विस्फोट मा घाइते भएका उम्‍मेदवार उपचारका लागि काठमाडौंमा

उदयपुरको उदयपुरगढी गाउँपालिका–६ को दनुवारवेसीमा बुधबार बम विष्फोटमा घाइते भई उपचार गराइरहेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिर: रासस

उदयपुर: उम्मेदवारलाई लक्ष्य गरेर राखिएको एम्बुस विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली काँग्रेसबाट उदयपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की र स्ववियु सभापति मीरा कटुवाललाई उपचारका लागि अहिले हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवारबेंसीमा बुधबार बिहान ८ बजे  बम विस्फोट भएको थियो ।  प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीका अनुसार बा१५च ७८०६ नंको बलेरो जीपमा सवार कार्कीसहित सात जना नेपालटारबाट कटारीतर्फ जाँदै गर्दा अज्ञात समूहले राखेको एम्बुसमा परेका थिए ।

उम्मेदवार कार्कीसँगै घाइते हुनेमा उदयसी बहुमुखी क्याम्पस कटारीका स्ववियु सभापति कटुवाल, गाडीचालक कटारीका ३५ वर्षीय राजन कार्की,  धामाया कार्की र प्रहरी जवान कालीदास श्रेष्ठ छन् ।  गाडीमा सवार सातमध्ये तीन जनाको अवस्था गम्भीर भएको र एक जना  सकुशल रहेको प्रहरीले बताएको छ । उम्मेदवार कार्कीको टाउको र खुट्टामा चोट लागेको छ । घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर अपराधीको जंगल क्षेत्रमा खोजी गरिएको प्रहरीले बताएको छ ।

मंसिर १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्