
दुई वर्षअघि आईसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप यात्रा सुरु गर्दा ‘रियलमा’ नेपालको उद्देश्य यो प्रतियोगिताको विजेता बन्नु थिएन। नेपाल चाहन्थ्यो, शीर्ष चारभित्र पर्ने र विश्वकपको छनोट खेल्ने।
तर, नेपालको सम्भावना प्रतियोगिताको विजेता बन्न सक्ने बलियो थियो। यात्राक्रममा नेपाललाई यो टाढाको विषय बन्यो। कम्तीमा एकदिवसीय अन्तर्राष्टिय मान्यता पाउने सपना नेपालका लागि तत्काल पूरा नहुने निश्चित छ।
आठ टोली सहभागी प्रतियोगितामा नेपालले आफ्नो अन्तिम चरणको खेलमा युएईसँग बुधबार र शुक्रबार दुईवटा एकदिवसीय खेल खेल्दै छ। यी दुवै खेल जिते पनि नेपाल डिभिजन दुईमा झर्ने निश्चित भइसकेको छ। यी खेलको नतिजाले युएईलाई पनि खास फरक पार्ने छैन।
आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप आइसिसीका एसोसिएट तथा एफिलिएट सदस्य मात्रले खेल्ने सबैभन्दा ठूलो एकदिवसीय प्रतियोगिता हो जसले विश्वकपको विश्वस्तरको छनोट खेल्ने टोली तय गर्छ भने एकदिवसीय मान्यता पाउने बाटो पनि तय गर्ने छ।
दुई वर्षअघि आयोजित डिभिजन दुई प्रतियोगिताबाट नेपाल प्रमोसन हुन नसके पनि आइसिसीले नेपाललाई डिभिजन लिग च्याम्पियनसिप खेल्ने अवसर दिएको थियो।
त्यतिबेलाका दुई एसोसिएट टोली आयरल्यान्ड र अफगानिस्तानलाई एकदिवसीय अन्तर्राष्टियको मुख्य वरियतामा समावेश गरेपछि डिभिजन दुईमा तेस्रो र चौथो स्थान ओगटेका केन्या र नेपालले अवसर पाएका थिए। त्यतिबेला डिभिजन च्याम्पियनसिपका शीर्ष दुई टोली विश्वकपमा सोझै छनोट हुने ब्यवस्था थियो।
च्याम्पियनसिपका बाँकी ६ टोलीले विश्वस्तरको छनोट खेलेका थिए जसमा आठ टोली सहभागी थियो र विश्वकप खेल्ने दुई एसोसिएट टोलीको टुंगो त्यसबाट लागेको थिया। डिभिजन लिग च्याम्पियसिप आठ टोलीले खेल्छन्।
आइसिसीले एकदिवसीय विश्वकप खेल्ने एसोसिएट तथा एफिलिएट टोलीको टुुुंगो लगाउन यसपटक विगतभन्दा बाटो परिवर्तन गरेको छ। यसपटक डिभिजन लिग च्याम्पियनसिपको शीर्ष चार टोली र आइसिसीको मुख्य वरियतामा रहेका अन्तिमका चार टोली गरी आठ टोली विश्वस्तरको छनोटमा सहभागी हुन्छन्।
आइसिसीको मुख्य वरियतामा अन्तिम चारमा रहेका टोलीमा टेस्ट टोली पर्ने निश्चित छ। यही प्रतियोगिताबाट एकदिवसीय मान्यता पाउने एसोसिएट टोलीको पनि टुंगो लाग्ने छ जुन चार वर्षका लागि हुने छ।
डिभिजन लिग च्याम्पियनसिपमा नेपाल र युएईको यात्रा फरक रह्यो। सन् २०११—१३ को डिभिजन लिग च्याम्पियनसिप सिजनबाट विश्वस्तरको छनोट खेलेको युएई त्यस प्रतियोगितामा सुपरसिक्सको शीर्ष दुईमा रहेर सन् २०१५ को एकदिवशिय विश्वकपमा छनोट भएको थियो।
जारी डिभिजन लिग च्याम्पियसिपमा भने युएईको यात्रा निकै कमजोर रह्यो। १२ खेलमा केवल तीन खेल जितेको युएई आठौं तथा अन्तिम स्थानमा छ। युएईले केन्या, पपुआ न्युगिनी र नामिबियाविरुद्ध भएका एक एक खेलमा जित हात पारेको थियो।
त्यसो त नेपालले पनि डिभिजन तीनको विजेता बन्दै सन् २०१४ मा भएको विश्वकपको विश्वस्तरको छनोट खेलेको थियो तर नेपालको प्रदर्शन निकै कमजोर थियो। सोही कारण डिभिजन दुईमा घटुवा भएको थियो ।
डिभिजन दुई खेलेर सोही डिभिजनमा यथावत रहेको नेपालले आईसिसीको नयाँ निर्णयपछि डिभिजन लिग च्याम्पियनसिप खेल्ने अवसर पाएको थियो।
प्रतियोगिताको पहिलो खेल नेपालले जित्न नसके पनि निकै उत्कृष्ट प्रदर्शन गरेको थिया। नेपाल केवल दुई रनले पराजित भएको टोली स्कटल्यान्ड अहिले अंक तालिकाको तेस्रो स्थानमा छ। स्कटल्यान्ड गत विश्वस्तरको छनोटको विजेता हो। त्यसयता नेपालले नेदरल्यान्ड्स र केन्याविरुद्ध एक एक खेल जित्यो भने नामिबियासँग दुवै खेलमा विजयी भयो। नेदरल्यान्ड्स तालिकाको शीर्षस्थानमा छ।
छैटौं चरणको खेलमा हङकङसँग भएको दोस्रो खेलमा पराजित भएसँगैं नेपाल शीर्ष चारमा पर्ने सम्भावना सकिएको थियो र डिभिजन दुईमा घटुवा भएको थियो। पहिलो खेल भने वर्षाका कारण रद्ध भएपछि एक एक अंक बाँडिएको थियो। यो प्रतियोगिताको अन्तिम चार टोली डिभिजन दुईमा घटुवा हुनेछन्। ती टोलीले डिभिजन तीनबाट उक्लिएका दुई टोलीसँग डिभिजन दुईमा प्रतिस्पर्धा गर्नेछन्। नेपालसँग यतिबेला प्रतियोगितालाई सुखद अन्त्य गर्नेबाहेक अन्य सबै अवसर समाप्त भएका छन्। प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेको युएईमाथि मनोवैज्ञानिक फाइदा नेपाललाई हुने निश्चित छ।