एउटा दुर्लभ राजनीतिक प्राणी

नारायणमान बिजुक्छे। फाइल तस्बिर।

सामान्यत–शीर्ष राजनीतिक नेताको वैठक कक्ष आधुनिक र विलासी सजावटले भरिएका हुन्छन्। प्राय, तिनै कृत्रिम सजावट र तामझामलाई आफ्नो राजनीतिक हैसियतसँग जोडेर हेर्ने चलन छ। तर सक्रिय राजनीतिको ६२ औं वर्षमा टेकेका नेता नारायणमान विजुक्छेलाई ती कृत्रिम सजावटले कहिल्यै आर्कषित गरेन। सादा र निष्ठापूर्ण राजनीति नै उनको जीवनको केन्द्र रह्यो। यद्यपि राष्ट्रिय राजनीतिको केन्द्रबाट उनी टाढै रहिरहे।

मंसिर १० गते अपरान्ह भक्तपुरको कमलविनायकस्थित बिजुक्छेको घरको बैठक कोठा छिर्दा उनको सादगीपूर्ण जीवनको झझल्को देखा पथ्र्यो। सांसारिक तामझामले मात्रै होइन, राजनीतिक यात्रामा उनलाई सत्ताको मोहले पनि कहिल्यै छोएन। र, उनको सार्वजनिक व्यक्तित्वमाथि बदनामीको ग्रहण पनि परेन। सामाजवादमा आधारित समृद्धिलाई नै मन्त्र मान्दै अगाडि बढ्दा उनले राजनीतिक यात्रामा अनेकौं हण्डर खाए। राजनीतिक सहयात्रीहरुले नै उनको समर्थन आधार खोस्यो तर उनी विचलित भएनन्। लक्ष्य फेरिएन।

उनले २०१३ सालमा कम्युनिष्ट विचारधारा बोकेको विद्यार्थी फेडरेसनको सदस्यता लिएर औपचारिक राजनीतिक यात्रा सुरु गरेका थिए। वि.सं. २०२१ देखि भक्तपुरका स्थानीय किसानलाई मोहीयानी हक दिलाउन आन्दोलनमार्फत बिजुक्छे लागिपरेका थिए।२०२७ सालमा पुष्पलाल श्रेष्ठ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेका बिजुक्छे बङ्गलादेश स्थापनामा भारतको हस्तक्षेप र अन्य केही मतभेदका कारण २०३१ सालमा श्रेष्ठसँग अलग्गिन पुगेका थिए। त्यसरी जन्म भयो, नेपाल मजदुर किसान पार्टीको, आफ्नै नेतृत्वमा। संख्यामा धेरै रहेका कम्युनिष्ट पार्टीका नेताहरुले देखाएको द्वैध मान्यता र पदलोलुपताले उनलाई फरक कित्तामा उभ्याएको थियो।

नारायणमान विजुक्छेलाई

राजनीतिक संगठनहरुप्रति पञ्चायत संयन्त्रको असहिष्णु व्यवहार र पिछडिएको समाजबीच विद्रोही राजनीतिक दर्शन बोकेको पार्टी स्थापना गर्नु बिजुक्छेका लागि सहज थिएन । तर, दृढ इच्छाशक्ति र राजनीतिक संकल्पले त्यो यात्रालाई आजसम्म निरन्तरता दिएको छ ।उमेरले (७८) बिजुक्छेको दृढतालाई गलाउन सकेको छैन । भक्तपुरमा मात्र सीमित देखिए पनि त्यहाँका प्रत्येक नागरिक समूहसँग सामीप्य बढाउन सफल हुँदा उनको प्रभाव पनि कहिल्यै पातलिएन। त्यसका लागि उनले स्थानीय किसान, मजदुर र गरिबका दुःखलाई आफ्नो राजनीतिक एजेण्डा बनाए र त्यसलाई सडकदेखि सदनसम्म निरन्तर उठाए। त्यत्तिमात्रै होइन, उनले राजनीतिलाई क्षेत्रको विकास र समृद्धिसँग जोडी एउटा सफल उदाहरण पनि प्रस्तुत गरे।

भक्तपुरको सुकुलढोकामा पिता गणेशमान र माता सूर्यमायाका एघार सन्तानमध्ये जेठा छोराका रुपमा १९९६ साल फागुन २६ गते बिजुक्छे जन्मिएका थिए। भक्तपुरमै कलेज अध्ययनका क्रममा उनी राजनीतिमा होमिए। पञ्चायती व्यवस्थाविरुद्ध संघर्षमा उनले १० वर्ष भारतमा निर्वासित जीवन विताए। २०३६ सालको जनमत संग्रहपछि केही खुकुलो बनेको राजनीतिक परिस्थितिमा उनी अन्य निर्वासित नेताहरुसँगै स्वदेश फर्किए।

भारतमा रहँदा नै प्रवासी नेपाली विद्यार्थीमार्फत कर्णाली अञ्चलमा बलियो सङ्गठन बनाएका कारण उनको पहिलो राजनीतिक आधार जुम्ला, दैलेख, हुम्ला र मुगु बन्न पुगे। २०४० सालमा राजनीतिक सहकर्मी रामेछापकी शोभा प्रधानसँग विवाह भएपछि उनको राजनीतिक यात्रामा ब्रेक लागेन बरु थप गतिमा अगाडि बढ्यो। शोभाको अविछिन्न माया र सहयोगका कारण बिजुक्छेले पुनः राजनीतिलाई धारिलो बनाए। २०४५ सालमा कर्ण ह्योजू हत्याकाण्डमा २० महिना जेल जीवन विताए उनले, यद्यपि राजनीतिमा हिंसाको विरोधीकै रुपमा आफूलाई उभ्याउँदै आएका छन् सार्वजनिकरुपमा।

२०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापनासँगै उनी जेलमुक्त भए र पुनः पार्टीको संगठन विस्तारमा सक्रिय बने।बिजुक्छे वि.सं. २०४८को आम निर्वाचन, ५१ को मध्यावधि र ५६ को आमनिर्वाचनमा भक्तपुर क्षेत्रनम्बर एकबाट प्रतिनिधिसभातर्फ निर्वाचित भए। त्यो जितले पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा पनि निरन्तरता पायो। २०६५ र २०७० को संविधानसभामा पनि उनी निर्वाचित भए। तर यसपल्ट आफनो जित निश्चित जस्तै हुँदाहुँदै युवा नेतृत्वलाई स्थापित गर्न चुनाव नलड्ने निधो गरे उनले।

राजनीति सत्ता मात्र होइन विकास र मुद्धा पनि त्यसले सरोकार राख्छ भन्‍ने उदाहरण बिजुक्छे हुन्। भक्तपुरलाई व्यवस्थित र पर्यटन केन्द्र बनाउन भूमिका खेले। आम जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा पनि उनले विशेष चासो लिए। ख्वपः कलेजको स्थापना र संचालन त्यसका उदाहरण हुन्। भक्तपुरको ऐतिहासिक र सांस्कृतिक पहिचान जोगाउन र भुकम्पपछिको पुनर्निमाणमा पनि उनी सक्रिय रहिररहे। आन्तरिक राजनीतिमा बाह्य भूमिका र नेपाली राजनीतिक नेतृत्वको समर्णपणवादी तथा परिचालित राजनीतिलाई उदांग पार्न उनी सबैभन्दा अग्रपङ्तिमा रहिरहे, विलोप हुन लागेको राजनीतिक प्राणीजसरी।

यो पनि पढ्नुस्

 

मंसिर १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्