पहिलो चरणले शेयर उकालियो

काठमाडौं-प्रतिनिधि र प्रदेशसभाको निर्वाचन घोषणादेखि निरन्तर ओरालो लागेको शेयर बजार पहिलो चरणको निर्वाचन सम्पन्‍न भएसँगै उकालो लाग्‍न थालेको देखिन्छ।

मंसिर १० गते २१.०५ अंकले नेप्से परिसूचक बढेदेखि नै शेयर बजारमा कारोबार रकम र परिसूचक बढ्ने क्रम सुरु भएको छ। गत बुधबार करिब २ महिनापछि १ अर्ब भन्दा बढी रकमको कारोबार भएको थियो। आइतबारदेखि नै बढिरहेको नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार पनि १.५५ अंकले बढेको छ।

पहिलो चरण निर्वाचन सम्पन्न भएसँगै यस साता नेप्से परिसूचक ४४.४३ अंकले बढेर १५३७.६७ अंकमा पुगेको छ।भदौ ५ गते सरकारले निर्वाचन घोषणा गरेको दिन नेप्से परिसूचक ६.४ अंकले घटेर १६११.५७ अंकमा आएको थियो। निर्वाचन घोषणादेखि पहिलो चरण मतदानको अघिल्लो दिनसम्म नेप्से परिसूचकमा ९७.२३ अंकको गिरावट आएको थियो।

पूर्व बैंकर तथा शेयरबजार विश्लेषक अनलराज भट्टराई पहिलो चरण निर्वाचन सम्पन्न भएपछि लगानीकर्ताको मनोबल बढेको बताउँछन्। ‘विगतमा निर्वाचन हुन्छ या हुँदैन भन्‍ने संशय थियो, जसले गर्दा बजारले अपेक्षित गति लिन सकेको थिएन,’ उनले भने, ‘अहिले राजनीतिक दलहरुले निर्वाचनपछि विकास नै आफूहरुको प्राथमिकता हुने भन्दै आएका छन् जसले गर्दा पनि लगानीकर्ताहरु आशावादी देखिन्छन् ।’

कात्तिक ५ गते पहिलो चरण निर्वाचनको मनोनयन दिन ३ अंकले बढेर १५७१.९२ अंकमा पुगेको नेप्से परिसूचक कात्तिक १६ गते दोस्रो चरणको मनोनयनसम्म पुग्दा ४५.४१ अंकले घटेर १५२६.५१ अंकमा पुगेको थियो। दोस्रो चरण मनोनयन उल्लाससाथ भइरहँदा नेप्से परिसूचकमा भने ७.०२ को गिरावट आएको थियो।

शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले भने, ‘बाम गठबन्धनको घोषणापछि नेताहरुले विवादास्पद अभिव्यक्ति दिँदा केही लगानीकर्ताहरु निराश देखिएका थिए तर पछि दल र नेताहरुले बारम्बार संविधानका आधारभूत कुराहरु मान्दै अघि बढ्ने भनेकाले पनि लगाकर्ताहरु उत्साहित बन्दै गएका छन्।’

लामो समयदेखि बजार निरन्तर ओरालो लागेकाले पनि केही लगानीकर्ता नाफा बुक गरिरहेको शेयर बजार विश्लेषक भट्टराई बताउँछन्।उनले भने, ‘अर्थ मन्त्रालयले संघीयतामा आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि ८ अर्ब २० करोड रुपैयाँ आवश्यक पर्छ भनेकाले पनि निर्वाचनपछि अर्थतन्त्र चलायमान हुनुको साथै आर्थिक गतिविधि बढ्न सक्छ।’ सरकारी क्षेत्रसँगै निजी क्षेत्रले पनि लगानी बढाउने हुँदा देशमा आर्थिक क्रियाकलाप बढ्ने निश्चित रहेको उनले दाबी गरे।

नेपालमा राजनीतिक आन्दोलन समाप्त भएकाले जुनसुकै राजनीतिक दलले सरकार बनाए पनि आर्थिक विकासको एजेण्डा प्राथमिकतामा पर्ने हुँदा शेयर बजार विगतको विन्दुभन्दा माथि जाने निश्चित रहेको उनले ठोकुवा गरे।उनले चीनमा शेयर बजार बढ्दो क्रममा रहेको भन्दै नेपालमा बाम गठबन्धनको सरकार बने शेयर बजारलाई नकारात्मक प्रभाव पार्छ भन्‍नु जायज नहुने बताए।

‘लगानीकर्ताहरु छोटो समयमा नाफा बुक गर्दै शेयर बेचिरहेका छन् जसले बजार स्थिर हुन सकिरहेको छैन,’ लगानीकर्ता संघका अध्यक्ष अर्यालले पनि शेयर विश्लेषक भट्टराईजस्तै तर्क गरे।अर्यालले बजारको विकास र वृद्धिको लागि अनलाइन ट्रेडिङ छिटो ल्याउनुपर्ने बताए।एक स्टक ब्रोकरले बजारको दीर्घकालीन वृद्धिका लागि बजारमा नयाँ लगानीकर्ताहरु भित्रनपर्ने बताए।

धेरै कम्पनीले बोनस र राइट शेयर जारी गरेकाले बजारमा शेयरको आपूर्ति बढेको छ। अहिले बजारमा भएका प्राय: लगानीकर्ताले शेयर होल्ड गरेर राखेकै छन्। बजारमा शेयरको आपूर्ति बढेको अनुपातमा नयाँ लगानीकर्ताको प्रवेश हुन नसकेको उनले दाबी गरे।

स्थायी सरकार हुन्छ भन्‍नेअनुमानमा केही लगानीकर्ता शेयर किनिरहेको र केही समय शेयर होल्ड गरेका लगानीकर्ताहरु नाफा बुक गरिरहेको उनी बताउँछन्। ‘लामो समयदेखि बजारमा नयाँ लगानीकर्ता भित्र्याउने भनिएको छ,’ उनले भने, ‘अब सरोकारवाला निकायले बजारमा लगानीकर्ताको संख्या बढाउन काम गर्नु पर्छ।’

एक मर्चेन्ट बैंकरले भने, ‘प्रदेश सरकारले गर्ने खर्च बढ्दा बजारमा शेयरको माग बढ्न सक्छ।’ उनले पनि बजारमा शेयरको आपूर्ति बढेको अनुपातमा नयाँ लगानीकर्ता भित्रन नसक्दा बजार र परिसूचक बढ्न नसकेको तर्क गरे।
उनले अहिले छोटो समयका लागि भन्दा पनि दीर्घकालीन लगानी गर्ने लगानीकर्ताको लागि राम्रो अवसर रहेको बताए।’निर्वाचनपछि बजार धेरै बढ्छ भन्‍नेत हुँदैन तर निर्वाचनपछि बन्ने सरकारले लिने नीतिमा बजार कति माथि जान्छ भन्‍नेनिर्भर गर्छ,’ उनले भने।

मंसिर १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्