विश्‍वप्रकाशलाई यसपटक पनि दबाब

कांग्रेसका युवा नेता विश्‍व प्रकाश शर्मा र माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्की । तस्बिर:सञ्‍चार संवाददाता

काँकरभिट्टाःनेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेताको चर्चा कमाएका विश्‍वप्रकाश शर्मालाई जित निकाल्न यसपटक पनि निकै दबाब परेको छ । प्रतिनिधि सभाका लागि प्रत्यक्ष निर्वाचन तर्फका उम्मेदवार बनेका शर्मा नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं १ का उम्मेदवार हुन् । उनका प्रतिस्पर्धीका रुपमा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की खडा भएका छन् । कार्कीलाई नेकपा एमाले तथा राप्रपाले समर्थन गरेको छ ।

कांग्रेस नेता विश्‍वप्रकाश शर्मा २०७० सालको संविधान सभाको निर्वाचनमा एमालेका रविन कोइरालासंग पराजित भएका हुन् । खरो तथा तर्कमा अब्बल मानिएका शर्मा अहिले बौद्धिक मानिएका माओवादी नेता कार्कीका कारण दबाबमा परेका हुन् । तर उनले विगतको निर्वाचनमा जस्तै यसपटक पनि विपक्षी उम्मेदवारका बारेमा कुनै नकारात्मक टिप्पणी गर्ने गरेका छैनन् । बरु नेपालमा परिवर्तन ल्याउन सबै दलको उत्तिकै भूमिका रहेको बताउँने गरेका छन् । उनको यो भनाइ उनका विपक्षी उम्मेदवारको समर्थन आफूतिर तान्‍नका लागि भएको कतिपयले अर्थ्याउने गरेका छन् ।

चन्द्रगढीको एउटा गाउँमा चुनावी अभियानमा भेटिएका शर्माले प्रतिस्पर्धी कुनै दलका नेतालाई गाली गरेनन् । शर्माले नेपालमा राजनीतिक परिवर्तनका लागि सबै पार्टीहरुले आ-आफ्ना स्थानबाट योगदान गरेको बताए । उनी भन्दै थिए, ‘कांग्रेस, एमाले तथा माओवादी सबैले काम गरेका छन् । त्यसैले हामीले एक अर्काको आलोचना गर्न होइन देश कसरी बनाउने भन्‍ने विषयमा सोच्‍न जरुरी छ ।’

शर्माले बाम पार्टीहरु एक ठाउँमा रहेका कारण पनि लोकतान्त्रिक शक्ति जित्नै पर्ने दबाब रहेको बताए । उनले भने, ‘जसरी पनि लोकतान्त्रिक शक्ति अगाडि आउन जरुरी छ । तर यहाँ दुई खाले दबाब छ । एउटा जित्‍नैपर्ने दबाब अर्को बाम पार्टीका कार्यकर्ताहरु भोट कसरी तान्‍न सकिन्छ भन्‍ने दबाब।’

कार्की ज्यामिरगढीमा आयोजित चुनावी सभामा बोल्दै थिए । ज्यामिरगढीको कृष्ण प्रणामी मन्दिर परिसरमा आयोजित चुनावी कार्यक्रमा उनी भन्दै थिए, ‘कांग्रेसको उम्मेदवार विश्वप्रकाश शर्मालाई पनि भित्रबाट मेरै माया लाग्दो हो ।’ कार्कीको शालिनताको प्रस्तुतिले पनि शर्मालाई यसपटक पनि दबाब थपिएको छ । तर कार्कीले प्रतिस्पर्धी उम्मेदवार राम्रो भए पनि राजनीतिक मत कांग्रेसलाई नदिन मतदातालाई गरेको आग्रहले पनि शर्मालाई थप दबाब परेको मतदाता बताउँछन् ।

तर मतदाताहरुमा अन्यौल छ ‘भोट केमा हाल्ने?’मेचीनगर नगरपालिका ९ का बासिन्दा गोपाल बस्‍नेतका अनुसार कार्की र शर्मा दुईजना नै बौद्धिक नेतामा पर्छन् । उनले दुई जना नै संसदमा जानुपर्ने मान्छेलाई जुधाएर राम्रो काम नभएको बताए ।

अधिकांश मतदाताको कुरा बस्नेतको कुरा भन्दा फरक छैन । मेचीनगर नगरपालिका १० की प्रमिला खनालले समाज रुपान्तरणका अजेन्डामा दुईजना नै अब्बल रहेको बताइन् । उनले भनिन्, ‘दुईजना नै राम्रा मान्छे छन् । कसलाई भोट दिने भन्‍ने चिन्ता छ ।’

मंसिर १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्