
विराटनगर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि संविधान संशोधन गरी सबैको स्वीकार्य बनाइने बताएका छन्।
काँग्रेसबाट मोरङ क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका डा. कोइरालाले छुट्टाछुट्टै वडामा बिहीबार आयोजित कोणसभामा सबै जाति र समुदायको पहिचान, पहुँच र प्रतिनिधित्व कायम गर्न काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए।
सभामा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले विराटनगरलाई प्रदेशको राजधानी बनाउनका लागि काँग्रेसलाई विजयी गराउन अनुरोध गरे । मोरङ क्षेत्र नं ६ मा काँग्रेसबाट प्रदेश (क)का उम्मेदवार चुमनारायण तवदारले काँग्रेसले सबै जातजाति एवम् समुदायलाई एकै ठाउँमा जोड्ने काम गरेको बताए। रासस