कपिलवस्तु-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ ।

वाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको पकडी पुगेका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले आमसभामा सम्बोधन टुँग्याएलगत्तै ठूलो आवाजका साथ विस्फोट भएको छ।

सभा समापन भइसकेका कारण विस्फोटबाट भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ। विष्फोटको आवाजसँगै सभामा आएका सर्वसाधारणको भागाभाग भएको छ। पूर्व प्रधानमन्त्री दाहालले सम्बोधन गरेको मञ्‍चबाट करिब १०० मिटरको दूरीमा विस्फोट भएको हो । घटनास्थललाई नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेको छ।

मतदानको दिन नजिकिँदै गर्दा जिल्लामा बम विस्फोटका घटना बढ्न थालेको छ। शुक्रबारमात्रै जिल्लाका विभिन्न तीन स्थानमा बम विस्फोट भएको थियो । जिल्लामा थप बम विस्फोटका घटना हुन नदिन र मतदान प्रक्रिया भयरहित वातावारणमा सम्पन्न गराउन जिल्लाका तीनवटै सुरक्षा निकायलाई सघन ढंगबाट परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए।

यो पनि हेर्नुहोस्:

ओली-दाहाल प्रसन्न मन, प्रसन्न मुद्रा (फोटो फिचर)

मंसिर १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्