विराटनगर– मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनले प्रदेश नम्बर १ को मोरङ जिल्लालाई उत्साहित बनाउँदै लगेको छ । बीस वर्षको अन्तरालपछि गत जेठमा सम्पन्‍न स्थानीय तहको निर्वाचनसँगै यहाँका जनता प्रदेशसभाको निर्वाचनको पहिलो स्वाद लिने क्रममा छन् ।

मोरङका ६ निर्वाचन क्षेत्रमै रोमाञ्चक भिडन्त हुँदैछ । क्षेत्र नम्बर ६ मा डा. शेखर कोइराला र लालबाबु पण्डितबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । क्षेत्र नम्बर ६ अन्तर्गत मोरङ जिल्लाको बुढीगंगा गाउँपालिकाको सवै वडा, विराटनगर महानगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, ९, ११ र १२ छन् । त्यसैगरी, यसै क्षेत्रमा नयाँ स्थान सुन्दरहरैँचा नगरपालिका वडा नम्बर २, ३, ४, ५, ६, ७ पनि छन् ।

सुन्दरहरैंचा बाहेक यस क्षेत्रका अन्य भाग २०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ७ अन्तर्गत थिए । तत्कालीन समयमा यहाँ विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसको पकड थियो । यस स्थानमा २०६४ सालको संविधानसभा निर्वाचनमा विजयकुमार गच्छदार विजय भएका थिए ।

यद्यपि सुनसरीमा पनि उनको जित भएपछि मोरङ क्षेत्र नम्बर ७ मा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा ६७ वर्षीय कांग्रेस नेता डा.शेखर कोइरालाले लोकतान्त्रिकका चुमनारायण तवदारलाई हराएका थिए । उपनिर्वाचनमा एमालेबाट विनोद ढकाल उम्मेदवार थिए ।

एमालेका मोरङ अध्यक्ष ढकाल जेठमा सम्पन्न निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरमा पराजित भएका थिए । २०७० सालको निर्वाचनमा भने यसै क्षेत्रमा डा. कोइरालाले स्पष्ट मत हात पारेका थिए । विजय गच्छदार दोस्रो र एमाले नेतृ यशोदा अधिकारी तेस्रो स्थानमा रहेकी थिइन् ।

क्षेत्र नम्बर ६ अन्तर्गतको बुढीगंगा गाउँपालिकामा २५ हजार ९ सय २२ मतदाता छन् । स्थानीय तह निर्वाचनमा यस गाउँपालिका अध्यक्षमा गच्छदारका उम्मेद्वार विजयी भएका थिए ।स्थानीय तहको निर्वाचनलाई नै आँकलन गर्दा विराटनगर महानगरपालिकामा कांग्रेसले राम्रो स्थान बनाएको छ । यसको फाइदा डा. कोइरालालाई पुग्ने अनुमान गर्न सकिन्छ । कान्छो स्थान सुन्दरहरैंचा नगरपालिकामा नेपाली कांग्रेस विगत तीन दशकदेखि पछाडि रहँदै आएको स्थान हो । यद्यपि स्थानीय तह निर्वाचनमा मेयर पद भने कांग्रेसको पोल्टामा आएको छ ।

यस क्षेत्रमा मुख्यतः कांग्रेस उम्मेद्वार डा. कोइराला र बामगठबन्धन संयुक्त उम्मेद्वार पण्डितबीच नै अन्तिम प्रतिस्पर्धा हुनेछ । लोकतान्त्रिक गठबन्धनमा रहेको राष्टिृय प्रजातन्त्र पार्टी नेपालले कांग्रेसलाई मोरङमा सहयोग गर्ने भएको छ । बामगठबन्धनमा २०६४ सालमा राम्रो पकड बनाएको तत्कालीन माओवादी र एमालेबीचको नयाँ तालमेलले ५८ वर्षीय पण्डितलाई फाइदा पुग्‍ने देखिन्छ ।

साउन अन्तिम साता तराई क्षेत्रमा गएको बाढीमा प्रभावित भएकालाई राजनीतिक दलले सहयोग पुर्‍याएका थिए । बाढी प्रभावित बुढीगंगा, सुन्दरहरैंचाका विभिन्न स्थान, विराटनगरमा डा. कोइराला चिकित्सकीय रुपमा खटे । अर्का नेता पण्डित पनि यस दौडमा अघि रहे । बाढीपछिको घटनाक्रममा उनी सरसहयोगसहित जनताको घरदैलोमा पुगेका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा एकमात्र सिट कांग्रेसले हात पारेको थियो । त्यसपछि, ७० सालको निर्वाचनमा यसमा केही सुधार गरेको देखिन्छ । तथापि, कोइराला खेमालाई मोरङमा पुनः आफ्नो पकड बनाउनुपर्ने चुनौती छ । अर्कोतर्फ, सामान्य प्रशासनमन्त्री रहँदा डिभी पिआर हुने कर्मचारीलाई बर्खास्त गर्ने नीति र कर्मचारीतन्त्र सुधार गरी पण्डितले वाहवाही लिएका थिए । यसअघि पण्डित २०४८ र २०५६ सालको निर्वाचनमा तत्कालीन मोरङ क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । २०६४ सालमा समानुपातिकबाट सांसद भए भने २०७० सालमा उनी सामान्य प्रशासनमन्त्री भएका थिए ।

यसै क्षेत्रमा डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्यि प्रजातन्त्र पार्टी राष्ट्रवादीबाट मुन्‍ना खां, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रप्रसाद सापकोटा, नयाँ शक्ति पार्टीबाट विमला अर्याल, संघीय समाजवादी फोरम नेपालबाट राजेश्‍वर विश्‍वासलगायत उम्मेदवार छन् ।

मंसिर १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्