दिल्लीमा रेड हान्दा समिर छक्कै परे

निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्‍नेत। तस्बिर: देश सञ्‍चार

काठमाडौं– एक वर्षअघि रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेपछि ‘लोकल डन’ मनोज पुन रातारात कुख्यात बने। भारतमा बसेर तिवारीको हत्या गरेकाले पुनको आपराधिक संगठन प्रहरीलाई टाउको दुखाइ बन्नु स्वभाविक थियो।

छानबिन समिति नै बनाएर पुनको खोजी गरे पनि प्रहरी सफल हुन सकेन। प्रहरीले निष्कर्श निकाल्यो, तिवारीको हत्या योजना पुन एक्लैले बनाएका होइनन्, यो समूहमा समिरमानसिंह बस्नेत, लोप्साङ लामा पनि छन् जो भारतमै थिए।

गुन्डा नाइके कुमार घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि उनका विशेष सहयोगी बस्नेत सुरक्षा नभएको भन्दै भारततिर लागेका थिए, जहाँ उनको भेट पुनसँग भएको थियो। प्रहरीले उक्त समूहको नेतृत्व पुनले गरेको दाबी गरेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पुनलाई पक्राउ गर्न डीएसपीको नेतृत्वमा एउटा टोली भारत पठाए पनि महिना दिन बसेर कुनै उपलब्धीबिनै फर्किएको थियो।

असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या भएपछि प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालयमा कार्यरत डीआईजी गणेश केसीको संयोजकत्वमा सीआईबी, प्रतिआतंकवाद हेर्ने विशेष ब्युरो, काठमाडौं उपत्यकाको गम्भीर अपराध हेर्ने महानगरीय प्रहरी अपराध महाशाखाका प्रतिनिधि राखेर छानबिन समिति गठन गर्‍यो। करिब एक महिनाको अनुसन्धानपछि गौचन हत्यामा प्रयोग भएका पाँच जना भाडाका अभियुक्त सार्वजनिक गर्दै प्रहरीले भन्यो, ‘गौचन हत्या मनोज पुन समूहले गरेको हो।’

त्यतिबेला फरार सूचीमा बस्नेत, पुन र लोप्साङको नाम पनि थियो। भाडाका मान्छे मात्र पक्राउ गरेको र मुख्य योजनाकारलाई पक्राउ गर्न नसकेको भन्दै प्रहरीले पर्याप्त स्याबासी भने पाएन। फरार भनिएका सबै अभियुक्त भारतमा लुकेर बसेकाले यसबीच उनीहरु पक्राउ पर्न सक्लान् भन्ने कुनै आशा गरिएको थिएन।

कारण प्रहरीले आफै अनौपचारिकरुपमा भनिरहेको थियो, उनीहरु पक्राउ पर्न दुईदेशबीच सरकारस्तरमा पहल हुनुपर्छ। र, सरकारीस्तरमा त्यस्तो कुनै पहल भइरहेको थिएन। यसबीच केही दिनअघि सीआइबीले सरप्राइज दियो, समिरलाई पक्राउ गरी सार्वजनिक गर्दै।

सीआईबीले के पनि खुलासा गर्‍यो भने बस्नेत र पुनबीच करिब एक वर्षयता सम्बन्ध छैन। सीआईबीको आशय थियो, गौचन हत्यामा पुनको संलग्नता देखिँदैन। ‘यो घटनामा मनोज पुनको नाम कसरी जोडियो, हामी आश्चर्यमा छौं, जबकि एक वर्ष अघिदेखि समिर समूहबाट पुन छुटिएका थिए’, सीआइबीका एक अधिकारी भन्छन्। सीआइबीले करिब तीन महिनाको मेहनतपछि समिरलाई पक्राउ गर्न सकिएको उल्लेख गरेको छ। यसले गौचन हत्या हुनु अगाडिदेखि नै सीआइबी समिरमानको खोजीमा भारत पुगेको देखिएको छ।

स्रोतका अनुसार डीआइजी पुष्कर कार्कीले सीआईबीको नेतृत्व सम्हालेपछि भारतमा बसेर आतंक मच्चाइरहेका समिरमान, पुन, लोप्साङलगायतलाई पक्राउ गर्न चासो देखाएका थिए। राजधानी लगायत देशभर भइरहेका ठूला गोलीकाण्डमा पुन समुहले खुलेहाम जिम्मेवारी लिइरहेकाले पनि उनीहरुको पक्राउ प्रहरीलाई चुनौती बन्दै थियो।

सीआईबीले के खुलासा गर्‍यो भने बस्नेत र पुनबीच करिब एक वर्षयता सम्बन्ध छैन। सीआईबीको आशय थियो, गौचन हत्यामा पुनको संलग्नता देखिँदैन।

यसअघि पनि प्रहरीको टोली खटिएर असफल भएकाले यो काम सजिलो नभएको डीआइजी कार्कीले बुझेका थिए।

यस कामका लागि डीआइजी कार्कीको नजर निकै अनुभवी नायब निरीक्षक (सई) रमेश बजगाईँमाथि पुग्यो। यसअघि अपराध महाशाखामा केही समय बसेका सई बजगाईँले भारतबाट थुप्रै पटक फरार अभियुक्त र अपराधी पक्राउ गरी नेपाल ल्याएका थिए।

सुजन पौडेल ‘रमेश बाहुन’, चर्चित हिमालयन बैंक घोटालाका अनिषभक्त सुवाल, युनिटी प्रकरणका फरार दाजुभाइ, सुन तस्कर बालकृष्ण अग्रवाललाई भारतबाट ल्याउने उनै सई बजगाईँ थिए। पछिल्लोपटक रामेछापको ६ वर्ष पुरानो बलात्कार कान्डका मुख्य अभियुक्त श्याम राउतलाई केही महिनाअघि बजगाईँले नै भारतबाट खोजेर ल्याएका थिए।

स्रोतका अनुसार विगत १० वर्षदेखि भारतबाट अभियुक्त तथा अपराधी पक्राउ गरी ल्याउने काम गरिरहेका बजगाईँको भारतका स्थानीय प्रहरीसँग पनि राम्रो सम्बन्ध छ। भारतका स्थानीय प्रहरीको सहयोगबिना त्यहाँबाट अभियुक्त र अपराधीलाई ल्याउन गाहो हुन्छ।

‘यसपटक बजगाईँलाई भारतीय प्रहरीको निकै राम्रो प्राविधिक टोलीको साथ थियो,’ सीआईबी स्रोत भन्छ। गौचन हत्या हुनु एक महिनाअघि नै डीआइजी कार्कीले सई बजगाईँलाई भारत पठाएका थिए, पुन समुहलाई पक्राउ गर्न। अनुसन्धानका क्रममा मनोज पुन एक वर्षअघि नै समिरको समूहबाट अलग भएको खुल्यो। यता नेपालमा गौचनको हत्या भएको र लोप्साङले नेपालमा प्रहरीलाई फोन गरी घटनाको जिम्मा लिएकाले भारतमा रहेको गुन्डा समूहको सबैभन्दा ठूलो मान्छे समिरमानसिंह बस्नेत नै रहेको निष्कर्शमा प्रहरी पुगेको थियो।

सुरुमा कम्तिमा मनोज पुनलाई पक्राउ गर्न भनी सिआइबीबाट टोली खटिएको थियो। तर घटनाक्रमले समिर नै मुख्य मान्छे रहेको देखिएपछि उनलाई पक्राउ गर्नेतर्फ केन्द्रित भयौं’, सीआईबी स्रोत भन्छ। गौचनको हत्यापछि मनोज र समिरमान लगायतलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्युरोको छुटै टोली खटिएको थियो।

समिर पक्राउ पर्नु केही दिनअघिमात्र विशेष ब्युरोको टोली भारतबाट फर्किएको थियो। सई बजगाईँ करिब तीन महिना भारत बसे। त्यसबीचमा उनी एक पटक मात्र नेपालका आएका थिए, प्रहरी निरीक्षक पदको परीक्षा दिन। यति लामो समय एक्लै भारतमा बसेर अनुसन्धान गर्नु र हाइप्रोफाइल अभियुक्तलाई पक्राउ गर्नु निकै चुनौतीपुर्ण काम हो’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी भन्छन्।

पछिल्लो समय लोप्साङ, समिर र उनका अन्य सहयोगीहरु एक्लाएक्लै हिँड्ने गरेका थिए। कुनै एक ठाउँमा केही दिन बसेपछि उनीहरु ठाउँ सरिहाल्थे। समिर पनि ठाउँ सरिरहँन्थे। तीन महिनाको बीचमा समिरको मुभमेन्ट बैंगलोर, युपी, लखनउ, दिल्लीलगायत ठाउँमा देखिएको थियो। अत्यन्तै नयाँ प्रविधि प्रयोग गर्ने भएकाले समिरलाई लोकेट गर्नु प्रहरीलाई निकै चुनौतीपुर्ण थियो। यसमा सई बजगाईँलाई भारतको दक्ष प्राविधिक प्रहरी टोलीको साथ रह्यो।

‘यसपटक बजगाईँलाई भारतीय प्रहरीको निकै राम्रो प्राविधिक टोलीको साथ थियो,’ सीआईबी स्रोत भन्छ। गौचन हत्या हुनु एक महिनाअघि नै डीआइजी कार्कीले सई बजगाईँलाई भारत पठाएका थिए, पुन समुहलाई पक्राउ गर्न।

स्रोतका अनुसार समिरलाई पक्राउ गर्नु एकसातादेखि उनलाई दिल्लीमा लोकेट गरिएको थियो। समिर आफ्नो नेपाली साथीको घरमा बसिरहेका थिए। प्रहरी टोलीले समिर बसेको घर रेड हान्दा उनी तीनछक परेका रहेछन्। ‘उनले पत्याउनै सकिरहेका थिएनन्। तर लामो प्रयासपछि उनलाई पक्राउ गर्न सकेकामा हामी दंग पर्‍याैँ,’ सई बजगाईँको भनाइ उद्धृत गर्दै सीआईबीका एक डीएसपी भन्छन्। समिर पछिल्लो दुई महिनायता दिल्लीमा थिए।

सीआईबीले समिरलाई पक्राउ गर्न १० लाख रुपैयाँभन्दा बढी खर्च गरेको थियो जुन बजगाईँ भारत बस्न र आउन जान खर्च भएको थियो। तर, प्रहरी अधिकारी अपराधीले पछिल्लो समय अपनाएको प्रविधिका कारण प्रहरीलाई समस्या भएको बताउँछन्। ‘इलिगल बाटोबाट आउने फोनलाई नेपाल टेलिकमले बन्द गर्नुपर्छ। नत्र भने विदेशबाट पछिल्लो समय अपराधीले नेपालमा गरेका फोन सम्पर्कहरुको लोकेसन पत्ता लगाउन गाहो छ’, प्रहरी भन्छन् ।

समिर आपराधिक गतिविधिबाट माथि उठेका हुन्। सुरुवाती दिनमा बाफल क्षेत्र आसपासमा चन्दा असुलीले आतंक मच्चाएका समिर पछि ठेक्कापटा हुँदै गुन्डा नाइके घैंटेको सम्पर्कमा पुगेका थिए। भारत जानुअघिसम्म समिर र प्रहरीबीच पनि राम्रो सम्बन्ध थियो।

मंसिर १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्