फाइल फोटो

काठमाडौं-बुधबार उदयपुरमा चुनावी अभियानमा रहेका कांग्रेस उमेद्धवार नारायण कार्कीसहितको टोली एम्बुसमा पर्‍यो । विस्फोटमा कार्कीसहित आठ जना घाइते भए । त्यसको अघिल्लो दिन दाङमा प्रधानमन्त्री शेरबहादुर देउवाले भाषण गरिरहेको चुनावी सभामा भएको विस्फोटमा एक म्यादी प्रहरीको निधन भयो ।

सभामा सुरक्षार्थ खटिएका म्यादी विनोद चौधरीको मृत्यु भयो । दुवै घटनामा विस्फोटको जिम्मा कसैले पनि लिएको छैन । प्रहरृीको निशानामा विप्लव माओवादीका नेता कार्यकर्ता छन् । दाङ घटनामा जिल्ला प्रहरीले बिहीबारसम्म चार जना विप्लव कार्यकर्तालाई पक्राउ गरेको छ।

बिहीबारमात्र तीन जना कार्यकर्ता पक्राउ परेका थिए । अघिल्लो दिन पक्राउ परेका एक कार्यकर्तालाई सार्वजनिक मुद्धा चलाईएको छ । दाङकी प्रहरी प्रमुख दुर्गा सिंंहले केही संकास्पद ब्यक्तिलाई पक्राउ गरिएको जानकारी दिइन् । ‘अनुसन्धान भईरहेको छ । यसभन्दा बढी अहिले केही नभनौं’, एसपी सिंहले भनिन् ।

उदयपुर घटनामा भने एक जना पनि पक्राउ परेका छैनन् । पहिलो चरणको निर्वाचन नजिकिरहँदा उमेद्धवार र चुनावी सभालाई लक्ष्यित गर्दै विस्फोटनका घटना बढेका थिए । माओवादी नेताद्धय वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकरलाई लक्ष्यित गरी पनि आक्रमण भएका थिए । यसैगरी कांग्रेस नेता रामचन्द्र पौडेल र रामशरण महतलाई पनि लक्षित गरी आक्रमण भएको थियो । देशभर भएका आक्रमणका घटनामा दर्जनौं घाइते भईसकेका छन्।

प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन कार्यक्रम सुरु भएयता नेपाल प्रहरीले निर्वाचन विथोल्ने गतिविधी गरेको आशंकामा देशभरबाट पाँच सय २७ जनालाई पक्राउ गरेको छ । ‘ उनीहरुलाई अनुसन्धानका क्रममा लिईएकाले केही छुटेका पनि हुन सक्छन् । मुद्धा चलाईएकामध्ये धेरैलाई सार्वजनिक मुद्धा चलाईएको छ । अनुसन्धानका क्रममा उनीहरुलाई लगाईएको मुद्धा परिवर्तन पनि हुन सक्छ’, नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता मनोज नेउपानेले भने ।

स्रोतका अनुसार प्रहरीले विप्लब कार्यकर्ता भएको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । डिआईजी नेउपाने भने आपराधिक गतिविधी गरेको आशंकामा नियन्त्रणमा लिईएको बताउँछन् । प्रहरीले विप्लब माओवादी कार्यकर्तालाई मात्र ध्यान दिदा उनीहरुको नाममा अन्य समूहले पनि आपराधिक फाइदा उठाउन सक्ने स्रोत बताउँछ । प्रहरीले घटना विषेषलाई लिएर अनुसन्धान पनि नगरेको बताइन्छ ।

‘जनयुद्धमा भएका विस्फोट वा आक्रमणमा माओवादीलाई आरोप लगाए जसरी अहिले विप्लबलाई आरोप लगाईएको छ । त्यसमा अनुसन्धानबाटै पुस्टी गर्ने काम भएको छैन’, एक पुर्व डीआईजी भन्छन् ।
प्रहरी प्रवक्ता नेउपाने भने जो सुकै भएपनि आपराधिक गतिविधी भए कारबाही हुने बताउँछन् । ‘ जुनसुकै दलको भएपनि आपराधिक गतिविधीमा संलग्न भएको पाईए उनीहरुविरुद्ध अपराधीसरह नै व्‍यवहार हुन्छ । घटना के कारणले प्रेरित थियो भन्ने अनुसन्धानको दोस्रो चरणको पाटो हो । सुरुमा सार्वजनिक मुद्धा चलाईएकाहरु घटना विषेषमा संलग्न भएको पाईए सोही अनुसार अर्को मुद्धा दर्ता हुन्छ’, नेउपानेको दाबी छ ।

प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन कार्यक्रम सुरु भएयता प्रहरीले हातहतियार, विस्फोट पदार्थसहित दुई सय ५९ जनालाई पक्राउ गरेको छ । यसैगरी साना ठुला हतियार ५२ वटा बरामद भएका छन् । विस्फोटक पदार्थ बनाउन प्रयोग हुने डेटोनेटर २२ सय थान, करिब १५ केजी बारुद, ६ सय वटा जिलेटिन र ६ सय वटा पटाका बरामद भएको प्रहरीले जनाएको छ।

यी विस्फोटक पदार्थ करिब ५० ठाउँबाट बरामद भएको प्रहरी तथ्यांक छ।निर्वाचन विथोल्ने गतिविधी गर्ने आरोपमा समातिएकामध्ये पक्राउ पर्नेमा सबैभन्दा बढी कास्कीमा छन् । कास्कीमा ३७ जना पक्राउ परेका छन् । यसैगरी दाङमा ३३ , मोरङमा २१, झापामा १९, काठमाडौंमा २९, रुकुममा १९, रुपन्देहीमा १६, पाँचथरमा १६, काभ्रेमा १२ जना पक्राउ परेका छन्।

मंसिर १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्