शृंखलाबद्ध विस्फोटमा कसको हात ?

फाइल फोटो

काठमाडौं- निर्वाचनलाई लक्षित गर्दै भइरहेका विस्फोटका घटना राजधानी केन्द्रित हुन थालेका छन् । शुक्रबारमात्र बुढानीलकन्ठस्थित प्रधानमन्त्री शेरबहादुर देउवाको निवासनजिकै बम विस्फोट भयो। प्रधानमन्त्री निवासमा १५ जना सुरक्षाकर्मी खटिने गरे पनि कम्पाउन्डभन्दा ५० मिटर पर साँझ बम विस्फोट भएको थियो।

सोही दिन कुपन्डोल, सीतापाइला, ठिमीलगायत क्षेत्रमा पनि विस्फोट हुँदा स्थानीय त्रसित भए। प्रहरीका अनुसार यी विस्फोटका घटनाबाट कुनै मानवीय क्षति भएको छैन। प्रधानमन्त्री निवास क्षेत्र आसपासमै विस्फोटका घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि ठूलो प्रश्न उठेको छ। प्रहरीले घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन। राजधानीमा मात्र होइन, यो देशभर भएका घटनाकै नियति हो, जसमा प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन।

निर्वाचन बिथोल्ने समूहका रूपमा सरकारले सुरुदेखि नै नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई ध्यान दिँदा प्रहरीले पनि त्यस पार्टीका नेता कार्यकर्तालाई मात्र यी घटनामा संदिग्ध मानेको छ। तर यी विस्फोटका घटनामा विप्लव माओवादीले जिम्मेवारी लिएको छैन।

विस्फोटका घटनामा विप्लव मात्रको संलग्नता नरहेको हुनसक्ने घटनाक्रमले देखाइसकेका छन्। शुक्रबारमात्र प्रहरीले धादिङको नौबिसेबाट विस्फोटक पदार्थसहित दुई भारतीयलाई पक्राउ गरेको थियो। उनीहरू के प्रयोजनले काठमाडौं आउँदै थिए भन्नेबारे प्रहरीले केही बताएको छैन।

‘हामीले निर्वाचन बिथोल्नेलाई पक्राउ गरिरहेका छौं। अनुसन्धानपछि विभिन्न घटनामा उनीहरूको संलग्नता हेरिरहेका छौं’, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज नेउपाने भन्छन्। पक्राउ परेका अधिकांशलाइ सार्वजनिक मुद्दा चलाइएको छ।

पछिल्ला केही महिनाभित्र राजधानीलगायत देशभरबाट भारतीयहरू हतियारसहित पक्राउ परिरहेका छन्। उनीहरू के प्रयोजनले नेपाल आएका थिए भन्नेबारे प्रहरीले केही बताएको छैन। पूर्व एआइजी राजेन्द्रबहादुर सिंह निर्वाचनमा सुरक्षा व्यवस्था निकै फितलो भएको बताउँछन्।

‘निर्वाचनमा मतदातालाई तर्साउन यस किसिमका गतिविधि भइरहन्छन्। तर, मान्छे नै घाइते हुनु तथा ठूला नेता र प्रधानमन्त्रीलाई नै लक्षित गरी आक्रमण हुनु सुरक्षा निकायमाथि गम्भीर प्रश्न हो’, पूर्व एआइजी सिंह भन्छन्, ‘अर्को कुरा विस्फोटका घटनामा सुरक्षाकर्मीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन । दलका कार्यकर्तालाई समातेर समातिरहेका छौं भन्नु उचित होइन । अनुसन्धानबाटै घटनामा संलग्न भएको पुष्टि हुनुपर्छ।’

नेता र उमेद्वार केन्द्रित आक्रमण

पछिल्लो विस्फोट तथा आक्रमणका घटना दलका ठूला नेता र निर्वाचनका उमेद्वार केन्द्रित देखिएका छन्। पार्टी सभापतिसमेत रहेका देउवासहित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, रामशरण महत, माओवादी नेता वर्षमान पुन, उदयपुरका कांग्रेस उमेद्वार नारायण कार्की, एमाले अध्यक्ष केपी ओली लक्षित विस्फोट तथा आक्रमणहरु भएका छन्। यी विस्फोट तथा आक्रमण सभासमारोह र चुनावी प्रचारका क्रममा भएका हुन्।

मंसिर १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्