दलको चुनावी गीत गाएर भोट माग्दै कलाकार

काठमाडौं–नेताको एक घन्टाको भाषणभन्दा कलाकारको पाँच मिनेटको गीत प्रभावकारी हुन्छ । चुनावका बेला केही कलाकार नेताजस्तै व्यस्त छन् । चोक र सामाजिक सञ्‍जालमा चुनावी गीतकै वर्चश्‍व छ । नेताहरुको घरदैलो कार्यक्रममा पनि उनीहरुको साथ उत्तिकै महत्वपूर्ण देखिएको छ । अरु बेलामा नगने पनि चुनावमा नेताहरुले कलाकारलाई भाउ दिन्छन् ।

अधिकांश पार्टीका गीत गाउने कलाकार त्यहि पार्टीमा आवद्ध भएका छन् । गायिका राधिका हमालले नेपाली काँग्रेसको चुनावी गीत गाएकी छन् । पहिलेदेखि नै काँग्रेस आवद्ध राधिका यतिबेला नेपाल साँस्कृतिक संघको टोलीसँग चुनावी प्रचारमा व्यस्त छिन् । पार्टीलाई सहयोग भएका कारण पारिश्रमिक लिने नगरेको उनी बताउँछिन् । पार्टीले यातायात र खाना बस्‍न राम्रो सुविधा दिन्छ । कलाकारलाई सम्मान पनि राम्रै दिने भएकाले स्वतस्फूर्त रुपमा पार्टीको चुनावमा हिँडेकी छन् । भन्छिन्, अधिकार प्राप्तिको लागि पार्टी आवश्यक भएकाले नीजि स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने हुन्छ ।

राधिकाले ढाकछोप गरेपनि चुनावी अभियानमा साँस्कृतिक टोलीमा पार्टीहरुले राम्रै खर्च गर्छन् । यद्यपी पार्टीहरुले पनि यसबारे कुनै खुलासा गर्दैनन् । हमाल लगायत टिका पुन, माण्डवी त्रिपाठी जस्ता चलेका गायिकाहरुले पनि चुनावी गीत गाएका छन् । टिकाले बाम गठबन्धनका लागि र माण्डवीले माओवादी नेता कृष्णबहादुर महराको लागि चुनावी गीत गाएका छन् ।

माण्डवी कुनै राजनितिक पार्टीमा आवद्ध छैनन् । उनको आफ्नै रेकर्डिङ स्टुडियो छ । त्यहाँ धेरै पार्टीको काम आइरहेको हुन्छ । श्रीमानले गीतहरु कम्पोज र एरेन्ज गर्छन् । त्यहि सिलसिलामा कृष्ण बहादुर महराको गीत आइपुग्यो । उनकै स्वर चाहिने भएपछि गाएकी हुन् । भन्छिन्, ‘मेरो काम गीत गाउने हो, जसको आएपनि गाउँछु ।’ यसअघि पनि उनले काँग्रेसको लागि गाएकी थिइन् । पार्टीले चुनावी गीत गाउँदा राम्रै पैसा दिने गरेको बताइन् । गीत गाइसकेपछि श्रोताको प्रतिक्रिया चाहिँ बेग्लै छ । भन्छिन्, सबैले पार्टीमा लागेको हो ?’ भनेर सोध्छन् ।

प्राय लोक गीत गाउने गायक गायिकालाई चुनावी प्रचारका लागि लिइन्छ । लोक गीतमा सर्वसाधारणले बुझ्ने खालको भाषा प्रयोग भएको हुन्छ । त्यस्तो भाषाले जनताको मन सजिलै जित्न सक्छ । लोकगीतमा चर्चित गायक बद्रि पंगेनी चुनावमा पनि उत्तिकै चर्चित हुन्छन् । कम्युनिष्ट पुष्ठभूमिका बद्री एमाले सम्बद्ध गायक हुन् भन्ने सबैलाई थाहै छ । अरु पार्टीका चुनावी गीतभन्दा एमालेको गीत बढी चर्चित हुन्छ ।

अघिल्लो पटक सहि पनि एमाले मै पनि एमाले भनेर गाएका बद्रीले यसपाली बामपन्थीका लागी गीत गाएका छन् । यसअघि एमालेको प्रतिद्वन्दी रहेको पार्टी माओवादीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लागि यसपालि उनले गीत गाएका छन् । प्रचण्डको चुनावी अभियानमा चितवन नै पुगेका बद्रीले ‘सही पनि बामपन्थी, मै पनि बामपन्थी’ भन्दै गीत गाए । पहिले पनि प्रचण्डको कार्यक्रममा गीत गाएका बद्रीले नेताले भन्दा कम कुटनितिक जवाफ दिँदैनन् । अघिल्लो पटक एमालेका लागि गीत गाउँदा माओवादी कार्यकर्ताले उनलाई गाली गरेका थिए । अहिले तीनै माओवादीका लागि गीत गाउँदा उनलाई भने कुनै अप्ठेरो भएन । भन्छन्, ‘राजनितिमा यस्तो त भइरहन्छ ।’

देशका लागि ज्यान दिने,
जनतालाई ध्यान दिने
प्रचण्ड जिताउन लागि परौँ है

यो प्रचण्डको चुनावी गीत हो । यही गीतमा नाम मात्र फेरेर केपी ओलीको लागी पनि बद्रीले नै गीत गाएका छन् । राजु परियार, पुरुषोत्तम न्यौपाने, पूर्णकला बीसीले पनि एमालेको लागि गीत गाएका छन् ।जनतालाई सोझै आकर्षित गर्ने शब्द र संगीत भएका जोसिला गीत चुनावका लागि बनेका छन् ।

यस्तै रविन्द्र मिश्र नेतृतवको पार्टी विवेकशील साँझा पार्टीले पनि लोक शैलीको चुनावी गीत बनाएको छ। उसले गीतमा’दाजु भाई दिदीबहिनी बाजे बराजू यसपालिको भोट चाहि झ्याप्पै तराजु’ भनेर भोट मागरिरहेको छ। यसमापनि कलाकारहरुले लोक भाकामा जनतालाई आकर्षित गर्ने खालको आवाज दिएका छन्।

लोक शैलीका गीतले छिट्टै जनताको मन जित्छ । मेला महोत्सवमा पनि यिनै कलाकारको माग बढि हुन्छ । आम जनताको रोजाइ यस्ता कलाकारलाई लिएर नहिँडे नेताको चुनावी अभियान नै खल्लो हुन्छ । नेताका राजनितिक शब्द भन्दा गीतका ठेट नेपाली शब्दले जनतालाई बढी छुन्छ । त्यसैले लोक गीत गाउने कलाकार चुनावी अभियानमा पार्टीको रोजाइमा परेका छन् ।

मंसिर १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्