विराटनगर– नेपाली कांग्रेसका नेता अमृत अर्यालले दोस्रो संविधानसभा निर्वाचनका क्रममा जित हात पारेको स्थान हो– मोरङ ५ । यसपटक उनलार्ई यस क्षेत्रमा बामगठबन्धनका उम्मेद्वार एवं पूर्वआपूर्ति मन्त्री शिवकुमार मण्डल र संघीय समाजवादी फोरम नेपालका उम्मेदवार राजकुमार यादवले कडा प्रतिस्पर्धा दिँदैछन् ।

नेपाली कांग्रेसमा प्रजातान्त्रिक खेमा हुँदै कोइराला परिवारबाट टाढिएका अर्यालले यसअघि २०६४ सालमा यस क्षेत्रमा पहिलो पटक मोर्चा सम्हालेका थिए । शान्ति प्रक्रियापछि माओवादी मूलधारमा आएको र मधेश आन्दोलनले थिल्थिलिएको मुलुकको त्यो समय अर्यालका लागि सुखद रहेन । मोरङ सभापति समेत रहिसकेका अर्याललाई ६४ सालमा फोरमका तत्कालीन अध्यक्ष उपेन्द्र यादवले पराजित गरेका थिए । अध्यक्ष यादवले २७ हजारभन्दा बढी मत पाएका थिए । उक्त निर्वाचनमा ९ क्षेत्रमध्ये फोरमले ४ क्षेत्र जितेको थियो । पहिलो गासमा ढुंगा लागेपछि स्थानीय तहमा अर्यालले आफूलाई हुर्काउँदै लगे । राजनीतिक दलका नेताहरु संविधान लेखनमा समय दिइरहँदा अर्याल आफ्नो पकड बनाउन प्रयास गरिरहेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा ५८ वर्षीय अर्यालले पुराना प्रतिद्वन्द्वी यादवलाई हराए । पार्टी वृत्तमा  विभिन्न आरोप खेपेका अर्याल हाल आफ्नो विगतको साख जोगाउन चुनावी रणनीतिमा सक्रिय छन् ।

अर्कोतर्फ यस क्षेत्रमा आपूर्ति मन्त्री शिवकुमार मण्डलको उम्मेदवारी छ । व्यवसायीहरूमाथि कारबाही गरेर चर्चा पाएका ४२ वर्षीय मण्डल यसअघि दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए । ८ मतको अन्तरले उनले नेपाली कांग्रेसका उम्मेदवार गयानन्दन मण्डललाई पराजित गरेका थिए ।

यी दुई हेभिवेट उम्मेदवारलाई संघीय समाजवादी फोरम नेपालका राजकुमार यादवले चुनौती दिइरहेका छन् । ४५ वर्षीय यादव फोरमका जिल्ला सभापति हुन् । विगतमा भएका कमीकमजोरी सुधार्ने, विकास निर्माणमा जोड दिने नारा लिएर उनी अहिले घरदैलोमा छन् । यस क्षेत्रमा बद्रीप्रसाद मण्डलको पनि उम्मेदवारी छ । पूर्व कांग्रेसी ७४ वर्षीय मण्डल राष्टिय जनता पार्टी नेपाल राजपाका उम्मेदवार हुन् ।

यस क्षेत्रमा जहदा गाउँपालिका, धनपालथान गाउँपालिका, रंगेली नगरपालिकाको ४, ५, ६ र ७ नम्बर वडा र विराटनगर महानगरपालिकाको १३, १४, १५, १६, १७, १८ नम्बर वडा छन् । स्थानीय तहको निर्वाचनमा जहदा गाउँपालिका, रंगेली नगरपालिका र विराटनगरका ती वडामा फोरमको पकड बलियो छ ।

मंसिर १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्