्दै उहाँ कड्किनु भयो । राष्ट्रपति नै बेचिएको रहेछ । त्यसमा शब्द त त्यस्तो आएको थिएन । त्यसको विरोधमा नेपाली कांग्रेसले रामवरण यादवलाई अघि सारेको रहेछ । रामराजा पनि पछि मकहाँ आउनुभयो । त्यत्ति गम्भीर निर्णय कसरी लिनुभयो भनी मैले सोध्दा साथीहरूले निर्णय गरेछन् भन्‍नु भयो । मैले यस्तो हल्कासँग भएको निर्णयलाई मान्‍न नसक्‍ने बताएपछि उहाँ निराश फर्कनुभयो ।

जहाँसम्म दमनजीको कुरा छ । उहाँ यहाँ आउनु भयो । दुई नम्बरमा पनि हाम्रो राम्रो संगठन छ । त्यही भएर मैले सहयोग गर्न सक्दिनँ भने । मैलै हामीलाई नआउने भोट लिनुहोस् भनेँ । त्यहाँको भोट जातीय भोट छ । त्यहाँ क्षेत्री, ब्राह्मण र वौद्धिक वर्गको भोट तपाईंले पाउनुहोला भनिदिएँ । जुन भोट हामीलाई आउने छैन पनि भनिदिएँ । त्यहाँ एमालेका उम्मेदवारलाई गुण्डागर्दीको आरोप छ । जनताले मन पराउँदैनन् । तर संस्थागतरुपमा म सहयोग गर्न सक्दिनँ भनिदिए ।

नाकाबन्दीको विषयलाई लिएर तपाईंको दमननाथजीसँग चित्त दुखाइ थियो हैन ?

त्यसमा मेरो चित्त दुखाइ छ । तर, म पुरानो प्रसंग सुनाउन चाहन्छु । उहाँ सभामुख भएका बेला सदनमा कड्काकड्की पर्यो । शैलजा आचार्यले ‘यो दमनेलाई ठिक पार्छु’ भन्‍नुभयो । दमननाथजीले पनि चेतावनी दिनु भयो, ‘यदि तपाईंहरुको व्यवहार यस्तै हुने हो भने एकएक जनाको नाम तोकितोकी मर्यादापालकलाई डाकेर बाहिर निकाल्छु।’

पछि शैलजालाई मैले सोधेँ, ‘के नाटक हो तपाईंहरुको ?’ उहाँ केही नबोली जानुभयो र सदन स्थगित भयो । पछि मैले सभामुख ढुंगानालाई सोधेपछि उहाँले भन्‍नु भयो, ‘हेर्नुहोस् बिजुक्छेजी, नेपाली कांग्रेसमा जो भारतको समर्थक हुन सक्दैन, त्यो मानिस यो पार्टीमा अगाडि आउन सक्दैन ।’ मलाई अचम्म लाग्यो । यसपल्टको नाकाबन्दीमा दमनजीको स्वर र व्यवहार फेरिएको थियो । मैले यसबारे उहाँसहित पद्मरत्‍न तुलाधार र सुन्दरमणि दीक्षितसँग पनि नाकाबन्दीमा उहाँहरुको मौनताप्रति दुःख व्यक्त गरेको थिएँ ।

जित्‍ने निश्चितजस्तो हुँदाहुँदै तपाईँले चुनाव नलड्ने निर्णय लिनुभयो । यसको सन्देश के ?

पार्टीमा मभन्दा पनि सक्षम साथीहरू आए । उनीहरुलाई जिम्मा दिएर अघि बढ्नुपर्छ भन्‍ने लाग्यो । चार वर्ष त प्रेम सुवालजीले नजिक भएर काम गर्नुभयो । वौद्धिकरुपले पनि निकै सक्षम हुनुहुन्छ । उहाँलाई उम्मेदवार बनाउने डेढ वर्षदेखि कुरा गोप्य राखे । अन्तिम क्षणमा पार्टीको बैठकमा मनको कुरा खोले । नयाँ पुस्ता अघि बढ्छ भन्‍ने मलाई लागेको छ । उम्मेद्वारबारे छलफल भइरहेको थियो । पहिले हामीले क्षेत्र नम्बर दुईको छलफलबाट उम्मेद्वार तोकिदियौँ। क्षेत्र नम्बर एकको बाँकी राखेका थियौं । पैसा खर्च गर्न मानिस आयो भने झन बिग्रिन्छ भन्‍ने थियो ।

कसैले ४/५ करोड खर्च गर्लान् अहिले । चुरोटजस्तै बानी बस्दै जाने छ । हामीभन्दा धेरै धनी मानिस आएर खर्च गरेर उम्मेदवार बन्यो भने हामी कहाँ जाने ? त्यहाँनिर खतरा रह्यो । त्यसैले पार्टीको अस्तित्व जोगाउन नयाँ पुस्तालाई मौका दिएको हो । र, पैसा जसले खर्च गर्छ त्यसलाई भोट दिनुहुन्‍न । गुण्डाहरु डलर लिएर आउँछ अनि हाम्रो मुलुक जान्छ । गुण्डागर्दी गर्नेलाई हामीले पनि भन्यौँ, खुकुरीले फर्सी पनि काट्छ, खसी पनि काट्छ तर ढुंगा काट्दैन । कुस्ती खेल्ने हो भने अखडा तयार छ । बक्सिङ खेल्ने हो भने त्यो ठाउँ पनि तयार छ । विशुद्ध जनताको सेवा गर्ने हो भने आमसभामा आउनुपर्छ भने । विचार अगाडि आउने हो भने जहिलेसम्म नयाँ साथी तयार हुनुहुन्‍न, तबसम्म म पार्टी नेतृत्वमा भने रहनेछु ।

अब जनताबाट अपेक्षा के छ ?

जनताले हाम्रो पार्टीलाई मत दिएको खण्डमा सदन र बाहिर दुबै ठाउँमा पहिल्यै झै हाम्रा साथीहरुले संघर्ष गर्नेछन् । र, हाम्रो समाजवादको विचार अझै फैलिने छ । अहिलेसम्म जनताको सेवा गरेका छौं । त्यसमा कुनै शंका छैन । नेपाल मजदुर पार्टीले समाजवादको प्रचार गर्छ । अरु कम्युनिष्ट भन्‍नेहरुले नाम नै लिन्‍न ।

मंसिर १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्