चुनावका मुखमा सडक बाउने दलहरुको हाँक

दमक, (रासस) : झापाको दमकदेखि पाँचथरको रवि हुँदै पहाडी जिल्ला जोड्ने फाल्गुनन्द सडक मार्गले हरेक निर्वाचनमा महत्वका साथ चर्चा पाउँदै आएको छ ।

झापा मात्र होइन इलाम, पाँचथरका संघसंस्थादेखि त्यस क्षेत्रका राजनीतिक दलले चुनावको मुखमा त्यस सडकलाई चुनावी कार्यसूचीका रूपमा अघि सारिआएका छन् । तेइस वर्षदेखि निर्माण शुरु भएको करिब ४७ किमी लामो दमक-चिसापानी–रवि सडक निर्माण हालसम्म पूर्णरूपमा सम्पन्‍न हुन सकेको छैन ।  पश्चिमी इलाम र पाँचथरका एक दर्जन बढी गाउँपालिकासँग जोडिने त्यस सडक नियमित रूपमा सञ्‍चालनमा आउन सके त्यस क्षेत्रका बासिन्दाको मुहार फेरिने विश्वास छ ।

पटक पटक राजनीतिक परिर्वतन भए पनि त्यस क्षेत्रको सडक निर्माणको काम नाराभन्दा माथि उठ्न नसकेको स्थानीयवासीको गुनासो छ ।  त्यस्तै दमक–चिसापानी–रवि सडक निर्माण उपभोक्ता समितिदेखि दमक उद्योग वाणिज्य संघको चुनावताका पनि सो सडकले नाराका रूपमा प्राथमिकता पाएको थियो । गएको स्थानीय तहको निर्वाचनमा साना तथा ठूला दलले फाल्गुनन्द मार्ग कैयौं पटक पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । यही मंसिर १० मा सम्पन्न पहिलो चरणअन्तर्गत पाँचथरका उम्मेदवारले पनि सो सडकबारेको नारा निकै घन्काए ।

मंसिर २१ मा हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि सो सडकको विकास गर्न अनेकौँ योजनाको प्रचार भइरहेको छ ।  फाल्गुनन्द मार्गको नारामा पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली, पूर्वसभामुख सुवास नेम्वाङ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेलगायत नेता एवं उम्मेदवारले पनि यस विषयलाई उठाउँदै आएको छ । फाल्गुनन्द सडकले दमकदेखि इलाम, पाँचथर जोड्ने भएकाले पनि चुनावमा यसले महत्व पाउँदै आएको छ ।

उनीहरूमध्ये ओली झापा–५ मा तथा नेम्वाङ  इलाम-२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।  काँग्रेसका आङ्देम्बे भने पाँचथरबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन। दमक–इलाम सम्पर्क मञ्चका अध्यक्ष पदमशंकर आङ्देम्बे हरेक चुनावमा सो सडक पूरा गर्ने आश्वासन मात्रै बन्दै आएको बताउँदै भन्नुहुन्छ,“दलहरूले मात्र होइन, यहाँका कतिपय सामाजिक संघसंस्थाले चुनावमा यस सडकलाई भजाएर मत बटुल्ने माध्यम बनाउँदै आएका छन् ।’

दमक–१ निवासी आङ्देम्बेका अनुसार सो सडक चुनावको मुखमा राजनीतिका लागि अस्त्र गतिलो बने पनि भनेअनुसार काम गर्न भने दलहरू चुकेका छन् । यतिका लामो समय बिते पनि त्यसअनुरुप सडकको प्रगति हुन नसकेको आङ्देम्बेको गुनासो छ ।

यस पटकको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि दलहरूले आफ्नो स्थानीय घोषणापत्रमा सो सडकलाई महत्वका साथ समावेश गरेका छन् । नेपाली काँग्रेस र  वाम गठबन्धनका उम्मेदवारले आफूलाई विजयी गराए सो सडकलाई हिउँदवर्षाभरि नै यातायात सञ्चालन हुने गरी बनाउने घोषणापत्रमा मुख्य कार्यसूची नै बनाएका छन् ।

काँग्रेसबाट झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा खगेन्द्रपाण्डव अधिकारी काँग्रेसले यहाँको नेतृत्वको अवसर पाए सो सडकलाई पाँच वर्षभित्र नै कालोपत्रे बन्ने गरी काम थाल्ने बताउछन्। काँग्रेसको स्थानीय घोषणापत्रमा दमकलाई व्यापारिक केन्द्र बनाउन सो सडकलाई पूरा गर्ने प्रतिबद्धता जनाइएको छ ।

उम्मेदवार डा. अधिकारी भन्छन्, “हामी स्थानीय घोषणापत्रका कामलाई पूरा गर्न चुक्ने छैनौ, चुनावका मुखमा मात्र सो सडकलाई भजाउने काम गलत हो ।” यस सडकको शुरुआत नै काँग्रेसका तत्कालीन सांसद  डा गोपालप्रसाद कोइरालाको अगुवाइमा भएको जिकिर उनको छ । काँग्रेसले यस क्षेत्रबाट संसद् तथा स्थानीय तहमा नेतृत्वको अवसर नपाउँदा सडकमा भनेअनुरुप काम हुन नसकेको उनको भनाइ छ ।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवार होमबहादुर थापा फाल्गुनन्द मार्ग चुनावताका मात्र चर्चा पाउनु ठीक नभएको बताए। ‘एमालेले यस सडकको कामलाई प्राथमिकतामा राखेको छ” निर्वाचन परिचालन कमिटी झापा, क्षेत्र नं ५ का  संयोजकसमेत रहनुभएका थापाले भने, ‘एमाले विकास चाहन्छ, हामी आश्वासन देखाएर मत माग्दैनौ। उनले वामगठबन्धनले सार्वजनिक गरेको स्थानीय घोषणापत्रमा फाल्गुनन्द सडकलाई तीव्र ढंगले काम गरेर पूरा गर्ने प्रतिबद्धता उल्लेख छ ।

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीले पनि फाल्गनुन्द सडक पूरा गर्नका लागि आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन सार्वजनिक प्रतिबद्धता जनाएको छ । सो पार्टीबाट झापा–५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पदम जबेगु फाल्गुनन्द सडक यतिका लामो समयसम्म पूरा नहुनु ठूला दलको विकासप्रति स्पष्टता नभएको आरोप लगाए। ‘हामीले स्थानीय घोषणापत्रमा फाल्गुनन्द सडकलाई प्राथमिकताका साथ उठाएका छौं”, जबेगुले भने, ‘चुनावमा सपनाको खेती बाँड्ने आश्वासन दिँदैनौँ । विजयी भएपछि यस सडकलाई तीव्र ढंगले पूरा गर्नेछौँ ।”

इलामको माङ्सेबुङ गाउँपालिकाका उपाध्यक्ष  सुनिता सुब्बा दक्षिणी पहाडी भेगसँग जोडिने सो सडकको काम अपेक्षाकृत हुन नसकेको बताउछन् । राज्यको नीतिनिर्माण तहमा यस क्षेत्रबाट प्रतिनिधित्व भए पनि  सडकको कामले गति नपाउनु दुःखद् भएको सुब्बा बताउँछन्। । उनले भने,, “सडक राम्रो नभएकाले ४७ किलोमिटर सडक यात्रा गर्न आधा दिन लाग्छ, अहिले यो सडकको आधा भाग रतुवा नदी हँुदै हिँड्नुपर्नें बाध्यता रहेको छ।”

यता दमक–रवि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरी चुनावको मुखमा मात्र  सडकको कुरा गर्ने र अरु बेला कान नसुन्ने प्रवृत्तिका कारण यतिका लामो समयसम्म सडक पूरा गर्न नसकिएको बताउँछन्। । हालसम्म त्यस सडकको विस्तृत परियोजना प्रतिवेदनमार्फत मार्ग खोल्ने काम मात्र सकिएको र  अब द्रुतगतिमा काम अघि बढ्ने उनकोको भनाइ छ ।

दमक बहुमुखी क्याम्पसका प्रा डा नेत्रबहादुर बुढाथोकी दमकदेखि पूर्वी पहाडी भेग जोडिने सो सडकलाई राजनीतिक दलले मत तान्ने प्रतिबद्धता मात्र गर्नु उपयुक्त नहुने बताउँछन्। । दमकको भविष्यसँग जोडिएको सो सडक पूरा भए मात्र यस क्षेत्रले विस्तारै काँचुली फेर्ने तर्क उनकोको छ ।

झापा दमकको बेलडाँगी शरणार्थी शिविर हुँदै जाने सो सडकको आधा भाग रतुवा नदीमा पर्छ । वर्षामा नदीको वहाव बढेपछि त्यो बाटो हुँदै सवारीका साधन छ महीना आवतजावत गर्न सक्दैनन् । सडकको १२ किमी क्षेत्र चुरेमा पर्छ । दमक–रवि सडक बने मेची राजमार्गभन्दा ८१ किमी छोटो दूरी हुनेछ । सो सडक निर्माण भए मेची अञ्चलका पहाडी जिल्लाका पाँच लाखभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

मंसिर १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्