‘दिस इज वर्स्ट अफ् टाइम’

काठमाडौं–आफ्नो चर्चित उपन्यास ‘अ टेल अ टु सिटिज्’ (दुई शहरको कथा)मा चाल्र्स डिकेन्स लेख्छन्, ‘इट वाज द बेस्ट अफ टाइम्स, इट वाज द वोस्र्ट अफ टाइम्स’ । ०१५ सालको आम निर्वाचनमा उम्मेदवारी दिएका अरविन्द रिमाललाई पनि आफ्नो यौवनकाल डिकेन्सको वाक्यजस्तै लाग्छ । जीवनको ८५ औं शरद भोगिरहँदा उनी पुराना दिन सम्झन्छन् । भन्छन्, ‘ती दिन गज्जबै पनि थिए, खत्तमै पनि थिए ।’

२५ वर्षे जवानीमा आफूले खेलेका अनेक भूमिकालाई लिएर अहिले रिमाल सोचमग्‍न हुन्छन् । कतिपय काम ठिकै गरियो भनेर सन्तुष्ट हुन्छ । कति नगरेको भए पनि हुन्थ्यो भन्‍ने ठान्छन् । प्रसंग नेपालकै इतिहासको पहिलो आम निर्वाचनको हो । त्यतिबेला नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रहेका रिमाल आफ्नो पार्टीले खेलेको भूमिका र आफ्नो नितान्त व्यक्तिगत भूमिकाबारे पुनरावलोकन गरिरहन्छन् ।

‘काँग्रेस र कम्युनिष्ट मिलेर जानुपथ्र्यो तर यी दुवै शक्ति एक अर्काका विरुद्ध उभिए’, रिमाललाई अहिले लाग्छ, ‘त्यसो गर्नु गलत थियो ।’ काँग्रेस र कम्युनिष्टको विवादको फाइदा तत्कालीन राजा महेन्द्रले लिए । लामो समयसम्म निर्वाचन गराएनन् । निर्वाचनपछि पनि खेल खेलिरहे। त्यसैबीचबाट ०१७ साल उदायो । देश निरंकुशतामा गयो ।

कम्युनिष्टका कारण निर्वाचन
राष्ट्रवादी नेता टंकप्रसाद आचार्यको सरकार विघटन गरेपछि राजा महेन्द्रले डा. के.आई. सिंहको नेतृत्वमा मन्त्रिपरिषद् निर्माण गरे, २०१४ साल असारमा । सिंहको सरकारलाई लिएर अनेकथरी टिप्पणी शुरु भए । आरोप, प्रत्यारोप र लाञ्छनाको लस्कर नै चल्यो । त्यहीबीच नेपाली काँग्रेस र डा. डिल्लीरमण रेग्मी नेतृत्वको नेपाली राष्ट्रिय काँग्रेसले केआई सिंहको सरकारविरुद्ध संघर्ष गर्ने लगायतका उद्देश्यले प्रजातान्त्रिक मोर्चा बनाए । त्यही वर्षको असोज ४ गते के. आई. सिंहले राजाले दुई वर्ष अगाडि भाषणमा भनेको मितिमै निर्वाचन हुन नसक्ने धारणा राखे । त्यसको दुई दिनपछि राजा महेन्द्रले सिंहको भनाइलाई सदर गरे । राजाको सम्बोधनको विरोधमा देशैभर आन्दोलन भए ।

त्यसैबीच सरकारले नेपाली भाषालाई अनिवार्य गरेको विषयमा विरोध प्रदर्शनहरु भए । अस्थिरताकै बीच के.आई. सिंहको सरकार २०१४ साल कात्र्तिक २९ गते राजाले विघटन गरिदिए ।डा. के. आई. सिंह नेतृत्वको सरकार विघटन भएपछि राजा महेन्द्रको प्रत्यक्ष शासन शुरु भयो (उक्त शासन करिब ११ महिनासम्म चल्यो) । निर्वाचनको माग गर्दै प्रजातान्त्रिक मोर्चाले मंसिर २२ गते भद्रअवज्ञा आन्दोलन आयोजना गरेको थियो । मोर्चाले नेपाल कम्युनिष्ट पार्टीलाई समेट्ने निर्णय नगरे पनि कात्तिक २४ देखि मंसिर ४ गतेसम्म भएको पार्टीको केन्द्रीय समितिको बैठकले आमनिर्वाचनको लागि मोर्चासँग एक भई आन्दोलन गर्ने निर्णय गर्‍यो । कम्युनिष्टहरु पनि आन्दोलनमा उत्रिए ।

रिमाल भन्छन्, ‘नेपाली काँग्रेस, प्रजा परिषद् र नेपाली राष्ट्रिय काँग्रेसजस्ता पार्टीहरु हतपत्ति सडकमा आउने पार्टी थिएनन् । राजाका कारण उनीहरु सडकमा आउन बाध्य भए ।’ उनका अनुसार कम्युनिष्ट पार्टी भने दिनहुँजसो सडक कार्यक्रम गर्थ्यो , कहिले भारतले हस्तक्षेप गरेको भन्दै त कहिले खुर्सानीको भाउ बढेको विरोधमा ।

पुष्पलालको डबल स्ट्याण्डर्डले गर्दा कम्युनिष्ट राजनीति फुटमा गएको छ भन्‍ने राजाले बुझेको विश्वास छ रिमाललाई । यो ‘वस्र्ट अफ् टाइम’ थियो उनका लागि । भन्छन्, ‘कम्युनिष्टहरु राजा विरोधी हुनैपर्छ भन्‍ने मान्यता थियो । अहिले सम्झँदा अचम्मै लाग्छ । संसारमा राजासँगै मिलेर पनि त कम्युनिष्टहरुले काम गरेका थिए ।’

२२ गते काठमाडौं नयाँ सडकस्थित भूगोल पार्कबाट भद्रअवज्ञा आन्दोलन सुरु भयो । २३ र २४ गते सर्वोच्च अदालत र सिंहदरबारमा विश्वेश्वरप्रसाद कोइराला र डिल्लीरमण रेग्मीको नेतृत्वमा धर्ना कार्यक्रम भयो । २५ गते उपत्यकाभित्रका नौ वटा कलेजका विद्यार्थीले संयुक्त रुपमा सर्वाच्च अदालतबाहिर धर्ना दिए । त्यसका एक हस्ती थिए रिमाल । ‘न्यायाधीशहरुलाई नै अदालतभित्र पस्न नदिएर धर्ना दिइयो’, उनी सम्झन्छन् ।

काठमाडौं बाहिर पनि त्यसै दिन धर्नाहरु भए । त्यसले दरबारलाई ठूलो झट्का दियो । ‘कम्युनिष्टहरु पनि आन्दोलनमा आएपछि अझ अगाडि बढ्छ भन्‍ने हेक्का दरबारलाई भयो’, रिमालको विश्लेषण छ, ‘आन्दोलन अगाडि बढ्दै गयो भने विधान सभाकै चुनाव गराउनुपर्छ भन्‍ने भएपछि राजाले संसदीय चुनावको घोषणा गरे ।

डबल स्ट्याण्डर्ड पुष्पलाल
निर्वाचनको माग गरेर प्रजातान्त्रिक मोर्चासँगै कम्युनिष्ट पार्टी पनि सडकमा ओर्लिरहँदा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक एवं तत्कालीन पोलिटब्युरो सदस्य पुष्पलाल भने फरक विचार राख्थे । आन्दोलनलाई पुष्पलालको समर्थन थिएन । आफ्नो हिरो भए पनि पुष्पलालले त्यतिबेला डबल स्ट्याण्डर्ड राखेको विश्लेषण छ रिमालको ।

पुष्पलालले संसदीय निर्वाचनलाई धोका भनेका थिए । त्यतिबेला पार्टीका महासचिव थिए डा. केशरजंग रायमाझी । रायमाझी दरबार पक्षधर मानिन्थे । त्यसैले पनि पुष्पलालले अरु सबैलाई राजावादी ठाने भन्‍ने ठम्याइ छ रिमाललको । ‘अरु आफ्ना साथीहरु हुन् भन्‍ने नै बिर्सिए उनले’, रिमाल भन्छन्, ‘त्यतिबेला उनी चुके । पछि उनी पनि त चुनावमै उठे । उठ्नु नै थियो भने किन विरोध गरे ? त्यो डबल स्ट्याण्डर्ड थियो ।’

पुष्पलालको डबल स्ट्याण्डर्डले गर्दा कम्युनिष्ट राजनीति फुटमा गएको छ भन्‍ने राजाले बुझेको विश्वास छ रिमाललाई । यो ‘वस्र्ट अफ् टाइम’ थियो उनका लागि । भन्छन्, ‘कम्युनिष्टहरु राजा विरोधी हुनैपर्छ भन्‍ने मान्यता थियो । अहिले सम्झँदा अचम्मै लाग्छ । संसारमा राजासँगै मिलेर पनि त कम्युनिष्टहरुले काम गरेका थिए ।’

फेन्टास्टिक ननसेन्स
अरविन्द रिमालका अनुसार, संसदीय चुनाव हुने नै भएपछि राजा महेन्द्रले त्रिशंकु संसद (ह्यांगिङ पार्लियामेन्ट)को परिकल्पना गरे । कुनै पनि पार्टी शक्तिमा नआओस् भनेर उनले योजना बुने । त्यसको लागि दुई चरणमा चुनाव गर्न उपयुक्त ठाने । पहिलो चरणमा काठमाडौं लगायतका स्थानमा चुनाव गर्ने र पछि अरु ठाउँमा गर्ने योजना बनाए ।

रिमाल भन्छन्, ‘पहिलो चरणको नतिजामा काँग्रेस, प्रजा परिषद् लगायतले दुई चार सिटमा मात्र जिते भने जनतालाई हेर पार्टीहरु झगडा मात्र गर्ने हुन्, यी गरी खान्नन् भन्न पाइन्छ भन्‍ने राजामा थियो । तर, उल्टो भइदियो ।’
रिमाल भन्छन्, ‘सैद्धान्तिक रुपमा राजाको पक्षधर पार्टी प्रजा परिषद थियो । तर, उनीहरुलाई राजाले चार पैसा पनि सहयोग गरेनन् ।’ चुनाव हुने भएपनि राजाले पार्टीहरुलाई बुझाउन मात्र खोज्थे । ही वान्टेट अ हंक पार्लियामेन्ट। त्यसको लागि दुई चरणमा चुनाव गर्नु उनले उपयुक्त ठाने ।

पहिलो चरणमा काठमाडौँ लगायतका स्थानमा चुनाव गर्ने । दोस्रोमा अरु ठाउँमा । पहिलो चरणको नतिजामा काँग्रेस, प्रजा परिषदले दुइ चार सिट मात्र ल्याएभने जनतालाई हेर पार्टीहरु सबै झगडा गरेर खान्छन् यस्तो हुँदैन, राज मैले गर्नुपर्छ भनेर जनतालाई झुक्याउन सकिन्छ भन्‍ने थियो । तर उल्टो भइदियो ।

पहिलो चरणमा १९ सिटमा अधिकांश ठाउँमा नेपाली काँग्रेसले जित्यो । यो नतिजाले दरबारमात्र होइन भारत पनि स्तब्ध भयो । ‘काँग्रेस पनि आफूले अपेक्षा नै नगरेको मत पाउँदा स्तब्ध भयो’, रिमाल भन्छन्, ‘कम्युनिष्टमा पनि हारको चोट लाग्यो । रणनीतिक रुपमा उनीहरु अगाडि बढ्न सकेनन् ।’

तत्कालीन भारतीय राजदूत भगवान सहायले भने काँग्रेसले १३ वा १४ सिट जित्ने अनुमान गरेको सम्झन्छन् रिमाल । सहायले तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई काँग्रेसले त्यति सीट जित्छ भन्दा नेहरुले ह्वाट फेन्टास्टिक ननसेन्स भनेको रिमालसँगको एक भेटमा भनेका रहेछन् । रिमाल सम्झन्छन्, ‘सहायले पछि एक भेटमा मसँग यो प्रसंग उल्लेख गर्दै भनेका थिए, आई वाज राइट ।’

कम्युनिष्टको गल्ती
०१५ सालको चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको भूमिका इतिहासका अध्येतलाई रोचक लाग्नसक्छ । त्यतिबेला कम्युनिष्ट पार्टीले बहुमत ल्याएर सरकार नै बनाउने दाबी गरेको थियो । त्यो दाबीको पछाडि अरविन्द रिमालको भूमिका थियो ।

अरविन्द सधैँ घरबाट निस्केर ब्रिटिश लाइब्रेरीमा केहि अध्ययन गरी भूगोल पार्क हुँदै प्याफल जान्थे । त्यहि क्रममा नेपाली काँग्रेसको घोषणापत्रमा नेपाली काँग्रेसले निर्वाचन जितेर सरकार बनाउँछ, देश बनाउँछ लेखेको पढे । त्यो देखेपछि जवान जोस उम्लियो । उनले हत्तपत्त एक लेख लेखे, काँग्रेसलाई तथानाम गाली गरेर । त्यसैमा उनले कम्युनिष्ट पार्टीले चुनाव जितेर सरकार बनाउने दाबा पनि गरे । त्यसले काँग्रेस र कम्युनिष्ट बीचको दूरी झनै बढायो ।

अहिले अरविन्दलाई लाग्छ, त्यतिबेला ४७, ४८ सिट जित्छु भनेर दुराग्रह राख्नु नै कम्युनिष्टको गल्ती थियो । ‘पोलिटिक्स त गरियो तर छुद्रताको पोलिटिक्स गरिएछ’, रिमाललाई अहिले महसुस हुन्छ, ‘त्यतिबेला नेपाली काँग्रेस र कम्युनिष्ट दुवै रुपान्तरणकारी शक्ति थिए । मिलेर जानुपथ्र्यो । तर, त्यसो भएन । त्यसमा शीतयुद्धको प्रभाव पनि थियो ।’

शीतयुद्धको छाया
दोस्रो विश्वयुद्ध सकिएलगत्तै सिंगो विश्व दुई भागमा बाँडियो, अमेरिकी नेतृत्व र सोभियत संघ नेतृत्वमा । अमेरिकी शीविर प्रजातन्त्रवादी थियो भने सोभियत संघ शीविर कम्युनिष्ट । प्रजातन्त्रवादीहरु कम्युनिष्टलाई तानाशाह भनेर गाली गर्थे । कम्युनिष्टले प्रजातन्त्रवादीलाई पूँजीवादी शोसक भन्‍नेगर्थे । हतियार नचलाई तर हतियारको होड देखाई भएको यो युद्धको छिटा नेपालसम्म पनि परेको थियो ।

अरविन्द सम्झन्छन्, ‘शीतयुद्धले नेपाली राजनीतिलाई पनि गाँजेको थियो । कम्युनिष्ट पार्टीहरु सोभियत संघको उदाहरण दिँदै कम्युनिष्ट शासनको पक्षमा जनमत बढाउने प्रयास गर्थे । काँग्रेसहरु त्यसैको उदाहरण दिँदै तानाशाही भन्थे ।’

त्यतिबेला नै भएको बोरिस पास्तरनायक काण्डले अर्को बबाल थपिदियो । पास्तरनायकको उपन्यास ‘डा. जिगाभो’ले सोभियत संघमा प्रकाशनको अनुमती पाएन । उक्त उपन्यास लुकाईछिपाई इटालीको मिलान शहर पुर्‍याएर छापियो । उपन्यासले नोबल पुरस्कार पनि पायो । राज्यविरोधी उपन्यासले नोबल पुरस्कार पाएपछि सोभियत संघका शासक रिसाए । उनीहरुले पास्तरनायकलाई पुरस्कार अस्वीकार गर्न बाध्य पारे । ‘यो घटनालाई काँग्रेसहरुले कम्युनिष्टविरुद्ध प्रचारका लागि उपयोग गरे’, रिमाल सम्झन्छन् ।

तन्‍नम कम्युनिष्ट
०१५ सालको चुनाव कम्युनिष्ट पार्टीले टाट परेको अवस्थामा लडेको थियो । निर्वाचनका लागि दल दर्ता समेत गर्ने पैसा नभएपछि एक रुसी सम्पादकले उपहार दिएको क्यामेरा बन्धकी राखेर दल दर्ता गरेको बताउँछन् अरविन्द । ‘पोलिटब्युरो तहका नेताहरु सबै देशबाहिर थिए’, रिमाल सम्झन्छन्, ‘त्यति नै बेला दल दर्ता गर्नुपर्ने भयो । पैसा एक रुपैयाँ थिएन । आफ्नै जेठानसँग क्यामेरा बन्धकी राखेर पैसा लिएँ । दल दर्ता गरेँ ।’
तन्नम अवस्थामा लडे पनि कम्युनिष्ट पार्टीले करिब एक लाख भोट ल्याउन सफल भयो । चार ठाउँमा चुनाव जित्यो ।

बाठा गणेशमान
अरविन्दलाई अहिले लाग्छ, पुष्पलाललाई गणेशमानसँग जुधाउनु नै गल्ती थियो । ठूला ठूला नेताहरु एकै ठाउँबाट चुनावमा उठ्नु अनुभवको कमी ठान्छन् उनी । त्यसो त पुष्पलालको समर्थनमा निस्किएको जुलुसमा अपार सहभागिता हुने गरेको सम्झन्छन् अरविन्द । भन्छन्, ‘पुष्पलालको समर्थनमा निस्किएको जुलुसमा काठमाडौँका बार्दली, झ्यालबाट फूल माला र अविर खन्याइदिने गर्थे । सडकमा आएका मान्छेको भिडले उनीहरुलाई उर्जा दिन्थ्यो । तर, त्यहाँ पाटन, भक्तपूर, किर्तिपुरदेखि मान्छे आएका थिए । ती सबै भोटर थिएनन् । कम्युनिष्टहरुले यस्तो कुरा कहिल्यै ख्याल गरेनन् । गणेशमानले त्यसको फाइदा उठाए ।’

गणेशमानले बुझे, कम्युनिष्टलाई सडकबाट हटाउन सकिँदैन, अब घरघरमा गएर चुनाव अभियान गर्नुपर्छ । उनले घर–घरमै गएर जनमत बटुले ।रिमाल सम्झन्छन्, केआइ सिंहको माहोल बेग्लै थियो । पर्सनालिटीको रुपमा उनी आए । झन्डै गणेशमानलाई बनेपा भगाइदिए ।

पहिले कार्यकर्ताले नेताको रक्षा गर्थे । अहिले नेताले कार्यकर्तालाई पैसा दिएर राख्नुपरेको उनको ठम्याई छ । राजनीतमा यति भ्रष्ट हुनुमा उनी राजा महेन्द्रलाई दोषी देख्छन् । भन्छन्, ‘राजा महेन्द्रसँग देशको गरिबी हटाउने अवसर र शक्ति थियो । तर, उनले आफ्नो शक्तिलाई कमाई खाने भाँडो बनाए ।’

त्यस्तै विश्वेश्वरप्रसाद कोइरालाले चुनाव जित्नुको पछाडि उनको करिष्माले काम गरेको ठान्छन् उनी । काँग्रेसलाई भारतको सहयोगले पनि जित्न सघाउ पुर्‍याएको उनको तर्क छ । भन्छन्, ‘नेहरुले व्यक्तिगत रुपमा विपीलाई मन नपराएपनि नेपालमा कम्युनिष्ट पार्टी कुनै फोर्सको रुपमा आओस् भन्‍ने चाहँदैनथे । त्यसैले उनले काँग्रेसलाई समर्थन गरे । भारतीय समाजवादीहरुको पनि काँग्रेसलाई नै समर्थन थियो । सोसियलिस्टहरुको पनि समर्थन थियो ।’

काँग्रेसले चुनाव जित्नुको पछाडि पार्टीगत एकता पनि प्रमुख भएको विश्लेषण गर्छन् रिमाल । तर, कम्युनिष्ट पार्टी भित्रभित्रै बाँडिइसकेको छ । त्यसमाथी चुनावी तकनिकी नै नजानको उनको गुनासो छ । भन्छन्, ‘हामीले यति पनि जानेनौँ, गणेशमानको प्रतिस्पर्धीको रुपमा एक नम्बर क्षेत्रमा पुष्पलाललाई उठाउन हुन्थ्यो कि हुन्थेन । दुई नम्बरमा उठाएको भए पुष्पलालले जित्थे ।’

नपुगेको आड
पहिलो आमनिवार्चनमा निर्वाचन क्षेत्र नं. ५, काठमाडौं उपत्यकाबाट उम्मेदवारी दिएका रिमालको नाम मतगणनाको अन्तिम सूचीमा भेटिँदैन । उनले उम्मेदवारी नै फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिनुको कारण उनी टंकप्रसादप्रतिको आफ्नो श्रद्धा बताउँछन् ।

राष्ट्रवादी नेताको रुपमा प्रख्यात टंकप्रसाद आचार्य सोही क्षेत्रबाट निर्वाचनमा उठेका थिए । कम्युनिष्ट पार्टीले रिमाललाई आचार्यविरुद्ध उठाएको थियो । टंकप्रसादजस्तो नेताको प्रतिस्पर्धी हुनु अन्याय सोचेर उनले उम्मेदवारी फिर्ता लिए । ‘तर, संगठनले सहयोग गरेन । केआइ सिंहको पार्टीका उम्मेदवारले चुनाव जिते’, टंकप्रसादलाई जिताउन नसकेकोमा अरविन्दलाई अहिले पनि थकथकी छ । त्यतिबेलाका यस्ता गल्तीहरुलाई अत्यधिक भूलचुक ठान्छन् ।

महेन्द्रले रोपेको बीउ
अनेकन् गल्ती गरिएता पनि त्यतिबेलाको उत्सर्ग र समर्पण सम्झँदा गर्वबोध गर्छन् । उनी सम्झन्छन्, ‘त्यतिबेला चुनावको प्रवृत्ति नै फरक थियो । कोण सभा, आम सभा हुन्थ्यो । विपी, पुष्पलालको आमसभामा जनताको ठूलो उपस्थिति हुन्थ्यो। नेपाली राष्ट्रिय काँग्रेसले गरेको आम सभामा पनि एक दुइ हजार मान्छे हुन्थे । जनता सबैको विचार सुन्थे ।’

त्यतिबेला कम्युनिस्टहरुप्रति जनताले राखेको सहानुभूतिलाई पढ्न नसकेको स्वीकार गर्छन् । जनताले भने राजनीतिक कार्यकर्तालाई असाध्य प्रेम गर्थे । त्यसैले त एक मोहोर नबोकी हिँड्दा पनि कार्यकर्ताहरु भोकै हुँदैनथे ।
रिमाल भन्छन्, ‘भक्तपूर बनेपासम्म हिँडेर गइन्थ्यो । खल्तीमा एक मोहोर हुँदैनथ्यो । कहाँ गएर के खाने टुंगो हुँदैनथ्यो ।’

पहिले कार्यकर्ताले नेताको रक्षा गर्थे । अहिले नेताले कार्यकर्तालाई पैसा दिएर राख्नुपरेको उनको ठम्याई छ । राजनीतमा यति भ्रष्ट हुनुमा उनी राजा महेन्द्रलाई दोषी देख्छन् । भन्छन्, ‘राजा महेन्द्रसँग देशको गरिबी हटाउने अवसर र शक्ति थियो । तर, उनले आफ्नो शक्तिलाई कमाई खाने भाँडो बनाए ।’

लामो राजनितिक परिवर्तनलाई नियाल्दा उनले देशमा ज्ञान र स्रोतको कमी देखेका छैनन् । केवल राजनीतिक नेतृत्वलाई कमजोर ठान्छन् । नेताहरुमा चिन्तनकै कमी देख्छन् उनी ।वर्तमान राजनीतिमा विदेशी भूमिकाले निकै काम गरेको ठान्छन् उनी । त्यसमाथी राजनीति भ्रष्ट बनेकोमा उनको ठूलो गुनासो छ ।

उनको गुनासो छ, ‘त्यतिबेला ठेकेदारहरु राजनितिमा आउँदैनथे । नेताहरुलाई चेक गरिन्थ्यो । करप्ट मान्छेहरु आइहाले भनेपनि थाहा हुनासाथ उसलाई पार्टीबाट हटाइन्थ्यो । चेक एन्ड व्यालेन्स थियो । अहिले त ब्रह्मलुट नै छ । आफ्नै टोलमा कसलाई भोट दिने मलाई थाहा छैन । कोहि काम लाग्ने मान्छे नै छैनन् ।’ त्यसैले त आम निर्वाचन २०१५ का उम्मेदवार एवं तत्कालीन कम्युनिष्ट नेता अरविन्द रिमाल अहिले विगतमै रमाउन चाहन्छन् । भन्छन्, ‘दिस इज द वस्र्ट अफ टाइम ।’

मंसिर १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्