विश्‍वकपमा कुन टिमलाई अप्ठ्यारो ?

काठमाडौं-विश्व फुटबल महासंघ (फिफा) विश्वकप २०१८ को समूह विभाजन शुक्रबार राति भएको छ। ३२ टोलीलाई विभिन्न आठ समूहमा बाँडिएको छ। समूह ‘ए’मा उरुग्वे, आयोजक रुस, इजिप्ट र साउदी अरेबिया छन्।

समूह ‘बी’मा पोर्चुगल, स्पेन, इरान र मोरक्को छन् । समूह ‘सी’मा फ्रान्स, पेरु, ‘डेनमार्क र अस्ट्रेलिया छन्। अर्जेन्टिना, क्रोएसिया, आइसल्यान्ड र नाइजेरिया समूह ‘डी’मा छन्। समूह ईमा ब्राजिल, स्विट्जरल्यान्ड, कोस्टारिका र सर्बिया छन्। जर्मनी, मेक्सिको, स्विडेन र दक्षिण कोरिया समूह एफमा छन्। बेल्जियम, ट्युनिसिया, इंग्ल्यान्ड र पनामा समूह जीमा छन् । पोल्यान्ड, कोलम्बिया, सेनेगल र जापान समूह एचमा छन्।

समूह एमा रहेको उरुग्वे दुईपटकको विश्‍व विजेता हो। हाल फिफा वरियतामा २१ औं स्थानमा रहेको उरुग्वे अघिल्लो विश्वकपमा प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको थियो। आयोजकका रुपमा सहभागी भइरहेको रुस अघिल्लो संस्करणमा समूहगत चरणबाटै बाहिरिएको थियो। रुस फिफा वरियताको ६५ औं स्थानमा छ।

रुसले हालसम्म विश्वकपमा समूहगत चरण पार गर्न सकेको छैन। २८ वर्षपछि विश्वकप खेल्न लागेको इजिप्टले यो प्रतियोगिता खेल्न लागेको यो तेस्रोपटक हो। यसअघिका सहभागितामा पहिलो चरण पार गर्न सकेको थिएन। इजिप्ट हाल फिफा वरियतामा ३१ औं स्थानमा छ। हाल फिफा वरियतामा ६३ औं स्थानमा रहेको साउदी अरेबिया पाँचौंपटक विश्वकप खेल्दै छ। साउदी अरेबियाले विश्वकपका यसअघिका सहभागितामा एकपटक मात्र दोस्रो चरण पुगेको थियो। समूहको बलियो टोली उरुग्वेलाई अगाडि बढ्न खासै समस्या देखिदैन।

समूह ‘बी’मा पोर्चुगल र स्पेनजस्ता दुई बलिया टोली छन्। तर, बाँकी टोली इरान र मोरक्को भएकाले पोर्चुगल र स्पेनलाई त्यति धेरै समस्या पर्ने देखिँदैन। हाल विश्व वरियतामा पाँचौंं स्थानमा रहेको स्पेन गत विश्वकपमा भने पहिलो चरणबाटै बाहिरिएर आलोचित बनेको थियो।

स्पेनले सन् २००८ र २०१२ मा युरोकप तथा सन् २०१० मा विश्वकप जितेको थियो। यसैगरी फिफा वरियतामा तेस्रो स्थानमा रहेको पोर्चुगल युरोकपको साविक विजेता हो। गत विश्वकपमा पहिलो चरणबाटै बाहिरिएको पोर्चुगल सन् २००६ को संस्करणमा भने सेमिफाइनलसम्म पुगेको थियो।

फिफा वरियतामा हाल ३२ औं स्थानमा रहेको इरान पाँचौं पटक विश्वकप खेल्न लागेपनि अघिल्ला संस्करणमा पहिलो चरण पार गर्न असफल भएको थियो। पाँचौं पटक विश्वकप खेल्न लागेको मोरक्को यो प्रतियोगिता २० वर्षपछि पहिलो पटक खेल्दै छ । फिफा वरियतामा ४० औं स्थानमा रहेको मोरक्कोले विश्वकपमा एकपटक मात्र दोस्रो चरण (सन् १९८६) यात्रा तय गरेको थियो।

समूह ‘सी’मा रहेकामध्ये सबैभन्दा बलियो टोली फ्रान्स हो । फिफा वरियतामा हाल नवौं स्थानमा रहेको फ्रान्स सन् १९९८ को विश्व विजेता होे । सन् २००६ को संस्करणमा उपविजेता बनेको फ्रान्स गत संस्करणमा क्वार्टरफाइनलमा सीमित भएको थियो । फ्रान्स गत युरोकपको उपविजेता टोली हो । फिफा वरियतामा १२ औं स्थानमा रहेको डेनमार्क पाँचौं पटक विश्वकप खेल्दै छ।

पछिल्लोपटक सन् २०१० को विश्वकप खेलेको डेनमार्क त्यतिबेला पहिलो चरणमै सीमित भएको थियो। त्यसअघि तीनै पटक पहिलो चरण पार गरेको डेनमार्कले सन् १९९८ को संस्करणमा क्वार्टरफाइनलसम्म पुगेको थियो। हाल फिफा वरियतामा ३९ औं स्थानमा रहेको अस्ट्रेलिया पाँचौंपटक विश्वकप खेल्न लागेको हो। अस्ट्रेलिया सन् २००६ को संस्करणमा दोस्रो चरण पुग्नुबाहेक बाँकीमा समूहगत चरणबाटै बाहिरिएको थियो। हाल फिफा वरियतामा ११ औं स्थानमा रहेको पेरु ३६ वर्षपछि विश्वकपमा सहभागी हुन लागेको हो।

समुह ‘डी’मा रहेको अर्जेन्टिना समूहको सबैभन्दा बलियो टोली हो। हाल फिफा वरियतामा चौथो स्थानमा रहेको अर्जेन्टिना विश्वकपमा दुई पटकको विजेता र तीन पटकको उपविजेता हो। अर्जेन्टिना गत विश्वकपमा फाइनलसम्म पुगेको थियो।

पहिलो पटक विश्वकप खेल्न लागेको आइसल्यान्ड पहिलो पटक युरोकप खेल्नेक्रममा सन् २०१६ मा क्वार्टरफाइनलसम्म पुगेको थियो। फिफा वरियतामा १७ औं स्थानमा रहेको क्रोएसिया चौथोपटक विश्वकप खेल्दै छ। सन् १९९८ को संस्करणमा सेमिफाइनल पुगेको क्रोएसिया अघिल्लो विश्वकपमा भने समूहगत चरणबाटै बाहिरिएको थियो। फिफा वरियतामा ५० औं स्थानमा रहेको नाइजेरिया पाँचौंपटक विश्वकप खेल्न लागेको हो। नाइजेरियाले यो प्रतियोगितामा हालसम्म दोस्रो चरण पार गर्न सकेको छैन।

समूह ‘ई’को सबैभन्दा बलियो टोली ब्राजिल हो। फिफा वरियताक्रममा हाल दोस्रो स्थानमा रहेको ब्राजिल सर्वाधिक पाँच पटकको विश्व विजेता हो। ब्राजिल अघिल्लो विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। फिफा वरियतामा आठौं स्थानमा रहेको स्विट्जरल्यान्ड अघिल्लो विश्वकपमा दोस्रो चरणसम्म पुगेको थियो।

स्विट्जरल्यान्ड विश्वकपमा हालसम्म क्वार्टरफाइनलसम्म पुगेको थियो जुन सफलता अन्तिम पटक सन् १९५४ को विश्वकपमा हात पारेको थियो। हाल फिफा वरियतामा २२ औं स्थानमा रहेको कोस्टारिका चौथोपटक विश्वकप खेल्दै छ। उत्तर अमेरिकी टोली कोस्टारिकाले अघिल्लो विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। फिफा वरियतामा हाल ३७औं स्थानमा रहेको सर्बियाले सन् १९९८ यता विश्वकपमा दोस्रो चरण पुग्न सकेको छैन।

समूह एफमा रहेको जर्मनी विश्वकपको साविक विजेता हो। जर्मनी हाल फिफा वरियतामा पहिलो स्थानमा छ। चारपटक विश्वकप जितेको जर्मनी चार पटक उपविजेतामै सिमित भएको थियो। फिफा वरियतामा हाल १६ औं स्थानमा रहेको मेक्सिको सन् १९९४ यता हरेक विश्वकपमा दोस्रो चरणमा पुगेर रोकिएको छ । मेक्सिको विश्वकपमा क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन।

फिफा विश्वकपमा १८ औं स्थानमा रहेको स्विडेन सन् २०१० र २०१४ संस्करणमा भने छनोट हुन सकेको थिएन । सन् १९९८ को संस्करणमा सेमिफाइनलसम्म पुगेको स्विडेन सन् १९५८ मा फाइनलसम्म पुगेको थियो। फिफा वरियतामा ५९ औं स्थानमा रहेको दक्षिण कोरिया सन् २००२ को विश्वकपमा सेमिफाइनलसम्म पुग्नुबाहेक अन्य सहभागितामा भने एक पटक मात्र दोस्रो चरण पुगेको थियो।

समूह जीमा बेल्जियम र इंग्ल्यान्ड दुई बलिया टोली हुन्। हाल फिफा वरियतामा १५ औं स्थानमा रहेको इंग्ल्यान्ड सन् १९ं६६ को संस्करणमा विजेता बनेको थियो। इंल्यान्ड अघिल्लो विश्वकपमा भने समूहगत चरणबाटै बाहिरिएको थियो। फिफा वरियतामा हाल पाँचौं स्थानमा रहेको बेल्जियम अघिल्लो विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो।

बेल्जियम सन् १९८६ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। हाल फिफा वरियतामा ५६ औं स्थानमा रहेको पनामा पहिलोपटक विश्वकपमा छनोट भएको हो। पाँचौं पटक विश्वकप खेल्न लागेको ट्युनिसिया यो प्रतियोगितामा हालसम्म पहिलो चरण पार गर्न असफल छ। समूह एचमा कोलम्बिया तुलानात्मकरुपमा बलियो टोली हो। फिफा वरियतामा हाल १३ औं स्थानमा रहेको कोलम्बिया पाँचौंपटक विश्वकप खेल्दै छ।

अघिल्लो विश्वकपमा कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो। फिफा वरियतामा सातौं स्थानमा रहेको पोल्यान्ड सन् २००६ पछि पहिलो पटक विश्वकप खेल्दै छ। यसअघि विश्वकपमा भएका सात सहभागितामा पोल्यान्ड दुई पटक सेमिफाइनल पुगेको थियो। यसैगरी फिफा वरियतामा ५५ औं स्थानमा रहेको जापान छैटौं पटक विश्वकप खेल्दै छ।

जापानले यसअघिका विश्वकप सहभागितामा दुईपटक दोस्रो चरणको यात्रा तय गरेको थियो। फिफा वरियतामा २३ औं स्थानमा रहेको सेनेगल यसअघि एकपटक मात्र विश्वकप खेलेपनि त्यस सहभागितामा क्वार्टरफाइनल पुगेको थियो। यसअघि सेनेगल सन् २००२ को विश्वकपमा छनोट भएको थियो।

मंसिर १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्