मतदाता परिचयपत्र नहुँदा पेन्सन लिन समस्या

बैतडी– भारतीय बैंकले मतदाता परिचयपत्र अनिवार्य गरेपछि सयौँ भारतीय पेन्सन लिइरहेका नेपाली समस्यामा परेका छन् । मतदाता परिचयपत्र नबनाएका भारतीय पेन्सन धारी नेपालीलाई अहिले समस्या भएको छ।

भारतीय बैंकले डिसेम्बर १५ तारिखभित्र कागजात बुझाउन सूचना जारी गरेको छ । भारतीय बैंकले सबैको पेन्सन खाता अद्यावधिक गर्न लागेको छ । भारतीय नागरिकको पनि नागरिकतासँगै आधारकार्डलगायतका अन्य पहिचान खुल्ने कागजात खोजेको छ । नेपाली नागरिकलाई नागरिकतासँगै मतदाता परिचयपत्र मागेको हो ।

मासिकरुपमा निकासा हुने भए पनि उनीहरुले चार/पाँच महिनाको फरकमा भारतीय बैंकबाट झिक्ने गरेका छन् । परिचयपत्र नहुँदा खाता नवीकरण गर्न नसकेको भारतको बंगाल प्रहरीबाट सेवानिवृत्त दशरथचन्द– ७ का रामदत्त बडूकी श्रीमती कमलादेवी बडूले बताए ।

‘परिचयपत्र बनाउन टोली आएका बेला ध्यान पुगेन, अन्य समयमा आवश्यक भएन’ उनले भने, ‘बैंकले मतदाता परिचयपत्र नभएसम्म मान्दैन ।’ नाम फरक परेका, विवरण नमिलेका लगायतका समस्या जिल्ला प्रशासन कार्यालयको सिफारिशका आधारमा सुल्झिदै आएका थिए । यसपटक मतदाता परिचयपत्र खाजेकाले समस्या परेको हो।

भारतीय सेना, प्रहरीमा कार्यरत श्रीमान्‌को पेन्सन लिने अधिकांश महिलाको मतदाता परिचयपत्र लिएका छैनन् । निर्वाचन नसकिएसम्म नयाँ परिचयपत्र बनाउन नाम दर्ता गर्न नसकिने भएकाले तत्काल केही गर्न नसकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दिनहुँ समस्या लिएर आउनेको संख्या बढेकाले गृह मन्त्रालय र निर्वाचन आयोगलाई जानकारी पठाउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बताए ।

प्रदेश नं ७ का बैतडी, डडेल्धुरा, दार्चुला र कञ्चनपुरमा भारतीय सेना र प्रहरीबाट पेन्सन सुविधा लिने दुई हजार बढी छन् । मतदाता परिचयपत्र नबुझाएसम्म पेन्सन रोकिनसक्ने जिल्ला सैनिक बोर्डले जनाएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपश्चात् निर्वाचन आयोगले निर्देशन दिएपछि मात्रै मतदाता नामावली संकलन कार्य हुनसक्छ जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले बताउनुभयो । उहाँले भन्नुभयो, “तत्काल मतदाता नामावली संकलन गर्नेबारे केही निर्णय भएको छैन ।’

मंसिर १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्