सुनसरी-धरान उपमहानगरपालिका–१७ पट्नालीमा मंगलबार दिउँसो बम विष्फोट भएको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरिक्षक रामेश्‍वर पौडेलका अनुसार धरान १७ मा पर्ने ज्वालामुखी उच्च मावि मतदान केन्द्रमा विष्फोट भएको हो ।

मोटरसाईकलमा सवार दुई जना अपरिचित व्यक्तिले सडकबाटै मतदान केन्द्रमा सुतली बम फालेर विष्फोट गराएका उनले बताए। चतरा क्षेत्र हुदैँ मोटरसाइकलमा आएका ती ब्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सुरक्षा अवस्था कडा बनाइएपनि यस घटनाबाट धरानवासीमा त्रास फैलाउन खोजिएको स्थानीयले बताए। यो सुनसरीको क्षेत्र नम्बर-१ हो। यस क्षेत्रमा बाम गठबन्धनबाट प्रतिनिधिसभामा जयकुमार राई र संघीय समाजवादी फोरमबाट अशोक राई उम्मेदवार छन् ।

प्रदेशसभाका लागि बामगठबन्धनबाट भीम आचार्य र प्रदीप भण्डारी उम्मेदवार छन् भने लोकतान्त्रिक गठबन्धनबाट किशोर राई र बुद्धि कटुवाल।

मंसिर १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्