विवेकशील उम्मेदवारका आआफ्नै स्टल

शनिबार राजधानीको सानो गौचरणमा विवेकशील साझा पार्टीको सभाका सहभागी। तस्बिर: देशसञ्चार

काठमाडौं-सानो गौचरण मैदानमा कुनै प्रदर्शनीजसरी स्टलहरु राखिएका थिए। स्टलमा १८ देखि २२ उमेर समूहका युवा युवतीहरु बसेका थिए। स्टल विवेकशील साझा पार्टीबाट काठमाडौंका विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरुको थियो।

स्टलबाट उम्मेदवार, तिनका एजेण्डा अनि प्रतिबद्धताबारे जानकारी दिईदै थियो। सानो गौचरणमा विवेकशील साझा पार्टीको चुनावी सभा भएकाले पनि स्टलमा गई जानकारी लिन खोज्ने धेरै मानिस देखिन्थे।

एकातिर उम्मेदवारहरु मतदातासँग कुरा गर्दै थिए भने अर्कोतिर कार्यकर्ताहरु स्टलबाट जानकारी दिंदै थिए। कार्यक्रमको आयोजना क्षेत्र नम्बर ४ र ५ ले गरे पनि सानो गौचरणमा विवेकशील साझाका काठमाडौं क्षेत्रका धेरै उम्मदेवारहरु भेला भएका देखिन्थे।कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्र भने देखिएनन्।

काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार उज्ज्वल थापा, क्षेत्र नम्बर ४ कि सुबुना बस्नेत र क्षेत्र नम्बर ६ कि अनुपा थापा अन्य उम्मेदवारको तुलनामा व्यस्त देखिन्थे।

स्टलमा बसेर जानकारी दिदैं गरेकी झापा घर भएकी १९ बर्षीय भावना रावतले विवेकशील साझा पार्टी इमान्दार छ भन्ने विश्वास लागेर यसमा लागेको बताइन्। उनले मनोनयन दर्ताअघिदेखि नै काठमाडौं क्षेत्र नम्बर ४ मा सुबुना बस्नेतको प्रचारप्रसारमा सक्रिय रहेको पनि जानकारी दिइन्। रावतले झापा क्षेत्र नम्बर १ मा आफ्नो मतदाता नामावली रहेकाले सोमबार गृहजिल्ला जाने बताइन्।

मतदातासँग निकै व्यस्त देखिएका उज्ज्वल थापासँग कुरा गर्न निकै गाह्रो भयो। मतदातासँगको साक्षात्कारलाई एक छिन बिट मार्दै थापाले देशसञ्चारसँग भने, दोस्रो संविधानसभा निर्वाचनमा कुकुर चिन्ह लिई स्वतन्त्र उम्मेदवार हुँदा मतदातालाई आफ्ना कुरा सुनाउन कठिन थियो तर अहिले परिचय नै दिनु परिरहेको छैन। उनले मतदाताहरु आफैं कुरा गर्न आइरहेको र आफ्ना कुरा पनि धैर्यपूर्वक सुनिरहेको बताए।

थापाले भने, ‘विदेशमा रहेका नेपालीले आफ्नो घरमा फोन गरेर विवेकशील साझा र तराजु चिन्हबारे जानकारी दिइरहेको थाहा पाएँ।’

घरदैलोको क्रममा मतदाताले छोरा/छोरीले विदेशबाट फोन गरेर तराजुमा भोट हाल्न भनेकाले यसपालि मेरो भोट तपाईँलाई जान्छ भनेर भन्ने गरेको थापाले बताए।

‘जनताले परिवर्तन खोजिरहेको छन्’, उनले भने, ‘पुराना पार्टीहरुले प्रतिवद्धता धेरै गर्ने तर काम थोरै पनि नगर्ने चरित्र देखाएका छन्।’ जनतालाई पुराना नेता र पार्टीबाट विकास र सम्वृद्धि सम्भव छैन भन्ने लागेकाले आउँदो निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको थापाले दावी गरे।कार्यक्रममा युवा र महिलाको उल्लेख सहभागिता थियो।

कार्यक्रममै सहभागी तनहुँ १ का मतदाता ३० वर्षीय राजु अधिकारीले यसपालि तराजुलाई मत दिने बताए। पेशाले बैंकर उनले भने, ‘हाम्रो क्षेत्रमा विवेकशील साझाको प्रत्यक्षतर्फ उम्मेदवार छैन, त्यसैले प्रत्यक्षमा कसलाई मत दिने अझै निश्चित भइसकेको छैन तर समानुपातिकतर्फ मेरो मत तराजुमै जान्छ।

काठमाडौं ३ का मतदाता ७८ वर्षीय दीपक थापाले आक्रोशित हुँदै पुराना राजनीतिक दलले सिस्टम बिगार्ने काममात्रै गरेकाले यसपटक आफूले विवेकशील साझालाई मतदान गर्ने वताए।

काठमाडौं १ का मतदाता रहेका ३५ वर्षीय राजेश महर्जनले आफ्नो मत कसलाई जाने अझै केही टुंगो नलागेको वताए। उनले भने, ‘चुनाव जित्नुअघि सबै नेता उस्तै हुन्छन्, जितेपछि भने निकै फरक देखिन्छन्।’ घरमा कसैले नयाँ पार्टीलाई र कसैले पुरानोलाई मत दिने भन्ने गरेको उनले बताए।

गोकर्ण घर भएका इन्द्रराज गिरिले २०६४ सालको संविधान सभा निर्वाचनदेखि नै मत दिएको बताए। पेशाले बैंकर उनले भने, ‘यसपटक सायद नयाँ पार्टीलाई मत दिन्छु होला तर पनि मतपत्र हातमा नपर्दा सम्म मनस्थिति परिवर्तन पनि हुन सक्छ।’

भक्तपुर १ का मतदाता रहेका निश्चल संग्रौलाले यस पटक विवेकशील साझा राष्ट्रिय पार्टी बन्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए। पेशाले प्राध्यापक रहेका उनले भने, ‘अहिलेका मूल धारका पार्टीको कामबाट सन्तुष्ट हुने आधार नभएकोले विकल्प खोज्नु परेको हो।’

कार्यक्रम उपस्थित प्रायले राष्ट्रिय झण्डा बोकेका थिए। कार्यक्रममा उपस्थित ज्ञानेश्वर घर भएकी सृष्टि श्रेष्ठले अझै पनि मतकसलाई दिने भन्ने नसोचेको बताइन्। छिमेकीले सानो गौचरणमा विवेकशील साझा पार्टीको कार्यक्रम छ भनेकाले आफू सहभागी भएको उनले बताइन्।

काठमाडौं क्षेत्र नम्बर ४ का मतदाता रहेका मनोज कोइरालाले २०४८ सालदेखि मत दिदैं आएको र हरेक पटकको निर्वाचनमा फरकफरक उम्मेदवारलाई मत दिने गरेको बताए। उनी यसपटक कसलाई मत दिने बन्ने निर्णय मौन अवधिमा लिने बताउँछन्।

विवेकशील साझाले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरिरहेको सफा ट्याम्फुलाई पनि कार्यक्रम स्थलमा राखेको थियो।

विवेकशील साझाको चुनावी सभालाई उज्ज्वल थापा, विवेकशील साझा केन्द्रीय सदस्य गोविन्द नारायण, रन्जु दर्शना, सुबुना बस्नेत, अनुपा श्रेष्ठ, काठमाडौं ३ कि उम्मेदवार डाक्टर सुनिता सिंह लामालगायतले सम्बोधन गरेका थिए।

उज्ज्वल थापाले आफ्नो उम्मेदवारी देशमा गरी खाने माहोल बनाउन भएको बताएका थिए। उनले भने, ‘भारत चीन लगायतका देशहरुले आफ्ना उत्पादन निर्यात गरिरहेको अवस्थामा नेपालले युवा जनशक्ति निर्यात गरिरहेको छ। अहिलेको राजनीतिक सिस्टमले गरी खाने वातावरण निर्माण गर्न सकेन त्यसैले हामी काम गरिरहेका हरुले राजनीतिमा आउनुपर्‍यो।’

सुबुना बस्नेतले देश युवाहरुले मात्रै चलाउन सक्ने भन्दै उनले प्रश्न गरिन्। ‘७० बर्षका बृद्धले आफूलाई त राम्ररी समाल्न सक्दैनन् भने देश कसरी बनाउन सक्छन्?’

मंसिर १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्