विराटनगर-महिला हक अधिकार, ३३ प्रतिशतको समान हिस्सेदारीको विषय राजनीतिक दलहरुले उठाए पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन देखिएको छैन। त्यसबाट मोरङ जिल्ला पनि अछुतो रहेन।

राजनीतिक दलहरु ३३ प्रतिशतको कुरा गरिरहँदा यस पटकको निर्वाचनमा मोरङ जिल्लामा १ सय ६९ मध्ये ११ जना मात्र महिला उम्मेदवार छन् । ६ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेश र प्रतिनिधि सभामा प्रत्यक्षतर्फ कुल १८ जना निर्वाचित हुने छन् । तर, मुख्यतः कांग्रेस, एमाले, माओवादीबाट महिलालाई समान समावेशी रुपमा उम्मेदवारीको हिस्सा बनाएको देखिदैन।

विराटनगरस्थित स्नातकोत्तर क्याम्पसका राजनीतिक विश्लेषक एवं सह–प्रध्यापक केशव पहाडी पोखरेल भन्छन्, ‘पुरुषवादी सोचमा महिलाप्रति सकारात्मक रुपान्तरण हुदैछ, तर एकदम धिमा गतिमा। यसैको कारण हो यसपटकको निर्वाचनमा महिला सहभागिता कम हुनु ।” राजनीतिक दलहरुले प्रत्यक्षमा सक्रिय रुपमा खट्न नसक्ने, आर्थिक रुपमा तयारी गर्न नसक्ने जस्ता विषयका कारण महिलालाई सीमित संख्यामा राखेको उनको भनाइ छ।

‘मोरङ जिल्लाको ६ निर्वाचन क्षेत्र मध्ये २, ५, र ६ मा महिला उम्मेदवार छन्। तर, मुख्य गरी लोकतान्त्रिक दलका रुपमा रहेका नेपाली कांग्रेसले महिला उम्मेदवारीमा कन्जुस्याइँ गरेको छ’ पहाडी भन्छन्।महिला आफैँमा नेतृत्वको विकास हुन नसक्नु र समानुपातिकतर्फबाट महिलाको आवाज सुनिश्चित गर्न सकिन्छ भन्ने दलहरुले बुझाइरहेको देखिन्छ। उनी भन्छन्, ‘महिलाको अधिकारका लागि महिला नै जागरुक हुनुपर्छ। यहाँ महिला महिलाबीच इर्ष्या र अविश्वासले पनि राम्रो भूमिका खेलेको पाइन्छ । त्यसैले महिला उम्मेदवारीमा दलहरुले सकारात्मक स्थान नदिएको हो ।’ महिला आफैंमा पनि नेतृत्व गर्न सक्ने क्षमतामा अन्योल देखिएको पहाडीको बुझाइ छ।

स्थानीय तह निर्वाचनमा ठूला दलहरुले उपमेयर र वडाहरुमा महिलाको राम्रो सहभागिता स्थापित गराए पनि यसपटक त्यो अधिकारबाट महिलालाई खुम्चाएको आरोप महिला पत्रकार भारती उपाध्याय बताउँछिन्। स्थानीय तहमा विराटनगर वडा नम्बर ८ बाट वडा सदस्यमा निर्वाचित उपाध्यायका अनुसार राजनीतिक दलहरुले ३३ प्रतिशत, समावेशीका ठूला कुरा जति गरेपनि, महिलालाई दोस्रो दर्जामा राख्ने गरेको छ । पुरुषवादी सोचमा परिवर्तन हुन नसक्दा र दलबीचको गठबन्धनका कारण पनि महिलालाई यसपटक पाखा लगाइएको उनको भनाइ छ।

पुरुषवादी संकीर्ण सोचको सिकार अझै महिलाहरु हुनु परिरहेको उनी बताउँछिन्। ‘वडा अध्यक्षका लागि विभिन्न शीर्षकमा खर्च महानगरपालिका, नगरपालिकाले छुट्टाए पनि, त्यही अवस्थामा महिलालाई भने विभेद गरिन्छ । ‘महिलालाई ती सेवा सुविधा उपलब्ध गराइँदैन, यहीबाट पनि पुरुषवादी सोचमा अझै पनि महिलालाई स्थापित गराउनुपर्छ, अधिकार प्रदान गर्नुपर्छ भन्ने कुरा गौण भएको छ,’ उनको दुखेसो छ ।समानुपातिको सूचीमा महिला राख्नु भनेको ललिपप देखाएर अधिकार दिन्छु भन्दै फकाएको उनको बुझाइ छ । दलहरुको सोच नै महिलाप्रति हारबाट सुरु हुन्छ उनी भन्छिन् ।

उनी भन्छिन, ‘प्रत्यक्ष निर्वाचनमा महिलाले हार्छन्, पुरुषसँग प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने कुराले दलहरुमा प्राथमिकता पाएको छ ।’ महिलालाई भीड जम्मा गर्ने थलोको रुपमा मात्र लिइएको उनको गुनासो छ ।
मोरङ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा गरी कुल १ सय ६९ जना चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् जसमध्ये ११ जना महिला छन् । प्रतिनिधि सभामा भने ५८ जना पुरुष चुनावी मैदानमा रहँदा ३ जना महिलाले प्रतिस्पर्धा गरिरहेका छन् । क्षेत्र नम्बर २ बाट ३६ वर्षीया कल्पना विमलीले स्वतन्त्रबाट उम्मेदवारी दिइरहेकी छिन् ।

क्षेत्र नम्बर ५ बाट ३९ वर्र्षीया अनिताकुमारी ढकालले स्वतन्त्रकै रुपमा उम्मेदवारी दिएकी छिन् । त्यसैगरि, क्षेत्र नम्बर ६ बाट नयाँ शक्ति पार्टी नेपालबाट ५३ वर्षीया विमला अर्यालको उम्मेदवारी छ । प्रदेश सभातर्फ क्षेत्र नम्बर ६ को १ बाट ५३ वर्षीया अधिवक्ता निरा भगतले संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी दिएकी छिन्। उनी तत्कालीन फोरम लोकतान्त्रिकसँग आवद्ध रहेकी थिइन्। कांग्रेससँग विजयकुमार गच्छदार विलय भएपछि उनी फोरम नेपाल प्रवेश गरेकी थिइन्।

मंसिर १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्