भ्रष्टाचार गरेको प्रमाण भए राजनीति गर्दिन: अर्थराज्यमन्त्री राणा

फाइल फोटो।

ललितपुर- नेपाली काँग्रेसका युवा नेता एवम् अर्थराज्यमन्त्री उदयशम्शेर राणाले आफूले कहिल्यै भ्रष्टाचार नगरेको र जनताको पक्षमा निरन्तर काम गरिआएको बताउनुभएको छ ।

गोदावरी नगरपालिका चापागाउँस्थित चुनावी घरदैलो कार्यक्रमपछि गरिएको कोणसभालाई सम्बोधन गर्दै उहाँले ललितपुर क्षेत्र नं १ मा विकासका काम उल्लेखनीय गरेको उल्लेख गरे। ‘आजसम्म कहीँकतै मैले एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण भए राजनीति गर्दिन’ उनले भने ।

लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका “मंसिर २१ गते हुन लागेको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको विजयीले यहाँ विकासले छलाङ मार्ने उनले दाबी गरे। ‘काँग्रेसकै नेतृत्वमा संविधान निर्माण भयो र कार्यान्वयन पनि काँग्रेसकै नेतृत्वमा हुने हो, उनले भने।

वाम गठबन्धनको विजयी भएमा देशमा एकतन्त्रीय शासन लागू भएर जनताको अधिकार खोसिन सक्ने उनको भनाइ थियो । उनले नेपाली जनताको हितका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई बहुमत दिन पनि अपिल गरे। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान निर्माण भयो अब त्यसको कार्यान्वयनसमेत काँग्रेस नेतृत्वको सरकारले गर्ने राणाले बताए।

सो अवसरमा क्षेत्र नम्बर १ (ख) सोही गठबन्धनका उम्मेदवार मीनकृष्ण महर्जनले देशमा राणा शासन र राजतन्त्रलाई काँग्रेसले समाप्त गरेको प्रसंग सुनाउँदै अब आर्थिक क्रान्तिबाट गरिबीको अन्त्य गरेर छाड्ने बताए। जनताका अधिकारलाई स्थापित गराउन लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको उनको भनाइ थियो । देशमा स्थिर सरकार निर्माण गर्न आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको उनले औँल्याए।

मंसिर १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्