निर्वाचनले बढायो फूलको कारोबार

काठमाडौँ-निर्वाचनका कारण दैनिक रु पाँच करोडसम्म फूलको कारोवार भएको छ।अन्य समयमा दैनिक रु दुई करोड फूलको कारोवार हुने गरे पनि निर्वाचन र विवाह मौसम भएको हुँदा फूलको कारोवारमा वृद्धि भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत कारोबार भईरहेको छ।

घरदैलो, चुनावीसभामानेताकार्यकर्तालाई स्वागतका लागी माला प्रयोग गर्दा निर्वाचनका समयमा फूलको बिक्रि बढेको श्रेष्ठले बताए।उनले फूलको स्वदेशी उत्पादन पर्याप्त नहुँने हुँदा बर्सेनि भारतबाट फूल आयात गर्नु परिरहेको जानकारी

अघिल्ला वर्ष फूलको एक अर्ब ७१ करोड रुपैयाँको कारोबार भएकोमा चालु आर्थिक बर्षमा फूलको माग बढेकाले दुई अर्ब रुपैयाँ बढीको कारोबार हुने एशोसिएशनका अनुमान रहेको श्रेष्ठले बताए।श्रेष्ठले सबैभन्दा बढी सयपत्री फूलको कारोबार हुने जानकारी दिए।

खासगरी कात्तिकदेखि फागुनसम्मको महिनामा फूलको बढी खपत हुने गरेको एशोसिएसनका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए।प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको उनले बताए।

नेपालमा २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो गएको छ। फूलको मागमा भएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्प खेती तथा नर्सरी विस्तार भएको छ ।

पुष्प व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ६०० प्रजातिका फूल उत्पादन हुन्छ। व्यावसायिक रुपमा ४०० प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ । फूलको विशेषगरी वैशाख, असार, असोज, कात्तिक, मंसिर, माघ र फागुन महिनामा बढी कारोबार हुने गरेको छ। रासस

मंसिर १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्