
काठमाडौं-‘महत्वपूर्ण दिन : निर्वाचन सुरु, आज पहिलो चरणको निर्वाचन, पार्टीलाई हैन, व्यक्तिलाई भोट गरौं । भोट फर डिजर्भिङ । भोट हाल्दा नङमा मात्र दाग लागोस्, स्वाभिमानमा होइन ।’ पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन मंसिर १० गते अभिनेत्री ऋचा शर्माले एकाबिहानै फेसबुकमा स्टाटस लेखिन् ।
मताधिकार प्रयोगले उमेद्वार छान्ने आम प्रवृत्तिलाई कटाक्ष गर्दै उनले पार्टीभन्दा ब्यक्तिलाई बढी प्राथमिकता दिन आह्वान गरेकी थिइन् । पार्टीको पछाडि लाग्दा राम्रा र योग्य छुट्न सक्ने उनको चिन्ता थियो । ‘डियर जनता हो, कस्तो नेता चुन्ने तपाईँको हातमा छ ।
असल, इमान्दार, देशका लागि केही गर्न सक्ने व्यक्तिलाई जिताई आफ्नो अमूल्य मतको कदर गर्नुहोला । शुभकामना।’ ट्वीटरमा भरत भुसालले लेखे । ट्विट गरेका इसको भनाइ पनि भरतसँग मिल्छ । भन्छन्, ‘पार्टीभन्दा मान्छे चुन्ने ज्ञान नभएसम्म केही हुन्न रे ।’
१२ वर्षको जनयुद्ध, शान्ति प्रक्रिया, मधेस आन्दोलन, संविधान सभा निर्वाचन, संविधान निर्माणजस्ता राजनीतिक घटनाक्रमपछि मुलुकमा शान्ति, समृद्धि र राजनीतिक स्थायित्व आउने आशा गरिएको छ ।
यस निर्वाचनले मुलुकलाई व्यवहारिकरूपमा समेत संघीयतामा लगेको छ । अब बन्ने केन्द्रीय र प्रदेश सरकारको प्रमुख मुद्दा नै विकास र समृद्धि हुने छ । तर, यसका लागि जनताले छान्ने प्रतिनिधि उपलब्ध उमेद्वारमध्ये सबैभन्दा योग्य हुनुको विकल्प छैन । एमाले र माओवादीसहितको बाम गठबन्धनले चुनावबाट बहुमत प्राप्त हुने र स्थायी सरकार बन्ने दाबी गरिरहेको छ ।
यता नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले पनि आफुले बहुमत प्राप्त गर्ने दाबी गरिरहेको छ । ‘कुनै राजनीतिक धारप्रति आस्था हुनु सामान्य हो । तर उक्त पार्टीसँग आस्था भएकै कारण सोही पार्टीले उठाएको जस्तोसुकै उमेद्वारलाई पनि भोट दिने प्रचलन छ । आफ्नो मतको सही सदुपयोग गरौं । हाम्रालाई भन्दा पनि राम्रालाई दिऔं । यसलाई केवल एक कागजको टुक्रामा निलो मसीले छाप हानेर प्लास्टिकको बाकसमा हाल्ने नठानी इतिहास बदल्ने अवसरका रूपमा लिउँ,’ ट्वीटर ह्यान्डल ‘डलरचोर’ भएका प्रयोगकर्ता लेख्छन् ।
राम्रो उमेद्वारलाई भोट दिँदा राम्रो नेता मात्र जन्मँदैन यसले राजनीतिक दललाई समेत राम्रो उमेद्वार उठाउन दबाब दिने जानकार बताउँछन् । मानवशास्त्री सुरेश ढकाल नेपालको राजनीतिक सामाजीकीरण नै ठुला दलप्रति बढी निर्भर रहेको बताउँछन् । ‘यसको मतलब ठूला दलले उठाएका सबै उमेद्वारलाई जनताले विश्वास गरिहाल्छन् भन्ने चाहिँ होइन,’ ढकाल भन्छन् ।
पछिल्लो समय सामाजिक सञ्जाल आफ्ना विचार व्यक्त गर्ने मञ्च मात्र बनेका छैनन्, यिनीहरु ‘ओपिनियन मेकिङ टुल्स’ समेत बनेका छन् ।सामाजिक सञ्जालमा समाजका ओपिनियन लिडरले व्यक्त गर्ने विचारको प्रभाव समाजमा पर्ने गरेको छ । तर समाजका ओपिनियन लिडर नै विभिन्न राजनितिक आस्थाका कारण विभक्त छन् जुन सामाजिक सञ्जालमा समेत प्रतिबिम्बित हुने गरेको देखिन्छ । उनीहरुले खुलेआम कुनै राजनीतिक दललाई समर्थन गर्दै स्टाटस लेखेको पाइन्छ । स्वतन्त्र विचार राख्नेहरू भने पार्टीभन्दा राम्रा उमेद्वारलाई जिताउन जोड दिइरहेको भेटिन्छन् ।